१७४ यात्रु बचाएका पाइलटले मोदीसँग भने- म पूर्ण रूपमा निको हुन्छु

हिमाल प्रेस १६ असोज २०८३ १६:२३ | Friday, October 2, 2026
१७४ यात्रु बचाएका पाइलटले मोदीसँग भने- म पूर्ण रूपमा निको हुन्छु कप्तान स्मित मच्छर।

काठमाडौँ- सहपाइलटले छुरा हानेपछि घाइते भएका फ्लाइदुबईका भारतीय पाइलटले यात्रुको ज्यान बचाउन आफूले अन्तिम समयसम्म प्रयास गरेको बताएका छन्।

क्याप्टेन स्मित मच्छरले आफू लडेर घाइते अवस्थामा पनि ककपिटको ढोका खोल्न सफल भएको बताएको बीबीसीले जनाएको हो। ढोका खुलेपछि विमानमा रहेका अन्य दुई पाइलट ककपिटमा पुगेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कुराकानी गर्दै मच्छरले भने, ‘म घाइते भएर भुइँमा लडिरहेको थिएँ। तर भित्रबाट ढोका खोल्न अन्तिमपटक भए पनि प्रयास गर्नुपर्छ भन्ने लाग्यो।’

‘म आफ्नो ज्यान बचाउन लडिरहेको थिएँ। तर त्यही बेला अरूलाई मर्न दिन्नँ भन्ने पनि थाहा थियो,’ उनले भने।

फ्लाइदुबईको एफजेड १०७३ उडान बुधबार बिहान दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको थियो। उडान सुरु भएको करिब साढे दुई घण्टापछि विमान ५ हजार २०० मिटरभन्दा बढी तल झरेको थियो।

विमानले सुरुमा हवाई ट्राफिक नियन्त्रण कक्षलाई आपत्कालीन संकेत पठाएको थियो। त्यसपछि विमान अपहरण भएको जनाउने ७५०० सङ्केत पठाइएको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार एक पाइलटले अर्का पाइलटलाई छुरा हानेका थिए। त्यसपछि उनले विमान दुर्घटनाग्रस्त गराउन खोजेको देखिएको नेतन्याहुले बताएका छन्।

विमानमा रहेका यात्रुले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानमा रहेका दुई वैकल्पिक पाइलटले साउदी अरबको ताबुक विमानस्थलमा बिहान ६:५८ बजे सुरक्षित अवतरण गराएका थिए।

घाइते मच्छरलाई ताबुकको अस्पताल लगिएको थियो। त्यसपछि उनलाई अबुधाबी लगिएको छ। उनको अवस्था स्थिर रहेको बताइएको छ।

नेतन्याहुले आक्रमणकारी ओमानका नागरिक रहेको र उनी इस्लामवादी अतिवादी विचारबाट प्रभावित भएको हुन सक्ने बताएका छन्। घटनाबारे संयुक्त अरब इमिरेट्सले पनि अनुसन्धान थालेको छ।

१७ वर्षदेखि विमान उडाउँदै आएका पाइलट

मच्छरले आफू १७ वर्षदेखि विमान उडाउँदै आएको बताएका छन्। उनले विमानमा केही असामान्य भयो भने आफूले तत्काल बुझ्न सक्ने बताएका छन्।

प्रधानमन्त्री मोदीले मच्छरको साहस, धैर्य र तत्काल निर्णय लिन सक्ने क्षमताले धेरै मानिसको ज्यान बचाएको भन्दै प्रशंसा गरेका छन्।

संयुक्त अरब इमिरेट्सस्थित भारतीय दूतावासले मच्छरको स्वास्थ्य राम्रो रहेको र उनी उपचारपछि निको हुँदै गएको जनाएको छ।

मच्छरले पनि आफू चाँडै पूर्ण रूपमा स्वस्थ हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १६ असोज २०८३ १६:२३ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast