टीकापुर साहित्य महोत्सवको तयारी तीव्र

हिमाल प्रेस १३ चैत २०७९ ९:३५ | Monday, March 27, 2023
टीकापुर साहित्य महोत्सवको तयारी तीव्र

टीकापुर- कैलालीको टीकापुरमा यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना हुने भएको छ। यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोग संकलन भइरहेको एवं प्रचारप्रसार तीव्र पारिएको छ।

महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र सरोकारवालासँग अन्तक्र्रिया गरिएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले महोत्सवले टीकापुरको सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरे।

‘साहित्य महोत्सव टीकापुरको गौरव हुनेछ। टीकापुरले यो महोत्सवबाट अर्को महेशविक्रम जन्माउनेछ’, उनले भने, ‘महोत्सवले टीकापुर कुनै कुरामा कमी छैन भन्ने सन्देश दिनेछ। यहाँका सम्भावना र राम्रा पक्षको प्रचार गर्नुपर्छ।’

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले सुदूरपश्चिम प्रदेशका सबै सम्भावनालाई साकार पार्न सबै लाग्नुपर्ने बताए। उनले नेपाली भाषा र साहित्यको उर्वर भूमि सुदूरपश्चिमको दक्षिणपूर्वी क्षेत्र कर्णाली नदीको किनारमा रहेको टीकापुरमा साहित्य आयोजना लागेको बताए।

उनले राजा महेन्द्रले आारोग्यता प्राप्त गरेको भूमि टीकापुरमा नेपाली साहित्यकारको ठूलो जमघट हुन लागेको जानकारी दिए। ‘महोत्सवमा हरेक दिन विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन्।

हरेक सत्रमा सुदूरपश्चिमको कला, साहित्य, सम्भावना, पर्यापर्यटन र वेशभूषाबारे छलफल हुनेछ’, उनले भने, ‘महोत्सवले भाषा, साहित्य, कला संस्कृति, राजनीति, दर्शन, अर्थ, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, पत्रकारिता र सामाजिक क्षेत्रका विज्ञ तथा सो कार्य क्षेत्रसँग सम्बन्धित एक सय ५० जना वक्ता, सहजकर्ता, कवि गजलकार तथा कलाकारका प्रस्तुति रहनेछन्।’

साहित्य महोत्सवमा ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा एक लाख रुपैयाँको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कारसमेत प्रदान गरिने भएको छ। ७५ हजार रुपैयाँ राशिको टीकापुर साहित्य समाज श्रेष्ठ कवि पुरस्कार, ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार (सुदूरपश्चिमका प्रतिभालाई) प्रदान गरिने र २५ हजार राशिको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने छन्। यी पुरस्कार हरेक वर्ष प्रदान गरिने बताइएको छ।

प्रकाशित: १३ चैत २०७९ ९:३५ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast