बीपीको अन्तिम क्षण र उनको शवयात्रा [भिडियोसहित]

हिमाल प्रेस ६ साउन २०८० २१:५५
854
SHARES
बीपीको अन्तिम क्षण र उनको शवयात्रा [भिडियोसहित]

बीपी कोइराला लामो समयसम्म क्यान्सर रोगबाट पीडित थिए। कोइरालालाई २०३९ असार १७ गतेदेखि व्यथाले ज्यादै च्याप्दै लगेको थियो। त्यसको केही दिनपछि मस्तिष्कमा रक्तसञ्चारको कमी हुँदै गयो र सोही २१ असारमा उनलाई वीर अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। त्यतिबेला मस्तिष्कमा रक्तसञ्चारको उपचार नेपालमा सम्भव थिएन। भारतको अल इन्डिया इन्स्टिच्युट र थाइल्यान्डमा मात्र सम्भव थियो। अमेरिकासमेत अर्को विकल्प थियो तर लामो हवाईयात्रा तय गरेर त्यहाँ जान सहज थिएन। उनलाई वीर अस्पतालमा भर्ना गरेपछि मुटुको व्यथाले समेत च्यापेको थाहा भयो। त्यसपछि २७ असारमा उनलाई थप उपचारका लागि थाइल्यान्डको बैंकक लगिएको थियो।

२०३४ सालदेखि २०३६ सालसम्म उनी तीनपटक उपचारका लागि अमेरिका पुगेका थिए। २०८ सालमा पनि उपचारका लागि अमेरिका लैजाने भनी चर्चा नभएको होइन। गिर्दो स्वास्थ्य अवस्थाका कारण अमेरिका लैजान सम्भव भएन। उनलाई पहिले बैंककमा प्राथमिक उपचारपछि स्वास्थ्यमा केही सुधार आएमा थप उपचारका लागि न्युयोर्क लैजाने तयारी थियो। पाँच वर्षअघि २०३४ मा न्युयोर्कमा नै उनको सफल शल्यक्रिया भएको थियो।

नेपालको वीर अस्पतालबाट उनको स्वास्थ्य रिपोर्ट त्यतिबेला बैंकक पठाइयो र त्यहाँका चिकित्सकको सल्लाहअनुसार नै उनलाई बैंकक पुर्याइएको थियो। नेपालबाट पारिवारिक सदस्यसहित उनको साथमा एकजना एनेस्थेटिस्ट विशेषज्ञ डा. विजय शर्मा बैंकक गएका थिए। कोइरालालाई बैंककमा सिरिराज अस्पतालमा भर्ना गरिएको थियो।

बैंकक पुर्‍याइएपछि पनि कोइरालाको स्वास्थ्यमा सुधार देखिएको थिएन। असार २७ मा बैंकक लगिएका कोइरालाको स्वास्थ्यमा सुधार नआएपछि सोही ६ साउनमा उनलाई काठमाडौँ फिर्ता ल्याइएको थियो। त्यसो त कोइराला ५ साउनदेखि नै अचेत अवस्थामा थिए। समीक्षा साप्ताहिकको १० साउन २०३९ को समाचारमा गिरिजाप्रसाद कोइरालालाई उधृत गर्दै डाक्टरहरूले बीपीको स्वास्थ्यबारे कुनै आशा नरहेको बताएपछि अन्तिम क्षण स्वदेशमा नै बितोस् भनेर बैंककबाट फर्काइएको थियो। सोही समाचारमा उल्लेख भएअनुसार उनको मस्तिष्क र फोक्सो कीटाणुयुक्त भइसकेको थियो।

उनलाई बैंककबाट काठमाडौँ ल्याएको डेढ घण्टाभित्रमा ६ साउन २०३९ का दिन बेलुकी ०७ः३० बजे चाबहिलमा निधन भएको थियो। बीपीको निधनको खबर सार्वजनिक हुनासाथ काठमाडौँका विभिन्न ठाउँबाट हज्जारौँ नरनारीहरू चाबहिलमा जम्मा हुन थालेका थिए। देशभरका विभिन्न ठाउँबाट धेरैको संख्यामा नरनारी काठमाडौँतर्फ प्रस्थान गरेका थिए। यसैमध्येका एक थिए, पत्रकार पन्नालाल गुप्ता। किरण साप्ताहिक पत्रिकाका विशेष सम्पादक उनी नेपालगन्जबाट काठमाडौँ पुगेका थिए। २०३९ साउन १० गतेको किरण साप्ताहिकको अंकमा काठमाडौँबाट पन्नालाल गुप्ताको विशेष रिपोर्ट छापिएको थियो। बीपीको अन्तिम श्रद्धाञ्जली गुप्ताको त्यसै रिपोर्टिङमा आधारित छ।

बीपीको निधनको खबर सार्वजनिक हुनासाथ राजाका प्रतिनिधि पनि कोइराला निवास पुगेका थिए। विदेशी कूटनीतिज्ञसमेत उनलाई श्रद्धाञ्जली व्यक्त गर्न त्यहाँ पुगेका थिए। राजा वीरेन्द्र र प्रधानमन्त्री सूर्यबहादुर थापाले शोक सन्देश जारी गरेका थिए।

नेपाली कांग्रेसको चारतारे झन्डामा बेरिएका बीपीको पार्थिव शरीरलाई एउटा खुला ट्रकमा राखिएको थियो। ट्रकमा नेपाली कांग्रेसको झन्डा टाँगिएको थियो। बीपीका निकटतम मित्र रहेका भारतीय जनता पार्टीका अध्यक्ष चन्द्रशेखर आइपुगेका थिए। विहारका पूर्वमुख्यमन्त्री कर्पुरी ठाकुर र भारतका पूर्वस्वास्थ्यमन्त्री राज नारायण, भारतीय नेता देवेन्द्र सिंह भारतबाट श्रद्धाञ्जली दिन आएका थिए। बीपीका दाइ पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला त्यहीँ थिए।

ट्रकमा बीपीको पार्थिव शरीरमा असंख्य नरनारीहरूले फूलअबिर चढाएर अन्तिम दर्शनसहित आफ्नो श्रद्धा चढाइरहेका थिए। वीर बीपी अमर रहून्। बीपीको सपना साकार गर्छौंँ–गर्छौंँ। प्रजातन्त्र ल्याउनुछ, देशलाई बचाउनुछ भन्ने गगनभेदी नाराका साथ बीपीको पार्थिव शरीर बोकेको ट्रकका साथ उनका अनुयायीहरू अगाडि बढिरहेका थिए। अन्तिम यात्राको बाटो बानेश्वर, डिल्लीबजार, बागबजार, वीर अस्पताल अगाडिबाट हुँदै, जुद्ध सडक, मखन टोल, कमलपोखरी, ज्ञानेश्वर, गौशला हुँदै पशुपति आर्यघाटसम्म पुगेको थियो। झन्डै दुई लाख मानिसहरू त्यहाँ आएको अनुमान गरिएको थियो। बिजुलीको तारमा करेन्ट प्रवाह भएझैँ द्रुत गतिमा बीपीको निधनको खबर फैलँदा अबेरसम्म नै रोईकराई गर्दै उनको अन्तिम दर्शन गर्न आउनेको लामबद्ध ताँती थियो। उनको शवयात्रामा संलग्न मानिसबाट पूरा आर्यघाट क्षेत्र नै ढाकिएको थियो।

पशुपति आर्यघाटमा बीपी कोइरालाका तीन पुत्रहरू प्रकाश, श्रीहर्ष र शशांक उपस्थित थिए। उनका दाइ मातृकाप्रसाद र भाइ गिरिजाप्रसाद समेत उपस्थित थिए। अन्य राजनीतिज्ञहरूमा गणेशमान सिंह, कृष्णप्रसाद कोइराला, पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य, सूर्यप्रसाद उपाध्याय, कम्युनिस्ट पार्टीकी नेत्री सहाना प्रधानमन्त्री, मनमोहन अधिकारीसमेत उपस्थित थिए।

नेपाली जनताको अगाध श्रद्धाका साथ नेपालका प्रजातान्त्रिक योद्धालाई टुहुरो बनाएर नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी कोइराला यसरी त्यस दिन पशुपति आर्यघाटमा विलीन भएका थिए।

बीपीको निधनको खबर, शोक सन्देश र समवेदना

बीपी कोइरालाको निधन हुँदा मुलुकमा पञ्चायती व्यवस्था कायम थियो। बीपी कोइराला त्यस व्यवस्थाका विपक्षी थिए। पञ्चायती सरकारको नियन्त्रणमा रहेको गोरखापत्रले बीपीको निधन भएपछि साउन ७ र ८ गतेका दुईवटा अंकमा राष्ट्रिय समाचार समितिमार्फत केही समाचार छापेको थियो। त्यस्तै समाचारसहित सम्पादकीय र तत्कालीन राजा, प्रधानमन्त्री, भूतपूर्व अन्य प्रधानमन्त्रीसहितका अन्य उच्चपदस्थ अधिकारीहरूको शोक सन्देश प्रकाशित गरेको थियो।

गोरखापत्रको समाचार

बीपीको निधन भएको भोलिपल्ट ७ साउनको अंकमा प्रथम पृष्ठमा कोइरालाको तस्बिरसहित देहावसान शीर्षकमा छापिएको समाचार यस्तो थियो–

काठमाडौँ, साउन ६ गते। भूपू प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ६८ बर्षको उमेरमा आज साँझ चाबहिल स्थित उहाँको निवासस्थानमा देहावसान भयो।
उहाँ लामो समय देखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो।  श्री ५ महाराजधिराज सरकारबाट उहाँलाई समुद्र पार भई उपचार गर्नका लागि केही समय अघि निगाहसाथ आर्थिक सहायता बक्सेको थियो।  श्री कोइरालाको जन्म विक्रम संवत् १९७२ तदनुसार सेप्टेम्बर १९१४ मा भारतको बनारसमा भएको थियो। 

श्री कोइरालाले राष्ट्रपिता स्वर्गीय श्री ५ त्रिभुवनको नेतृत्वमा भएको २००७ सालको क्रान्तिमा महत्त्वपूर्ण योगदान गर्नुभएको थियो। २००७ सालपछि गठन भएको अन्तरिम सरकारमा उहाँले केही समयसम्म गृहमन्त्रीको ओहदा सम्हाल्नुभयो। २०१५ सालको आमनिर्वाचनपछि गठन भएको सरकारमा उहाँ १८ महिनासम्म प्रधानमन्त्री रहुनुभएको थियो।
२०३७ सालमा भएको एतिहासिक जनमतसंग्रह र त्यसपछि भएको राजनीतिक सुधार एवं खुला वातावरणलाई श्री कोइरालाले प्रजातान्त्रिक अभ्यासतर्फ सकारात्मक अग्रसरताका रूपमा हेर्नुहुन्थ्यो। श्री कोइरालाले नेपाली साहित्यको कथा तथा उपन्यासको क्षेत्रमा पनि योगदान गर्नुभएको छ। उहाँको पत्नी, तीन छोरा, एकछोरी हुनुहुन्छ। –रासस

राजाको समवेदना सन्देश

त्यस्तै सोही दिनको अंकमा भूतपूर्व प्रधानमन्त्री कोइरालाको निधनमा तत्कालीन राजा वीरेन्द्रबाट बक्सेको समवेदना सन्देश छापिएको थियो। जुन सन्देश यस्तो थियो–

हाम्रा देशबासी जुनसुकैको निधन भए पनि हामीलाई दुःख लाग्नु स्वाभाविक नै हो हुकुम हुँदै भूतपूर्व प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाको निधनले हामीलाई चोट पुर्याएको छ।

उनको निधन पछि नयाँ पिँढीलाई देश प्रेम र जिम्मेवारीको भावनाका साथ बितेका अनुभवहरूबाट शिक्षा लिँदै एक भई असल कुरालाई अघि बढाउनु परेको छ।

हामी र हाम्रा बडामहारानीको तर्फबाट शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ।

श्री परमेश्वरले दिवंगत आत्मालाई शान्ति देओस्।

दाहसंस्कारसम्बन्धी समाचार

साउन ८ गतेको गोरखापत्रको पहिलो पृष्ठको तल पुछारमा भूपू प्रधानमन्त्री बीपी कोइरालाको दाह संस्कार शीर्षकमा छापिएको समाचार सार यस्तो थियो-

काठमाडौँ, साउन ७ गते।  भूतपूर्व प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाको दाहसंस्कार आज राति पशुपति आर्यघाटमा सम्पन्न भयो। यसअघि श्री कोइरालाको पार्थिव शरीरलाई खुला ट्रकमा राखी उहाँको निवासस्थान चाबहिलबाट सुरु भएको शवयात्रा बानेश्वर, डिल्लीबजार, रत्नपार्क, जुद्धसडक, वसन्तपुर, इन्द्रचोक, गौशालाको परिक्रमा गर्दै आर्यघाट पुगेको थियो।  फूल र मालाको बीचमा ट्रकको पछाडिपट्टि श्री कोइरालाको निष्प्राण शरीरलाई उत्तानो परेर पल्टाइएको थियो।

शव वरपर उहाँको दाजु भूतपूर्व प्रधानमन्त्री श्री मातृकाप्रसाद कोइराला लगायत उहाँको परिवारका सदस्यहरू तथा सहयोगीहरू एवं मित्र हुनुहुन्थ्यो।
श्री कोइरालाको हिजो सांझ उहाँकै निवासस्थान चाबहिलमा सवा सात बजे ६८ वर्षको उमेरमा देहावसान भएको थियो। -रासस

प्रधानमन्त्रीको समवेदना

७ साउनको अंकको प्रथम पृष्ठमा ‘प्रधानमन्त्री थापा द्वारा दुःख व्यक्त’ शीर्षकमा छापिएको अर्को समाचार यस्तो थियो–

प्रधानमन्त्री सूर्यबहादुर थापाले भूतपूर्व प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री श्री थापाले आज दिनुभएको शोक सन्देशमा भन्नुभएको छ– ‘श्री कोइरालाले २००७ सालको क्रान्तिमा महत्त्वपूर्ण योगदान गर्नुभएको हो। उहाँको निधन ठूलो क्षति हो।’  सन्देशमा श्री थापाले श्रीमती कोइरालाप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्नुभएको छ।

त्यसैगरी भूतपूर्व प्रधानमन्त्रीहरू कीर्तिनिधि बिष्ट र नगेन्द्रप्रसाद रिजालको शोक सन्देश समेत छापिएको थियो। विष्टको शोक सन्देशमा उल्लेख थियो–

जीवनभर एक सिद्धान्तमा आस्थावान् र संलग्न हुनुको साथै राजसंस्थाप्रति उत्तिकै उम्दा श्रद्धा राख्नुहुने विश्वेश्वर बाबुको निधन एक अपूरणीय क्षति हो। प्रजातन्त्रका लागि भएको २००७ सालको महान् संघर्षमा विश्वेश्वर बाबु एक अग्रणी रूपमा नेपाली राजनीतिक क्षितिजमा देखा पर्नुभएको कुरा उल्लेख गर्दै उहाँको सहास, धैर्य, राजनीतिक सुझबुझ र साहित्यिकप्रतिमा उहाँका क्रियाकलापमा स्पष्ट रूपमा झल्किन्थ्यो।

विराटनगरबाट नगेन्द्रप्रसाद रिजालले कोइरालाको असामयिक निधनमा दुःख प्रकट गर्दै जारी गरेको शोक सन्देशमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै मृतक आत्माको चीर शान्तिको कामना गरेका थिए। राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राजेश्वर देवकोटाले एक वक्तव्य जारी गर्दै नेपालको नवजागरणको इतिहासमा विश्वेश्वरप्रसाद कोइरालाको योगदान मूर्धन्य रूपमा छ भन्दै नेपालको लागि उनको योगदान सदा अविस्मरणीय रहेको उल्लेख गरेका थिए।

विघटित प्रतिनिधिसभाका सभामुख कृष्णप्रसाद भट्टराईले स्वर्गीय कोइरालाको व्यक्तित्व कोमल र अत्यन्त संवेदनशील रहेको भन्दै कोइरालाले सर्वसाधारणको छोरो भएर पनि जुन आदर र मान्यता पाए त्यो सबैको लागि अतुलनीय रहेको उल्लेख गरेका थिए। साथै कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलापको नीति अनुसरण गर्ने कुरा भट्टराईले व्यक्त गरेका थिए।

गोरखापत्रको सम्पादकीय

गोरखापत्र दैनिकले श्रावण ८ गतेको अंकमा ‘वरिष्ठ राजनीतिज्ञको निधन’ शीर्षकमा सम्पादकीय नै छापेको थियो। सम्पादकीय यस्तो थियो।

भूतपूर्व प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइरालाको निधनबाट नेपालले एक वरिष्ठ राजनीतिज्ञलाई गुमाएको छ। श्री कोइराला नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री र अन्तर्राष्ट्रिय जगतमा समेत चर्चित राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो। ४५ वर्षभन्दा लामो उहाँको राजनीतिक जीवन निकै घटनापूर्ण रहेको छ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि राष्ट्रपिता श्री ५ त्रिभुवनको नेतृत्वमा सञ्चालित संघर्ष र २००७ सालको जनक्रान्तिमा एक राजनीतिक योद्धाका रूपमा श्री कोइरालाले लिनुभएको भूमिका विशेष रूपमा उल्लेख्य छ। २००७ सालपछिको ३२ वर्षको अवधिमा श्री कोइरालाले केही वर्ष जेलमा, केही वर्ष विदेशमा स्वयं निर्वासित रूपमा व्यतीत गर्नुभएको थियो।

२०३३ सालमा स्वदेशमा शान्तिपूर्ण ढंगले राजनीति गर्नु श्रेयकर ठानी आफ्ना सहयोगीहरू साथ श्री कोइराला नेपालमा फर्कनुभएको हो। तदनन्तर श्री ५ महाराजाधिराज बाट उहाँमाथि लागेको राजकाज सम्बन्धी मुद्दामा माफी बक्सेको थियो।

२०३६ सालमा ऐतिहासिक जनमत संग्रहको घोषणा र त्यसपछि भएका राजनीतिक सुधारहरूलाई श्री कोइरालाले प्रजातान्त्रिक अभ्यासतर्फ सकारात्मक अग्रसरताको रूपमा लिनुभएको हो। नेपालको लागि राजनेतृत्व अपरिहार्य रहेको दृढ विचार श्री कोइरालाले विभिन्न अवसरमा व्यक्त गर्दै आउनुभएको थियो। राजनीतिक व्यक्तित्वका अतिरिक्त नेपाकी साहित्यका क्षेत्रमा एक उत्कृष्ट कथाकार र उपन्यासकारका रूपमा पनि श्री कोइरालाको देन रहेको छ।

एक प्रजातान्त्रिक योद्धा वरिष्ठ राजनीतिज्ञको निधनबाट सबै नेपालीलाई गहिरो दुःख लागेको छ। राष्ट्रनायक श्री ५ महाराजाधिराज सरकारबाट समवेदना सन्देश बक्सेर उहाँको निधनबाट दुःख प्रकट गरी बक्सेको छ। मौसुफबाट सन्देशको क्रममा नयाँ पिँढीलाई ‘देश प्रेम र जिम्मेवारीको भावनाका साथ बितेका अनुभवहरूबाट शिक्षा लिँदै एक भई असल कुरालाई अघि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिइबक्सेको छ। श्री कोइराला लामो समयबाट क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो।

उहाँलाई विदेशमा गई उपचार गराउन केही वर्षअघि श्री ५ महाराजाधिराजबाट निगाहसाथ आर्थिक सहायता पनि प्रदान गरिबक्सेको थियो।

श्री कोइरालाको निधनबाट निश्चय पनि एक राजनीतिक व्यक्तित्वको अस्त भएको छ। हामी यस क्षतिमा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ।

प्रकाशित: ६ साउन २०८० २१:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =