कैलाली : स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि पारिश्रमिक

हिमाल प्रेस ६ वैशाख २०८० ८:२५ | Wednesday, April 19, 2023
कैलाली : स्वास्थ्यकर्मीले पाएनन् चार महिनादेखि पारिश्रमिक सांकेतिक तस्बिर

कैलाली- कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्। संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन्।

नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन्।

नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ। चौधरी भन्छन्, ‘चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ।’

संघीय सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए। पहिलो किस्तामा एक करोड ९२ लाख रुपैयाँ र दोस्रो किस्तामा ४२ लाख रुपैयाँ पठाएको थियो। चालु आवमा एक करोड ४२ लाख रुपैयाँ बजेट उपलब्ध भएको उनले बताए।

चौधरीले भने, ‘स्थानीय तहले बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन।’

१० गतेदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने योजना उनीहरूको छ। त्यसैगरी स्वास्थ्य क्षेत्रको मासिक रिपोर्ट नपठाउनेलगायतका काम रोकेर विरोध गर्ने स्वास्थ्यकर्मी बताउँछन्। तर उनीहरूले तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध भएको स्थितिमा आन्दोलनको कार्यक्रम फिर्ता लिने पनि बताएका छन्।

नगरपालिकाका प्रमुख केवल चौधरीले भने स्वास्थ्यकर्मीको समस्या तत्काल नगरपालिकाले समाधान गर्न नसक्ने बताए। उनले नगरपालिकाको अहिलेको स्थितिले समस्यालाई समाधानको बाटोमा लैजान नसक्ने भन्दै स्वास्थ्यकर्मीको सेवा उपलब्ध गराउने जिम्मा संघीय सरकारको भएको बताएका छन्।

‘कर्मचारी संघीय सरकारबाट आएका हुन्। उनीहरूको सेवासुविधा संघ सरकारले नै बेहोर्नुपर्छ’, नगरप्रमुख चौधरीले भने, ‘हामीले नियुक्त गरेका कर्मचारीलाई सेवासुविधा रोकेका छैनौँ। उनीहरूको नियमानुसार काम भइरहेको छ।’

उनले नगरपालिकासँग बजेट भए त्यसको दीर्घकालीन नभए पनि अल्पकालीन समाधान गर्न सक्ने भन्दै त्यस्तो स्रोतको पहिचान गरेर समस्या समाधान हुने देखिए त्यसमा काम गर्ने बताए।

केही दिन पहिले जोशीपुर गाउँपालिकामा पनि स्वास्थ्यकर्मी छ महिनादेखि तलबभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए। एक महिनाभन्दा लामो आन्दोलनपछि गाउँपालिकाले एक महिनाको तलबभत्ता उपलब्ध गराएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका थिए।

प्रकाशित: ६ वैशाख २०८० ८:२५ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast