तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका पर्व मनाइन्छ। भौगोलिक दूरी, समय र परिस्थितिका कारण टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीलाई एउटै पारिवारिक सूत्रमा बाँध्दै आपसी प्रेम, सद्भाव र आत्मीयता अभिव्यक्त गर्ने विशिष्ट सामाजिक तथा सांस्कृतिक पर्व हो यो। देशका दूरदराजमा रहेका हुन् वा विदेश पुगेका, आफ्नो मौलिक चाडपर्व, रीतिरिवाज र संस्कृतिप्रति अनुराग राख्ने नेपालीहरू यस अवसरमा पारिवारिक मिलनको प्रतीक्षामा रहन्छन्।
यस दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका र फूलमाला लगाइदिई शुभकामना तथा आशीर्वाद आदानप्रदान गर्ने परम्परा छ। मीठा परिकार, फलफूल, भाइमसला, दान, दक्षिणा तथा उपहारको आदानप्रदानले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउँछ। यस पर्वले टीका लगाउने परम्परालाई मात्र नभई दाजुभाइ तथा दिदीबहिनीबीचको पारस्परिक स्नेह, सम्मान, संरक्षण र उत्तरदायित्वलाई समेत अभिव्यक्त गर्दछ।
दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्यता, सुख, समृद्धि र सर्वाङ्गीण कल्याणको कामना गर्दै लोमश ऋषि, अरुन्धती तथा मार्कण्डेयादि अष्टचिरञ्जीवीको पूजा गर्ने परम्परा पनि छ। यसै अवसरमा आसुरी शक्तिका प्रतीकका रूपमा ओखर र बिमिरोको पूजा गरी फुटाउने चलन छ। यसलाई दुष्ट प्रवृत्ति, विघ्नबाधा र अनिष्टको निवारण तथा दाजुभाइको रक्षाको प्रतीकात्मक अभिव्यक्तिका रूपमा लिन सकिन्छ।
यस अवसरमा यमराजका दूतहरूसम्बन्धी प्रार्थना गर्दै दिदीबहिनीले आफ्ना दाजुभाइको रक्षाको कामना गर्छन्। प्रार्थनाको भाव यस प्रकार छ :
यमराजका दूतहरू बलशाली, वायुवेगसमान गतिशील र आक्रामक स्वभावका छन्। पाश, मुसल, खड्ग, तरबार र धनुषजस्ता अस्त्रशस्त्र धारण गरेका उनीहरूको स्वरूप भयङ्कर छ। त्यस्ता यमकिङ्करले मेरा दाजुभाइलाई कुनै प्रकारको पीडा नदिऊन्, बरु उनीहरूलाई सुख, शान्ति र कल्याण प्रदान गरून्।
सूर्यकी छोरी, यमराजकी बहिनी, समस्त प्राणीको कल्याण गर्ने तथा भगवान् विष्णुकी अर्धाङ्गिनीका रूपमा पूजित यमुना देवी मेरा लागि अनुकूल भई इच्छित वरदान प्रदान गरून्।
हे सूर्यपुत्र, यमुनाका अग्रज तथा धर्मराज! यहाँलाई नमस्कार छ। आफ्ना आक्रामक दूतबाट मेरा दाजुभाइको सधैँ रक्षा गर्नुहोस्। सज्जनका लागि सौम्य र न्यायशील तथा काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता दुर्गुणबाट ग्रसित पापाचारीका लागि कठोर दण्डाधिकारीका रूपमा प्रकट हुनुहुने कालका पनि महाकाल यमराजलाई नमस्कार छ।
संहारका अधिष्ठाता तथा सूर्य, चन्द्र र अग्निसमान तेजस्वी यमराजको कृपाले मेरा दाजुभाइ दीर्घायु, निरोगी, निर्भय र समृद्ध बनून्। यम र यमुनाको जस्तो पवित्र भ्रातृ–भगिनी प्रेम हाम्रो सम्बन्धमा पनि जन्मजन्मान्तरसम्म कायम रहोस्।
मेरा दाजुभाइले अष्टचिरञ्जीवीको जस्तै दीर्घायु तथा यम र यमुनाको जस्तो भ्रातृ–भगिनी प्रेम प्राप्त गरून्। उनीहरू आयु, ऐश्वर्य, यश, धैर्य, निर्भयता, आरोग्यता र मधुर वाणीले सम्पन्न बनून्।
त्यसैगरी, हे बहिनी! तिमी पनि सधैँ लक्ष्मी, अपर्णा, ब्राह्मी र सरस्वतीजस्ता दिव्य शक्तिका गुणले सम्पन्न रहनू। दीर्घायु, ऐश्वर्य, आरोग्यता, धनधान्य, सुयोग्य पति तथा दाजुभाइको स्नेह जन्मजन्मान्तरसम्म प्राप्त गरिरहनू। तिमी दया र मायाकी खानी, शीलस्वभावले सम्पन्न, गुणवान् र कुशल बनिरहनू। स्वधर्ममा अडिग रहँदै आफ्नो सामर्थ्यअनुसार मनले चिताएका सत्कार्य पूरा गर्न सक्ने सामर्थ्य प्राप्त गरिरहनू।
वैवस्वत मनुका वंशमा उत्पन्न, समस्त विश्वको नियमन गर्न समर्थ, विश्वमूर्ति, कालका पनि काल, मृत्युका अधिष्ठाता तथा अविनाशी धर्मराज यमराजलाई नमस्कार छ। उहाँको कृपादृष्टि मेरा दाजुभाइहरूमाथि सदैव रहिरहोस्।
यम र यमुनाको पौराणिक संवादले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध अजर, अमर, निश्चल, निष्कपट, निष्कलङ्क र निःस्वार्थ हुनुपर्छ भन्ने गहन सन्देश दिन्छ। यस पर्वले दाजुभाइको दीर्घायु र कल्याणको कामना गर्नुका साथै दिदीबहिनीको सम्मान, सुरक्षा, सुख र समृद्धिप्रति दाजुभाइको दायित्व पनि स्मरण गराउँछ। यसरी भाइटीकाले एकतर्फी संरक्षण र शुभकामनाभन्दा परस्पर स्नेह, सम्मान र उत्तरदायित्वमा आधारित सम्बन्धको महत्त्व उजागर गर्दछ।
यस पर्वमा निहित धार्मिक तथा सामाजिक सन्देशलाई परम्परामा मात्र सीमित नराखी व्यवहारमा समेत उतार्न आवश्यक छ। दाजुभाइ तथा दिदीबहिनीबीच वैरभाव, ईर्ष्या, घृणा, तिरस्कार, विभेद र बहिष्कारजस्ता नकारात्मक प्रवृत्तिले स्थान पाउनु हुँदैन। आपसी प्रेम, विश्वास, सम्मान, सहयोग र समर्पणले नै पारिवारिक सम्बन्धलाई जीवन्त र सुदृढ बनाउँछन्।
अतः भाइटीका निधारमा सप्तरङ्गी टीका लगाउने र फूलमाला पहिराउने पर्व मात्र होइन; यो जन्मजात आत्मीयता, पारिवारिक एकता, पारस्परिक संरक्षण, सामाजिक सद्भाव र निःस्वार्थ प्रेमको सांस्कृतिक उत्सव हो। दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध कस्तो हुनुपर्छ र त्यसलाई जीवनपर्यन्त कसरी मर्यादित तथा आत्मीय बनाइराख्नुपर्छ भन्ने प्रेरणादायी सन्देश यमपञ्चकको यस पर्वले दिन्छ।




