अंग्रेजी नयाँ वर्षसँगै प्रधानमन्त्री बालेन चीन जाने, भ्रमणको तयारी सुरु

रवि र बालेन दुवैलाई स्वागत गर्न चीन आतुर, को पहिला चीन पुग्ने अझै अनिश्चित

हिमाल प्रेस १३ मंसिर २०८३ १३:१९ | Sunday, November 29, 2026
अंग्रेजी नयाँ वर्षसँगै प्रधानमन्त्री बालेन चीन जाने, भ्रमणको तयारी सुरु प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)।

काठमाडौँ- भर्खरै भारतको राजकीय भ्रमण सम्पन्न गरेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई चीनले पनि बेइजिङमा रेड कार्पेट ओछ्याउन हतार गरेको छ। बेइजिङस्थित अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणको तयारी अघि बढेको छ।

प्रधानमन्त्रीको भ्रमण अंग्रेजी नयाँ वर्षको सुरुमै गराउने गरी काठमाडौँ र बेइजिङबीच प्रारम्भिक छलफल भइरहेको परराष्ट्र अधिकारीले बताए। प्रधानमन्त्रीलाई चीन जाने तयारी गर्न र भ्रमणका आवश्यक प्रक्रिया अघि बढाउन परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले निर्देशन नै दिइसकेको छ।

चीनले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ्रमणभन्दा अगावै प्रधानमन्त्री बालेनलाई स्वागत गर्न चाहेको सन्देश दिएको छ। तर प्रधानमन्त्री र पार्टी सभापतिको चीन भ्रमण कुन क्रमबाट हुने भन्ने अझै तय भइसकेको छैन।

मौखिक निमन्त्रणा भइसकेको भए पनि बेइजिङबाट औपचारिक निमन्त्रणा आउने र प्रधानमन्त्रीले त्यसलाई स्वीकार गरेर भ्रमण अघि बढाउने तयारी रहेको पनि परराष्ट्र अधिकारीले जानकारी दिएका छन्। प्रधानमन्त्रीको चीन भ्रमणबारे भारत भ्रमणअघि नै छलफल सुरु भएको पनि एक अधिकारीले बताए।

नेपालस्थित चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री बालेन भारत जानुअघि नै अर्थमन्त्री डा‍.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव लगायत सरकारी अधिकारीसँग भेटवार्ता गरेका थिए। उनी लामो विदामा चीन बसेर फर्केपछि यी भेटवार्ता गरेका थिए। उनको भेटवार्ताको अर्थ थियो प्रधानमन्त्री बालेनलाई जतिसक्दो चाँडो चीन भ्रमण गराउने।

यसअघि प्रधानसेनापति चीन भ्रमणमा गएको समयमा पनि प्रधानमन्त्रीको चीन भ्रमण अपेक्षा गरिएको भारणा राखेको थियो बेइजिङले। यद्यपि त्यो समयमा जेनजी आन्दोलनबाट बनेको सरकारबारे चीनले खासै चासो नराखेको संलग्न अधिकारीहरू बताउँछन्।

चिनियाँ राजदूतले भ्रमणको निश्चित मिति भने प्रस्ताव गरेका छैनन्। तर अंग्रेजी नयाँ वर्षको पहिलो महिना नै प्रधानमन्त्री बालेनलाई स्वागत गर्ने इच्छा उनले मन्त्री र सरकारी अधिकारीहरूसँग व्यक्त गरेका छन्।

प्रधानमन्त्री पनि भारतको भ्रमण निकै सफल रहेको र अव केही समयमा चीन जाने धारणा राखेको मन्त्रिपरिषद्का एक वरिष्ठ सदस्यले बताए। उनका अनुसार सरकारले भ्रमणको तयारी नै अघि बढाइसकेको छ र चीनबाट उपयुक्त मिति प्रस्ताव हुने वित्तिकै यस बारेमा जानकारी बाहिर आउने पनि उनले बताए। ‘हामीले उपयुक्त मिति पहिचान गरेर प्रस्ताव गर्न चिनियाँ पक्षसँग आग्रह गरेका छौँ,’ उनले सुनाए।

प्रधानमन्त्री चीन जाने तयारी भएपछि परराष्ट्र मन्त्रालयले पनि चीनसँग रहेको विभिन्न विषयमा छलफल अघि बढाएको छ। विगतमा भएको सम्झौता र घोषणा के भएको भन्ने बारेमा पनि छलफल अघि बढेको परराष्ट्रका एक अधिकारीले बताए। चीनबाट नै भ्रमण जतिसक्दो छिटो गर्ने भन्ने संकेत आएपछि परराष्ट्र मन्त्रालयले प्रारम्भिक तयारी थालेको हो।

भ्रमणको औपचारिक मिति तय भएपछि औपचारिक रुपमा नै सम्बन्धित मन्त्रालय र निकायसँग समन्वयका साथै विषयगत छलफल अघि बढ्नेछ। स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुअघि नै प्रधानमन्त्री चीन जाने ग रि तयारी अघि बढ्ने चीनसँग सम्पर्कमा रहँदै आएका एक मन्त्रीले सुनाए। स्थानीय निर्वाचन आगामी बैशाख नकटाईकन गर्ने अनुमान छ।

निर्वाचन आयोगलाई तयारीका लागि तीन महिना लाग्ने हुनाले पनि माघ पहिलो सातासम्म चीन भ्रमण गइसक्नुपर्ने छ। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन गएको २० सदस्यीय सांसद टोलीसँग चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले पनि प्रधानमन्त्री बालेनलाई छिट्टै चीनमा स्वागत गर्न चाहेको बताएका थिए।

टोलीले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख ली शुलेइसँग छलफल गरेको थियो। रास्वपा सभापति लामिछानेको चीन भ्रमण यसअघि सेप्टेम्बरमा तय भए पनि भोटेकोशी नदीमा आएको बाढीपछि स्थगित भएको थियो। त्यसपछि पार्टीले संसदीय टोली चीन पठाएको थियो। उक्त टोली केही दिन अघि काठमाडौँ उत्रेको हो।

खासगरी चीनले पार्टी सभापति लामिछाने र प्रधानमन्त्री बालेन दुवैलाई चीनमा स्वागत गर्न चाहेको छ। किनकी चीनले नयाँ पार्टी र नयाँ सरकार दुवैसँग अर्थात पार्टी-पार्टी र सरकार सरकार सम्बन्धलाई अब्बल बनाउने योजना अघि बढाएको छ।

चिनियाँ नेताहरूले नेपाललाई विकसित र आत्मनिर्भर राष्ट्र बनाउने लक्ष्यमा सहयोग गर्न इच्छुक रहेको पनि बताउँदै आएको तर दुईपक्षीय सीमा नाकामा राम्रोसँग ब्यवस्थित गरेर अघि नबढाएको त्यसमा ढुक्क हुन सक्ने अवस्था नरहेको टोलीमा गएको एक सदस्यले बताए।

चिनियाँ पक्षले नेपालले अहिले आवश्यक ठानेका सहयोगका क्षेत्र पहिचान गरी प्रस्ताव गर्न भनेको भए पनि चीनले घोषणा गरेको सहयोग विभिन्न बाहनामा रोकिएकाले त्यसलाई कसरी अघि बढाउने भन्नेमा सरकार आफैँ पनि अलमलमा छ। यससँगै प्रधानमन्त्रीको चीन भ्रमणलाई केवल औपचारिक कूटनीतिक यात्राभन्दा पनि भारत भ्रमणपछि नेपालको छिमेक सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाउने अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast