एमालेलाई सत्ता र प्रमुख प्रतिपक्ष दुवै भूमिकाबाट बाहिर राख्ने प्रयास भइरहेको छ : ज्ञवाली

हिमाल प्रेस ७ असोज २०८३ १९:३० | Wednesday, September 23, 2026
6
SHARES
एमालेलाई सत्ता र प्रमुख प्रतिपक्ष दुवै भूमिकाबाट बाहिर राख्ने प्रयास भइरहेको छ : ज्ञवाली फाइल तस्बिर

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना गरिरहेको भन्दै त्यसको समाधानका लागि राष्ट्रिय एकता र पार्टी एकता आवश्यक रहेको बताएका छन्।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै नेता ज्ञवालीले संकटको सामना गर्न पार्टी, आन्दोलन, लोकतन्त्र र राष्ट्रकै एकता अपरिहार्य रहेको र त्यसको अगुवाइ एमालेले गर्नुपर्ने बताए।

ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पपुलिज्म र अराजकताको जगमा उभिएको शक्ति भएकाले दीर्घकालीन रूपमा असफल हुनु अनिवार्य रहेको दाबी गर्दै त्यसले मात्रै एमाले स्वतः सफल नहुने बताए। उनले पार्टीलाई सुदृढ र रूपान्तरित बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले एमालेलाई सत्ता र प्रमुख प्रतिपक्ष दुवै भूमिकाबाट बाहिर राख्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्न पार्टीभित्र बलियो एकता र संगठनात्मक सुदृढीकरण आवश्यक रहेको धारणा राखे।

ज्ञवालीले पार्टी पुनर्जागरणको आधार आफ्नै पार्टीको एकता भएको उल्लेख गर्दै पार्टीभित्र वैचारिक समस्या नभए पनि केही विषयमा दृष्टिकोणको भिन्नता रहेको बताए। निर्वाचनपछिको परिस्थितिलाई लिएर विकसित बहसले पार्टीभित्र ध्रुवीकरण बढाएको र त्यसले भावनात्मक विभाजन सिर्जना गरेको उनको भनाइ थियो।

उनले निर्वाचनको परिणामलाई सामूहिक चुनौतीका रूपमा लिएर जनतामा आशा र भरोसा विस्तार गर्नुपर्ने समयमा पार्टीभित्र अस्वस्थ अवस्था देखिएको टिप्पणी गरे। पुनर्गठनको बहस व्यक्ति केन्द्रित बनेको, अध्यक्षलाई सम्पूर्ण समस्याको कारकका रूपमा चित्रित गर्ने प्रयास भएको तथा पार्टीका नियमित कामसमेत प्रभावित भएको उनले बताए।

ज्ञवालीले कार्यदलको प्रतिवेदनलाई एकताको आधार बनाएर अघि बढ्नुपर्ने सुझाव दिँदै त्यसको नेतृत्व अध्यक्षले गर्नुपर्ने बताए। उनले पार्टी अध्यक्ष केपी शर्मा ओली अब आन्तरिक संघर्षमा होइन, योजनाबद्ध नेतृत्व विकास र पार्टीभित्र भावनात्मक एकता निर्माणमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।

उनले पार्टीलाई लागेको धक्काको प्रमुख कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको बताए। स्थानीय तहमा देखिने प्रतिस्पर्धा, अपेक्षा र त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई सही ढंगले व्यवस्थापन गर्न नसक्दा समस्या बढेको उल्लेख गर्दै प्रतिस्पर्धापछि पुनः बलियो एकता कायम गर्ने नयाँ विधि खोज्नुपर्ने बताए।

प्रकाशित: ७ असोज २०८३ १९:३० | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast