निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की
काठमाडौँ- निवर्तमान नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा दीपावलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै संस्थागत एकता, व्यावसायिक निष्ठा, पारस्परिक सद्भाव र जनविश्वास अभिवृद्धिमा जोड दिएका छन्।
आइतबार सम्पूर्ण नेपाली नागरिक, नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारजनलाई तिहारको शुभकामना दिँदै कार्कीले व्यक्तिगत खुसीसँगै सामाजिक र संस्थागत सुदृढीकरणलाई पनि पर्वले प्रेरित गर्नुपर्ने बताएका हुन्।
उनले सामूहिक हित, संस्थागत एकता र पारस्परिक सद्भावबाट मात्रै साझा सफलता हासिल गर्न सकिने उल्लेख गरेका छन्। भावनात्मक एकता बलियो भए मात्र संस्थागत सबलता कायम रहने उनको सन्देश छ।
कार्कीले आफ्नो शुभकामना सन्देशमा अज्ञानमाथि ज्ञान, भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय सुनिश्चित गर्ने चेतना विकास गर्नुपर्नेमा समेत जोड दिएका छन्। मनमा रहेका सङ्कीर्णता, द्वेष, अहंकार र विकार त्याग्दै विवेक, सकारात्मक सोच तथा सिर्जनशीलतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
त्यस्तै, सार्वजनिक संस्थाहरूको गरिमा, प्रतिष्ठा र जनविश्वास अभिवृद्धि गर्दै राष्ट्रसेवाप्रतिको समर्पण अझ सशक्त बनाउन तिहारले प्रेरणा प्रदान गरोस् भन्ने कामना उनले गरेका छन्।
महालक्ष्मीको कृपाले व्यक्तिगत तथा पारिवारिक जीवनमा सुख, शान्ति र आत्मीयता बढाउनुका साथै सामाजिक एवं संस्थागत क्षेत्रमा उत्तरदायित्व, व्यावसायिक निष्ठा र संगठनात्मक सुदृढीकरणको भावना प्रगाढ बनाओस् भन्ने उनको शुभेच्छा छ।
सात रङ्गले जीवनलाई रङ्गीन बनाउने र सात ऊर्जाले सिर्जनशीलता जगाउने कामना गर्दै कार्कीले हरेक हृदयमा मानवता, विवेक र सद्कर्मको ज्योति प्रज्वलित भइरहोस् भन्दै तिहार तथा दीपावलीको शुभकामना व्यक्त गरेका छन्।
मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।
सरकारले डा.मनोज केसीलाई नयाँ प्रहरी आईजीपीमा नियुक्त गरेको छ। उनले पदभार ग्रहणसमेत गरिसकेका छन्। महानिरीक्षक पदबाट हटाएपछि कार्कीले सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा दायर गरेका छन्।



