देउवासँगको ‘दोस्ती’पछि पौडेलमा बढेको तागत

हिमाल प्रेस १३ फागुन २०७९ १५:११
394
SHARES
देउवासँगको ‘दोस्ती’पछि पौडेलमा बढेको तागत

‘म सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई अनुरोध गर्न चाहन्छु, हामी सबै मिलेर राष्ट्रको जगेर्ना गरौँ यो संविधानको रक्षा गरौँ ७० वर्षसम्म लडेर प्राप्त गरेको व्यवस्थाको महत्त्व बुझौँ। यसमाथि खेलवाड गर्ने प्रयास नितान्त स्वार्थी प्रयास हुन्। त्यसबाट सबै नेपाली सजग हुनुपर्छ।’

काठमाडौँ- २०२० सालपछि रामचन्द्र पौडेल गण्डकी छात्र समितिका सभापति थिए। उता सुदूरपश्चिमाञ्चल छात्र समिति त्यति सक्रिय नभए पनि समितिको नेतृत्वमा शेरबहादुर देउवा थिए।

विद्यार्थीहरू यी समितिमार्फत पञ्चायतविरोधी गतिविधिमा सक्रिय भए। उनीहरूको मिसन प्रजातन्त्र स्थापना थियो। यसले विद्यार्थीबीच आत्मीयता बढाएको थियो। प्रजातान्त्रिक विचारबाट प्रभावित यिनै आत्मीय विद्यार्थीले नेपाल विद्यार्थी संघ गठन गरे। प्रजातन्त्र स्थापनाका लागि निरन्तर लागिरहे।

बहुदलपछि शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुवै लाभको पदमा पाइरहनेमा पर्दछन्। दुवै नेताले सत्ता र शक्तिको अभ्यास गर्ने अवसर पाइरहे। कुनै बेला कांग्रेसको दोस्रो पुस्ताका नेता भनेर चिनिने यी नेता पार्टीमा फरकफरक कित्तामा थिए। उनीहरूको आत्मीयता पदप्राप्तिको संघर्षमा रूपान्तरण भयो।

२०४८ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा देउवा गृहमन्त्री थिए भने पौडेल सोही क्याबिनेटमा स्थानीय विकासमन्त्री। २०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा पौडेल सभामुख भए।

प्रधानमन्त्रीमा देउवा पटकपटक दोरिएन पाए। पौडेल भने त्यो अवसरबाट वञ्चित रहिरहे। देउवाले दुई पटक पार्टी सभापति र पाँचपटक प्रधानमन्त्री हुने अवसर पाउँदा आफू कार्यकारी पदमा पुग्न नपाएको चिन्ता पौडेलमा थियो।

२०५९ असोजमा देउवाले पार्टी फुटाए। ६३ पछि फेरि कांग्रेसमै फर्किँदा पनि उनी झन् शक्तिशाली बन्न पुगे। देउवा गिरिजाप्रसाद कोइरालासँगै प्रतिस्पर्धा गरेर शक्तिमा पुग्ने नेतामा पर्छन् भने पौडेल कोइराला खेमामै रहेर सक्रिय रहिरहे।

पार्टीको चौधौँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बेला पौडेलले जब मैदानबाट हात झिके त्यसपछि पौडेल खेमा भन्ने कांग्रेसमा रहेन। किनकि पौडेल आफैँ देउवासँग विलय भइसकेका थिए। देउवासँगको सोही दोस्तीकै कारण रामचन्द्र राष्ट्रपतिको उम्मेदवार बन्न पुगेका छन्। चौधौँ महाधिवेशनमा देउवाविरुद्ध उम्मेदवारी दिएका थिए भने सायद रामचन्द्रको राजनीतिक यात्रा अर्कैतिर मोडिन सक्थ्यो।

सधैँ पदमा, सधैँ असन्तुष्ट 

६ दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका रामचन्द्र पौडेलको पार्टी र सरकारको नेतृत्व सम्हाल्ने चाहना सफल हुन सकेन। पार्टीको तेह्रौँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा हारेका पौडेलले एउटा धारको नेतृत्व गर्दै आएका थिए। तर उनले १४ औँ महाधिवेशनमा पार्टीबाट विरक्तिएका अभिव्यक्ति सार्वजनिक गरेका थिए।

प्रमुख पदमा नपुगे पनि कांग्रेसमा लामो समयसम्म लाभको पद पाउनेमध्येमा पौडेल अगाडि छन्। २०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद् सदस्यमा निर्वाचित भए। त्यति बेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी स्थानीय विकासमन्त्री भएका थिए भने २०४९ मा उनी स्थानीय विकास तथा कृषिमन्त्री बने।

२०५१ सालको मध्यावधि चुनावपछि मनमोहन अधिकारी नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार बनेको थियो। तनहुँ २ बाट सांसद निर्वाचित पौडेलले सभामुख बन्ने अवसर पाएका थिए। २०५१ देखि २०५६ सालको त्रिशंकु संसद्‌मा सरकार परिवर्तन भइरहे पनि पौडेलले भने सभामुख पद छाड्नुपरेको थिएन।

२०५६ को चुनावमा तनहुँ २ बाट तेस्रोपटक निर्वाचित उनले २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि पनि पौडेल लाभको पदमै रहे। २०६३ मा शान्ति सचिवालय संयोजक भएका उनले शान्ति तथा पुनर्निमाण मन्त्रालयको नेतृत्व सम्हालेका थिए।

२०६४ को संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए। २०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट निर्वाचित भए।

पौडेल २०६२ सालमा कांग्रेस महामन्त्री भएका थिए भने २०६४ सालमा कांग्रेसको उपसभापति भए। पौडेलले कार्यवाहक सभापति भई २०७२ मा पार्टीको १३ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराएका थिए।

प्रधानमन्त्रीमा १७ पटक हारेर कीर्तिमान

पौडेल प्रधानमन्त्रीको चुनाव १७ पटक हारेर कीर्तिमान बनाउने नेतामा चिनिन्छन्। ०६७ साउनमा प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले उम्मेदवारी दिएका थिए।

अन्तरिम संवैधानिक प्रावधानअनुसार तीनैजनाले मतसंख्या हासिल गर्न नसकेपछि तीनजनाबीच सात पटकसम्म प्रतिस्पर्धा भयो। आठौँ प्रतिस्पर्धापछि प्रचण्ड बाहिरिए। त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरेका थिए। तर पौडेलको प्रधानमन्त्री बन्ने चाहना पूरा हुन सकेको थिएन।

कोइराला क्याम्पका उत्तराधिकारी बन्न विफल

गिरिजाप्रसाद कोइराला सक्रिय रहँदा कोइराला खेमामा रहेका पौडेल कोइरालाले निधनपछि त्यो क्याम्प अगाडि बढाउन सकेनन्। पार्टीको १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग हारेका थिए। बाह्रौँ महाधिवेशनसम्म कोइराला र देउवा गुटमा बाँडिएको कांग्रेस तेह्रौँ महाधिवेशनमा आइपुग्दा कोइराला गुट छिन्नभिन्न भयो।

स्थापनादेखि साढे छ दशकसम्म कोइरालाको सेरोफेरोमा चलेको कांग्रेस तेह्रौँ महाधिवेशन अपवाद भयो। कोइराला क्याम्पका उत्तराधिकारी भनिएका रामचन्द्र पौडेल सभापति निर्वाचनमा देउवासँग पराजित भए।

२०७५ वैशाख ४ गते पोखरामा कांग्रेसले एउटा कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा सहभागी थिए वरिष्ठ नेता पौडेल। कार्यक्रममा पौडेल आफ्ना कार्यकर्तासँग धुरुधुरु रोएका थ्एि। उनको विरक्ति नेतृत्वको कार्यशैलीप्रति थियो।

उनले भनेका थिए, ‘पार्टीभित्र झांगिएको बेथिति देख्दा कहिलेकाहीँ मलाई आत्महत्या गरूँझैँ लाग्छ।’ २०७४ मा भएको प्रतिनिधिसभा प्रदेशसभा चुनावमा कांग्रेस नराम्रोसँग पराजित भएको थियो। पराजित हुनेमा पौडेल पनि थिए। २०४८ सालमा संसदीय चुनावबाट जनप्रतिनिधि बनेका पौडेलको त्यो हार पहिलो थियो।

पार्टीले हारेकामा उनी चिन्तित थिए। त्यसैले हारको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने उनको अडान थियो। उनी पार्टी बैठकमा यही कुरा राख्थे। तर सुनुवाइ नभएपछि उनी कार्यकर्तामाझ भावुक अभिव्यक्ति दिन बाध्य हुन्थे। चुनावमा पार्टीले हार्नुको जिम्मा सिंगो केन्द्रीय समितिले लिनुपर्ने प्रस्ताव पारित भएपछि पौडेल थप पछाडि धकेलिएका थिए।

चौधौँ महाधिवेशनमा पार्टीबाट अलग

पौडेल नेपाली कांग्रेसभित्र निष्ठा, इमान र लोकतन्त्रको वकालत गर्ने नेताका रूपमा चिनिन्छन्। कांग्रेसको १४औँ महाधिवेशनमा आइपुग्दा उनी पार्टी राजनीतिबाट झन् विरक्तिदिए। सोही कारण उनले विज्ञप्ति प्रकाशित गरेर १४औँ महाधिवेशनमा आफूलाई अलग राखेको घोषणा गरेका थिए।

पार्टीको नेतृत्व गर्ने आकांक्षामा रहेका पौडेललाई आफ्नै टिमका साथीले असहयोग गरेपछि सभापतिको दौडबाट अलग भएका थिए।

उनले भनेका थिए, ‘मैले कांग्रेसलाई जुन रूपमा बुझ्दै आएको थिएँ, त्यसमा विचलन आएको अनुभव गर्नुपरेको छ। पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले जुन आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ।’

यो विरक्तिपूर्ण अभिव्यक्तिसँगै उनी महाधिवेशनमा सामेल भएनन्। जानकारहरूको बुझाइमा पौडेलको हात झिकाइ देउवाका लागि सहज भयो र उनी दोस्रोपटक सभापतिमा चुनिए। देउवासँगको सोही मित्रता गाढा हुँदै गएपछि अहिले पौडेल राष्ट्रपति उम्मेदवारमा सिफारिस भएको उनीहरूको बुझाइ छ।

मध्यमार्गी नेताको पहिचान

पौडेल नेपाली कांग्रेसमा २०१७ सालपछि उदय भएका नेता हुन्। तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई राजा महेन्द्रले जेल हाल्दा पौडेल १६ वर्षका थिए। नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए।

स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भएका थिए। २०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए।

पौडेल २०२७ सालमा स्थापित नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य हुन्। उनी २०३४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए। राजनीतिक जीवनमा करिब १५ वर्ष जेलमा परेका उनी आफूलाई निष्ठाको राजनीति गर्ने भनेर चिनाउँछन्।

पौडेलले तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टी सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको मनमुटाव मिलाउन मध्यमार्गी भूमिका निर्वाह गरेको उनी निकट नेताहरू बताउँछन्।

द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिमा पौडेलेको अग्रणी मध्यमार्गी भूमिका छ। यस्तै उनी १२ बुँदै सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार हुन्।

सहानुभूति पाउनेमा आशावादी

राष्ट्रपतिमा उम्मेदवारी दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूप्रति सबै दलले सद्भाव र सहानुभूति राखेको बताएका छन्। पौडेलले भने, ‘नेपालको राजनीतिक जगत्ले मप्रति अपार सहानुभूति राखेको छ। मप्रति सबै दलका सबै साथीहरू, संसद्‌मा रहेका सबै साथीहरूको अपार स्नेह रहेको पाएको छु।’

पौडेलले संविधानले नेपाली जनतामा दिएको अभूतपूर्व र अद्वितीय अधिकार रक्षा गर्ने चुनौती आफूमा आएको बताए। उनले भने, ‘म सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई अनुरोध गर्न चाहन्छु, हामी सबै मिलेर राष्ट्रको जगेर्ना गरौँ यो संविधानको रक्षा गरौँ ७० वर्षसम्म लडेर प्राप्त गरेको व्यवस्थाको महत्त्व बुझौँ। यसमाथि खेलवाड गर्ने प्रयास नितान्त स्वार्थी प्रयास हुन्। त्यसबाट सबै नेपाली सजग हुनुपर्छ।’

यस्तो छ दलीय समर्थन

राष्ट्रपतिमा पौडेललाई आठ दलको समर्थन छ। उनको प्रस्तावकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, जसपाका वरिष्ठ नेता अशोक राई छन्।

यस्तै समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे छन्।

राष्ट्रपति निर्वाचनमा आठ दलको मतभार जोड्दा ३१ हजार ७७७ हुन्छ। संघीय संसद् सदस्यको कुल मतभार २६ हजार ३ सय ७ छ भने प्रदेशसभा सदस्यको मतभार २६ हजार ४ सय छ।

राष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार ७ सय ७ छ। राष्ट्रपति निर्वाचित हुन २६ हजार ३ सय ५४ मत ल्याउनुपर्छ।

कसको कति मतभार?

नेपाली कांग्रेस : १६ हजार २ सय २१

माओवादी केन्द्र : ७ हजार ६ सय ४९

नेकपा एकीकृत समाजवादी पार्टी : २ हजार ५ सय ७४

जसपा : २ हजार १ सय ४५

जनमत पार्टी : १ हजार २ सय ४२

लोकतान्त्रिक समाजवादी पार्टी : ९१७

नागरिक उन्मुक्ति पार्टी : ८१३

राष्ट्रिय जनमोर्चा : २०६

राष्ट्रपतिमा रामचन्द्रले उम्मेदवारी दिँदै गर्दा आठदलीय नेताहरूको भावभंगी [तस्बिरमा हेर्नुस्]

राष्ट्रपतिमा उम्मेदवारी दर्तापछि ओली र नेम्बाङ(फोटो फिचर)

सुवास नेम्बाङको दाबी : मेरै नाममा राष्ट्रिय सहमति हुन्छ

ओलीजी मेरो पुरानो साथी हो, राष्ट्रपतिमा जिताउनु हुनेछ : रामचन्द्र पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast