बुटवलमा पशु बधशाला सञ्चालन हुने

हिमाल प्रेस १ फागुन २०७९ १६:५१
4
SHARES
बुटवलमा पशु बधशाला सञ्चालन हुने

बुटवल- बुटवलमा निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ। बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको हो।

दुईपक्षबीच भएको सहमतिअनुसार पशु बधशाला छिटै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने उनले बताए।

बधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गर्ने प्रमुख पाण्डेयले बताए। बधशाला सञ्चालनमा बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म बधशाला निर्माण र सञ्चालनमा साझेदार रहेको र सोहीअनुसार बधशाला सञ्चालन हुने उनले बताए।

बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ। विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरेको छ।

कानुनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलबासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयले बताए। बधशाला सञ्चालनका लागि एकसाताभित्र विस्तृत सम्झौता हुने र लगत्तै सञ्चालन हुने गरी सहमति भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

उनले बधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रुपमा अनुगमन र व्यवस्थापन समेत गर्ने निर्णय भएको बतए। बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका सञ्चालकसमेत रहेका रुपन्देही मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले पनि बुटवल उपमहानगरपालिकासँग पशु बधशाला सञ्चालनका लागि देखिएका अन्योल टुंगिएकाले छिट्टै नै बधशाला सञ्चालन हुने बताए।

प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउनेछ। बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ बिघा ३ कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको छ।

प्रकाशित: १ फागुन २०७९ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast