काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी यात्रा अछामको बैजनाथ धामबाट सुरु गरेको छ।
सुदूरपश्चिम रोयल्सले एनपीएलको उपाधि जितेपछि सुदूरपश्चिमका नौवटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रमअनुसार शनिबार बिहान अछामको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बैजनाथ धाममा पूजाआराधना र स्वस्तिवाचन गर्दै ट्रफी यात्रा सुरु गरेको हो।
बैजनाथ मन्दिरदेखि साँफेबगरसम्म ट्रफीसहित र्याली निकालिएको थियो। र्यालीमा क्रिकेट खेलप्रेमी, समर्थक तथा सर्वसाधारणको सहभागिता रहेको थियो। ट्रफी यात्रा शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भरतकुमार स्वारले अछाम जिल्ला क्रिकेटको उर्वर भूमि भएको बताए।
देशमा हुने विभिन्न क्रिकेट लिगमा अछामका खेलाडीले सहभागिता जनाइरहेकाले ट्रफी यात्राले थप खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
ट्रफी यात्रा शुभारम्भले वर्षौंदेखि बैजनाथ धामको प्रचारप्रसारमा थप टेवा पुग्ने साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले बताए। मैदानभित्र र बाहिर सुदूरपश्चिम रोयल्सका समर्थकले निकै माया देखाउनुभएकाले त्यसैअनुरूप टिमले उपाधि जित्न सफल भएको भन्दै धन्यवाद दिन ट्रफी यात्रा सुरु गरिएको रोयल्सका निर्देशक जगत टमट्टाले बताए।
उनले क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै खेलकुदको विकासमा समेत सकारात्मक सन्देश दिन प्रसिद्ध धार्मिक क्षेत्र बैजनाथबाट ट्रफी यात्रा सुरु गरिएको बताए। अछामबाट सुरु भएको ट्रफी यात्रा शनिबार नै बाजुरा पुग्नेछ। मंसिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला, १७ गते बझाङ र १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी पुर्याइनेछ।
मङ्सिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी टुर हुनेछ । कैलालीको टीकापुर पार्कबाट सुरु हुने यात्रा चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ । त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधारा चाँदनी पुलसम्म र्याली निकालिनेछ।
ट्रफी टुरको अन्तिम दिन मङ्सिर २० गते धनगढीमा र्यालीसहित सांगीतिक कार्यक्रम आयोजना गरी समापन गरिने रोयल्सले यसअघि सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ। यसअघिका दुई संस्करणमा फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको रोयल्सले तेस्रो संस्करणको उपाधि जितेको थियो।



