शिक्षामा २० प्रतिशत बजेट छुट्याउन शिक्षक संगठनहरूको माग

हिमाल प्रेस १९ वैशाख २०८० १४:०१
1.1k
SHARES
शिक्षामा २० प्रतिशत बजेट छुट्याउन शिक्षक संगठनहरूको माग

काठमाडौँ-  शिक्षक संगठनहरूले आगामी आवका लागि शिक्षामा २० प्रतिशत बजेट छुट्याउन माग गरेका छन्। एजुकेसन इन्टरनेसनलले आयोजना गरेको शिक्षकको क्षमता विकास कार्यशाला समापन कार्यक्रममा बोल्दै शिक्षक संगठनका पदाधिकारीहरूले शिक्षामा बजेट बढाएर कुल बजेटको २० प्रतिशत पुर्‍याउन माग गरेका हुन्।

नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले अन्तर्राष्ट्रिय फोरमसँग  गरेको सम्झौता सरकारले पालना गर्दै बजेट विनियोजन गर्नुपर्ने बताए। उनले भने, ‘नि:शुल्क र अनिवार्य शिक्षालाई संविधानमा भएको व्यवस्थाअनुसार लागू गनुपर्छ। अन्तर्राष्ट्रिय फोरममा गरेको सम्झौता कार्यान्वयन गर्नुपर्छ।’ उनले स्थानीय तहसँग सहकार्य गर्ने, सट्टा शिक्षकको व्यवस्था गर्ने, शिक्षकको तलबसेवा सुविधाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कार्यशालाबाट शिक्षामा लगानी बढाउने उपायको खोजी भएको बताए। ‘शिक्षा सर्वसुलभ बनाउनु राज्यको दायित्व हो। सरकारले शैक्षिक मुद्दालाई जिम्मेवारपूर्वक ग्रहण गरोस्। शिक्षकलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्ने, सामाजिक सुरक्षाको व्यवस्था गर्ने विषयलाई पनि राज्यले केन्द्रमा राखेर हेर्नुपर्छ’, उनले भने।

संस्थागत विद्यालय शिक्षक युनियन नेपालका अध्यक्ष होमकुमार थापाले संस्थागत विद्यालयले पनि शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षकसरह नै पारिश्रमिक उपलब्ध गराउनुपर्ने बताए। ‘शिक्षाको गुणस्तर सुधार गर्ने र शिक्षामा विभेद हुनु हुँदैन। शिक्षा सबैका लागि हो। निजी शिक्षण संस्थाले पनि शैक्षिक गुणस्तरमा जोड दिँदै शिक्षकलाई उपलब्ध गराउने सेवासुविधामा ध्यान दिनुपर्छ’,उनले भने।

कार्यक्रममा वक्ताहरूले सामुदायिक शिक्षाको गुणस्तर सुधार गरेर सार्वजनिक शिक्षाप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिएका थिए। तीनवटै युनियनहरूले शिक्षा मानव अधिकार भएको र शिक्षा प्रदान गर्नु राज्यको दायित्व रहेकोले विद्यालय तहसम्मको नि:शुल्क शिक्षालाई संविधानमा व्यवस्था भएअनुसार प्रबन्ध गरि राष्ट्रले आफ्नो दायित्वभित्र लिन माग गरेका छन् ।

उनीहरूले सरकारले शिक्षाको लागि अन्तराष्ट्रिय सहायता र निजीकरणमा मात्र भर पर्न नहुने भन्दै सार्वजनिक शिक्षा गुणस्तरीय र दिगो बनाउन बाह्य लगानीभन्दा आन्तरिक राजस्वबाट लगानी वृद्धि गर्दै लैजान सरकारलाई सुझाव दिएका छन्।

अन्तर्राष्ट्रिय शैक्षिक संस्था एजुकेसन इन्टरनेसनलमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) आबद्ध छन्।

शिक्षामा बजेट बढाउन सरकारसँग शिक्षक महासंघको माग

आगामी वर्ष शिक्षा बजेट नबढ्ने संकेत

प्रकाशित: १९ वैशाख २०८० १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =