च्याम्पियन्स लिग : कोलो मुआनीका कारण उत्साहित बनेको फ्रान्कफर्ट

हिमाल प्रेस ९ फागुन २०७९ २१:२२
14
SHARES
च्याम्पियन्स लिग : कोलो मुआनीका कारण उत्साहित बनेको फ्रान्कफर्ट

काठमाडौँ- गत वर्ष फ्रान्सबाट विश्वकप जित्ने सपना अधुरै रहेपछि रान्डल कोलो मुआनी यो वर्ष फ्रान्कफर्टसँग च्याम्पियन्स लिगको यात्रामा छन्। फ्रान्कफर्ट पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको छ। गत सिजन युरोपा लिग जितेकाले फ्रान्कफर्टले च्याम्पियन्स लिगमा प्रवेश पाएको हो।

जर्मनीको यो क्लब पहिलो सहभागितामै अन्तिम १६ मा पुगेको छ। स्पोर्टिङ लिस्बन र मार्से जस्ता नियमित च्याम्पियन्स लिग खेल्ने क्लबलाई पछि पार्दै फ्रान्कफर्टले नकआउट चरणमा स्थान बनाएको हो। अन्तिम १६ को पहिलो लेगमा फ्रान्कफर्टले मंगलबार राति नापोलीको सामना गर्दैछ।

घरेलु मैदानमा हुने भए पनि यो खेल फ्रान्कफर्टका लागि सजिलो हुनेछैन। किनभने नापोली यो सिजन युरोपियन क्लब फुटबलमा सबैभन्दा बलियो लयमा रहेको टिम हो। सिरी ‘ए’ मा १५ अंकको अग्रता कायम गरेको नापोली भिक्टर ओसिमेनको उपस्थितिका कारण पनि खतरनाक बनेको हो। नाइजेरियाका ओसिमेनले सबैखाले प्रतियोगितामा गरी १९ गोल गरिसकेका छन्।

उसो त कोलो मुआनी पनि कमजोर छैनन्। उनले यो सिजन बुन्डेसलिगामा मात्रै १० गोल र १२ असिस्ट दर्ता गरिसकेका छन्। च्याम्पियन्स लिगमा उनको नाममा दुई गोल छ। विश्वकपमा फ्रान्सका लागि तीन खेल खेलेका कोलो मुआनी यही सिजन फ्रान्कफर्ट पुगेका हुन्। उनलाई जर्मन क्लबले नान्ट्सबाट स्थान्तरण रकम नतिरी अनुबन्ध गरेको हो।

गत सिजन ४० वर्षपछि पहिलो पटक युरोपियन उपाधि जितेको फ्रान्कफर्टका लागि कोलो मुआनी महत्त्वपूर्ण साबित भइरहेका छन्। समूह चरणमा फ्रान्कफर्टले लिस्बन र मार्सेलाई हराउँदा कोलो मुआनीले निर्णायक गोल गरेका थिए।

क्लब फुटबलमा लगातार प्रशंसा पाइरहे पनि विश्वकपको पीडा कोलो मुआनीले भुल्न सकेका छैनन्। दोहामा अर्जेन्टिनाविरुद्ध फ्रान्सले गरेको पहिलो गोल कोलो मुआनीकै कारण सम्भव भएको थियो। खेल सकिन केही सेकेन्ड बाँकी छँदा पाएको मौकामा गोल गर्न नसके पछि भने कोलो मुआनीको व्यापक आलोचना भयाे।

कोलो मुआनीले त्यो क्षण बिर्सिएका छैनन्। त्यो फाइनल खेल दोहोर्‍याएर हेरेको उनको भनाइ छ। विशेषगरी गोलको अवसर गुमाएको क्षण त उनले बारम्बार हेरेका छन्।

‘त्यसबेला मैले किलियान एम्बाप्पेलाई पास दिनु पर्ने थियो। तर मैले उनलाई देखिनँ। त्यो क्षण मेरो मस्तिष्क र मनबाट कहिले हट्ने छैन। सायद जीवनभर कहिल्यै बिर्सने छैन,’ कोलो मुआनीले कतारी टेलिभिजन बिन स्पोर्ट्ससँग भनेका छन्।

विश्वकप बिर्सन नसके पनि त्यसले कोलो मुआनीको खेलमा असर पारेको छैन। कतारबाट फर्किएपछि उनले सात गोल गरिसकेका छन्। गत शनिबार बुन्डेसलिगामा फ्रान्कफर्टले वेर्डर ब्रेमनमाथि २–० को जित हासिल गर्दा एक गोल गरेका कोलो मुआनीले क्लबभित्रको वातावरणले गर्दा आफूले सन्तोषजनक लय राख्न सकेको बताए।

कोलो मुआनी विश्वकप र च्याम्पियन्स लिग जस्ता ठूला मञ्चमा आफ्नो खुबी देखाउन तयार रहेको बताउँछन्। ‘सबै खेलाडीले विश्वकप र च्याम्पियन्स जस्ता ठूला प्रतियोगिता खेल्ने सपना देखेको हुन्छ। जब मौका आउँछ, तब सक्दो मेहनत गर्ने हो। अबका केही साता मेरो र क्लबका लागि महत्त्वपूर्ण रहनेछन्,’ कोलो मुआनीले भने।

फ्रान्कफर्टका प्रशिक्षक ओलिभर ग्लास्नर कोलो मुआनी मेहनती स्ट्राइकर रहेको बताउँछन्। ‘प्रत्येक दिनको अभ्यासमा उनी असाध्यै मेहनत गर्छन्। खेलमा उनले गल्ती नगर्ने होइन। तर गल्ती स्वीकार गर्ने र नदोहोर्‍याउने उनको बानीले हामी सबै खुसी छौँ। उनी यतिमै रोकिने छैनन्। थप परिस्कृत हुँदै जानेछन्,’ ग्लास्नरले भनेका छन्।

प्रकाशित: ९ फागुन २०७९ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast