काठमाडौँ- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता मनोनीत गरेको छ। पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गरेको हो। उनलाई मतदानको अधिकार भने नदिइएकाे बैठकमा सहभागी एक नेताले बताएका छन्।
एमालेको उपाध्यक्ष छँदै राष्ट्रपति निर्वाचित भएपछि भण्डारी सक्रिय राजनीतिबाट बाहिरिएकी थिइन्। दुई कार्यकाल राष्ट्रपति भएकी उनी पुनः एमालेमै फर्किएर सक्रिय राजनीतिमा आउने खोजे पनि अध्यक्ष केपी शर्मा ओलीले रोकेका थिए। देशकै सर्वोच्च पद राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किनु संविधानको भावनाविपरित हुने तर्क ओलीले गरेका थिए।
राष्ट्रपति भइसकेको भन्दै अध्यक्ष ओलीले भण्डारीको पार्टी सदस्यता नवीकरणसमेत रोकेका थिए। उनलाई सक्रिय राजनीतिमा आउनबाट रोक्न नहुने तर्क एमालेकै कतिपय नेताहरूले गरेका थिए। लामो रस्साकस्सीपछि सदस्यता नवीकरण गर्न पाएकी भण्डारी पार्टीको वरिष्ठ नेतामा मनोनीत भएसँगै ११ वर्षपछि पुनः दलीय राजनीतिमा सक्रिय हुने भएकी छन्।
त्यस्तै एमाले सचिवालय बैठकले सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डि र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
त्यस्तै सचिवायलय बैठकले २८ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। काशीनाथ अधिकारी, देवराज घिमिरे, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम डंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई र शान्तिलाल महत केन्द्रीय सदस्य भएका हुन्।
मनोनीत अन्य केन्द्रीय सदस्यहरूमा नन्दलाल देवकोटा, पाल्तेन शेर्पा जी. गुरुङ, विनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा, कौशला खत्री, महमुद इस्तियाक राई, प्रदीप यादव, डा.अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज विष्ट, अर्जुन राई, धर्म गिरी छन्।



