काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण नेपाल एयरलाइन्सको अवस्था विग्रिएको बताएका छन्।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले नेपाल एयरलाइन्स विगतदेखि नै राजनीतिक हस्तक्षेपका कारण बिग्रिएकाले हाल सकारात्मक हस्तक्षेपको अपेक्षा गरिएको बताए।
उनले महाप्रबन्धक नियुक्तिको प्रक्रियासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले महाप्रबन्धक नियुक्ति गर्न कानुनी अड्चन भएको धारणा राखे। हाल निगमको ६ वटा जहाजमध्ये एउटामा मात्रै समस्या आउँदा पनि उडान तालिका फेरबदल गर्न र यात्रु व्यवस्थापन गर्न ठूलो धनराशि खर्च हुने गरेको उनले बताए।
उनले विद्यमान परिपाटी र संरचनाबाट मात्र जहाज थपेर समस्या समाधान नहुने भएकाले पहिला संरचनागत सुधार आवश्यक रहेको धारणा राखे।
नेपाल एयरलाइन्सलाई अगाडि बढाउन एउटा साहसिलो निर्णयको खाँचो रहेको भन्दै उनले केवल सरकारी निर्णयले मात्र सम्भव नरहेको उल्लेख गरे।
बैठकमा समिति सदस्यहरुले निगमको व्यवस्थापन निकै कमजोर रहेकाले माथि उठ्न समस्या भएको बताए।
छलफलमा सांसदहरूले रुग्ण अवस्थामा पुगेको नेपाल वायु सेवा निगमलाई सार्वजनिक, निजी साझेदारीको नमूनाअनुसार सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन्।
सांसदहरूले निगम लामो समयदेखि घाटामा गएको, अहिले पनि निगमका दुईवटा जहाज ‘ग्राउन्डेड’ रहेकाले सार्वजनिक, निजी, साझेदारीको नमूनाका आधारमा चलाउनुपर्नेमा जोड दिए।
सांसदहरूको मागमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलको पनि समर्थन थियो।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले निगमसम्बन्धी नीति, कानुन पुनरवलोकन गर्ने प्रतिबद्धता जनाए। समितिले दिएका निर्देशन पालना गरी निगमलाई सुदृढ बनाउन लागिपर्ने प्रतिबद्धता पनि उनको थियो।



