काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरुलाई शुक्रबार शपथग्रहण गराउँदै अध्यक्ष ओलीले मुलुकको समृद्धिको महान् उद्देश्य बोकेर हिँडेको पार्टीलाई कहिलेकाहीँ धक्का पर्न सक्ने भन्दै पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने बताएका हुन्।
उनले मुलुकको विकास अभियानमा अघि बढ्को एमालेलाई विकास हुन नदिने तत्त्वहरूले रोक्ने प्रयास गरेको धारणा राखे। उनले देशमा प्रतिगमन भएको र पार्टीलाई धक्का लागेको भए तापनि सानातिना कुरामा नअल्झी फराकिलो मनका साथ अगाडि बढेमा पार्टी फेरि लडेको ठाउँबाट उठ्न सक्ने र पहिलेकै अवस्था भन्दा अझ अघि बढ्न सक्ने विश्वास व्यक्त गरे।
शपथ ग्रहण गरेका केन्द्रीय सदस्यहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा ‘आदर्श व्यक्ति’ का रूपमा स्थापित हुनुपर्ने, गलत आचरण त्याग्नुपर्ने तथा पवित्र, शुद्ध, कम्युनिस्ट शालीनता र विनम्रता प्रस्तुत गर्नुपर्ने उनले बताए।



