काठमाडौँ- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्मानजनक रूपमा नेतृत्वबाट बिदा लिनुपर्ने विषयमा आफूले राखेको प्रस्ताव केन्द्रीय कमिटीले स्वीकार नगरेको बताएका छन्।
केन्द्रीय कमिटी बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले उठाएका केही विषय अध्यक्षको प्रतिवेदनमा समावेश हुने र केही विषयमा आगामी बैठकहरूमा पनि छलफल जारी रहने बताए।
‘कतिपय समावेश हुन्छन्, कतिपय हुँदैनन्। पार्टी हो, विचार राख्दै र छलफल गर्दै जानुपर्छ। केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनमा लैजानुपर्छ र अर्को बैठकमा फेरि आफ्नो विचार राख्नुपर्छ। अब त्यही मोडलबाट जाने हो,’ उनले भने।
भट्टराईले अध्यक्ष ओलीले सम्मानजनक रूपमा बिदा लिनुपर्ने प्रस्ताव आफूले राखेको भए पनि केन्द्रीय कमिटीले त्यसलाई नस्वीकारेको बताए।
‘अब त्यो विषयलाई पछिका कमिटीहरूमा फेरि छलफल गर्दै जानुपर्छ। सबै कुरा एकै पटक सकिँदैन,’ भट्टराईले भने।
उनले अब पार्टीको मुख्य प्राथमिकता आगामी स्थानीय तह निर्वाचनको तयारी रहेको बताए।



