काठमाडौँ- दीपेन्द्रसिंह ऐरीको संघर्षपूर्ण अर्धशतकबाट सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) लिग सिजन ३ अन्तर्गत क्वालिफायर १ मा लुम्बिनी लायन्सविरुद्ध १०६ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार सुदूपश्चिमले २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रनको योगफल खडा गरेको हो।
पहिलो क्वालिफायरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थियो। कप्तान ऐरीले टोलीका लागि सर्वाधिक ५२ रन बनाएका थिए।
जारी एनपीएलमा कप्तान ऐरीको यो तेस्रो अर्धशतक हो। यस्तै ईशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पेलम्यान र शेर मल्लले २–२ तथा किशोर महतो र अभिशेष गौतमले १–१ विकेट लिएका थिए।
यो खेल जित्ने टोलीले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ। पराजय व्यहोर्ने टोलीले फाइनलमा स्थान बनाउन एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सुदूरपश्चिम लगातार तेस्रो तथा लुम्बिनी दोस्रोपटक फाइनलमा स्थान बनाउने योजनामा छन्।



