काठमाडौँ- करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको १० लाख रुपैयाँको बम्पर उपहार पर्साका लालबाबु साह कानुले जितेका छन्।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा उपहार विजेता घोषणा गरेका हुन्।
कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको आन्तरिक राजस्व विभागले जनाएको छ।
विजेता कानुलाई तत्कालै फोनमार्फत सम्पर्क गरी आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले बधाई दिएका थिए। उनले पुरस्कार प्राप्त गर्न नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।
विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद कारोबार गरी बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए।
त्यसमध्ये नगद कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ वटा कारोबार थिए। अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ वटा कारोबार उपहारका लागि योग्य भएका थिए।
असोज १ देखि १५ गतेसम्म दैनिक १ लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताको कुपन पनि सार्वजनिक गरिएको छ।



