ओलीजी मेरो पुरानो साथी हो, राष्ट्रपतिमा जिताउनु हुनेछ : रामचन्द्र पौडेल

हिमाल प्रेस १३ फागुन २०७९ १७:१८
6
SHARES
ओलीजी मेरो पुरानो साथी हो, राष्ट्रपतिमा जिताउनु हुनेछ : रामचन्द्र पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन्।

राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘नेपालको संविधान २०७२ को अक्षर र भावनालाई अक्षरसः पालना गर्ने मेरो कर्तव्य हो। देशको संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको चुनौती छ,’ उनले भने।

गणतन्त्र संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उनले यसका निम्ति आफ्नो भूमिका हुने उल्लेख गरे।

राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताउँदै उनले राष्ट्रिय एकताका लागि पनि आफ्नो भूमिका हुने स्पष्ट पारे।

‘गणतन्त्र संस्थागत गर्नुपरेको छ। नेपाली जनताको हकमा आएको सार्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नुपर्नेछ। नेपालमा राजनीतिक परिवर्तनको रक्षा गर्दै देशलाई उन्नति गर्दै अघि बढाउने, नेपाली जनताको उन्नति, नेपाल राष्ट्रको एकता र राष्ट्रिय अखण्डता, राष्ट्रलाई जोगाउने, राष्ट्रियतालाई सबल बनाउने काममा मेरो सहयोग हुन्छ,’ उनले भने।

पौडेलले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने पनि बताए। वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई राष्ट्रपति निर्वाचनमा सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरे।

‘सम्भवतः त्यो पनि चुनावको दिनसम्म हुन्छ कि। त्यसमा म कोसिस गर्दैछु। एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय। पुरानो साथी हो। उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु,’ पौडेलले भने।

प्रकाशित: १३ फागुन २०७९ १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =