न्युयोर्कमा नेपाली समुदाय र विदेशीबाट किन टाढा रहे बालेन?

चन्द्रशेखर अधिकारी १२ असोज २०८३ २१:२७ | Monday, September 28, 2026
न्युयोर्कमा नेपाली समुदाय र विदेशीबाट किन टाढा रहे बालेन? राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)।

न्युयोर्क- संयुक्त राष्ट्रसंघको महासभा विश्व नेताहरूका भाषण सुन्ने र भाषण सुनाउने मुख्य थलो त हुँदै हो तर त्यो औपचारिक कार्यक्रमभन्दा बाहिर हुने छोटा संवाद, आकस्मिक भेट र अनौपचारिक सम्पर्कले कूटनीतिक सम्बन्धको दिशा निर्धारण गर्दै आएका छन्।

कहिलेकाहीँ पाँच मिनेटको भेटले पनि बृहत् सम्बन्धको संकेत दिन्छ। त्यसैले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को यसपटकको न्युयोर्क भ्रमण उनको भाषण वा महासचिवसँगको भेटबाट मात्र बुझ्नभन्दा उनको निर्देशमा परराष्ट्रमन्त्री शिशिर खनालको सक्रियताबाट स्पष्ट हुन्छ।

बालेन आफैँले समय दिएको भए थप राम्रो पक्कै हुने थियो तर उनले परराष्ट्रमन्त्रीलाई कूटनीतिक मोर्चामा अग्रपंक्तिमा राख्नु सकारात्मक काम हो। यात्राको सबैभन्दा अर्थपूर्ण चासो थियो- उनले भेटघाट कसरी सीमित राखे!

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी प्रधानमन्त्री शाहको औपचारिक कार्यक्रम थियो- राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट र महासभामा सहभागी भएर सम्बोधन गर्ने। त्यसबाहेकको समय भने अत्यन्त सीमित दायरामा रह्यो। न्युयोर्कस्थित ग्रान्ड सेन्ट्रल क्षेत्रको हायात होटलमा बसेका प्रधानमन्त्री शाह निर्धारित कार्यक्रममा मात्र सहभागी भए। न्युयोर्कस्थित नेपाली नियोगसम्म पनि पुगेनन् र बाँकी समय होटलमै बिताए। भाषणको तयारीमा आफैँ लागे।

समय निकालेर प्रधानमन्त्री शाहले गाडीबाट न्युयोर्क सहर पनि नियाले। यद्यपि अधिकारीहरू यो कुरा स्वीकार गर्दैनन्। प्रधानमन्त्री सहरमा कतै ओर्लेनन्, घुमेनन्।

भेटघाट अवसरभन्दा जोखिम लिने शैली

प्रधानमन्त्रीको हरेक भेट, तस्बिर र गतिविधिले तत्काल राजनीतिक अर्थ पाउन सक्छ। न्युयोर्कमा पनि त्यही सम्भावना थियो। भारतका अधिकारीसँग भेट भयो भने एक प्रकारको व्याख्या, चीनका अधिकारीसँग भेटेमा अर्को खाले व्याख्या अनि अमेरिकी अधिकारीसँग भेट भयो भने त  अर्कै खाले व्याख्या हुन सक्थ्यो। यस्तै भएका कारण उनले कसैलाई नभेटेको उनको सचिवालयका एक अधिकारीले बताए।

प्रधानमन्त्रीले परराष्ट्रमन्त्री वा उपमन्त्री तहमा भेट्दा पनि ‘किन यो तहमा झरेको?’ भन्ने प्रश्न उठ्न सक्थ्यो। बालेनले भेटको सबै जिम्मा परराष्ट्रमन्त्रीलाई दिएका थिए। प्रधानमन्त्री शाहको यो निर्णयलाई दुई कोणबाट बुझ्न सकिन्छ। पहिलो, यसले प्रधानमन्त्रीलाई कुनै देश, समूह वा व्यक्तिप्रति विशेष झुकाव देखिएको भन्ने जोगाएको छ। दोस्रो, महासभाजस्तो उच्चस्तरीय अवसरमा सम्भावित द्विपक्षीय सम्पर्कका धेरै ढोकामार्फत आफैँले बुझ्न पाउने कुरा बन्द गरेको देखियो।

यही  विषय बालेनको अमेरिका  यात्राको सबैभन्दा रोचक पक्ष रह्यो। यसलाई कूटनीतिक शैलीको एक बलियो आधार मान्न पनि सकिन्छ। देशको हितमा काम आफैँ सक्रिय  नभई आफ्ना संयन्त्र सक्रिय पारेर गर्ने हो। सधैँ उठ्ने प्रश्न हो कूटनीतिक सक्रियता कि संयन्त्रमार्फत सक्रियता? यसलाई यसरी पनि भन्न सकिन्छ- कूटनीतिक सक्रियता कि राजनीतिक नियन्त्रण?

परम्परागत कूटनीतिमा सरकार प्रमुखको विदेश भ्रमणलाई भेटघाटको संख्याबाट पनि मापन गरिन्छ। कसलाई भेटियो, कुन तहमा भेटियो, कुन विषय उठाइयो र कुन नयाँ सम्बन्ध बन्यो। यी सबै महत्त्वपूर्ण हुन्छन् र बालेनको शैली भिन्न देखियो। हुन पनि बालेन स्वदेश फर्केकै दिन नेपाली कन्सुलेट जनरलको कार्यालयमा एक कार्यक्रम भएको थियो। त्यहाँको दृश्य अस्तव्यस्त थियो। परराष्ट्रमन्त्री शिशिर खनालसँग कोही के कोही के भन्दै सेल्फीमा रमाइरहेको  दृश्य निकै अस्वाभाविक थियो।

चालीस जना अट्ने हलमा एक सय ५० थिए। भित्रबाहिर गर्न निकै कठिन भएको थियो। कोही आफूलाई वैज्ञानिक भन्दै थिए भने कोही मलाई अवसर दिए यस्तो र उस्तो गर्थेँ भनिरहेकाे थिए। लाग्थ्यो- सबै विज्ञ यहीँ छन् तर वास्तविकता भिन्न थियो । उनीहरू मन्त्रीसँग नजिक हुने, तस्बिर खिचाउने र सामाजिक सञ्जालमा उपस्थित देखाउन आएको स्पष्ट थियो। यही बुझेर बालेन आफ्नै नियोग र कन्सुलेट जनरलको कार्यालयमा समेत नपुगेको उनी निकट अधिकारीहरूले बताएका छन्।

न्युयोर्कमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)।

बहुपक्षीय मञ्च दुईपक्षीय सम्बन्ध बलियो बनाउने एक केन्द्र पनि हो। राष्ट्रसंघको महासभा त त्यस्ता अवसरका लागि विशेष महत्त्वको ठाउँ हो। यसलाई लाभहानिका रूपमा लिनुभन्दा दुई पक्षबीचको सन्तुलनका रूपमा हेर्नु उपयुक्त हुन्छ। अनि प्रधानमन्त्री शाहले होल्डिङ रुममा अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजसँग गरेको भेट अस्ट्रेलिया-नेपाल सम्बन्धको एक आयाम बन्न सक्छ।

अस्ट्रेलियाका समकक्षीसँगको यो सानो भेटले प्रधानमन्त्री शाहको रणनीतिको अर्को पाटो देखाउँछ- बालेन संवादविहीन थिएनन् तर उनी संवादलाई छुट्टै कार्यक्रम बनाउने पक्षमा पनि थिएनन्। भेटमा उनले अस्ट्रेलियाका नेपाली समुदायको सन्दर्भमा कुरा हुनु स्वाभाविक थियो। त्यसलाई औपचारिक साइडलाइन बैठकका रूपमा बुझ्न भने मिल्दैन। किनभने यो कुनै पूर्वनिर्धारित भेट थिएन।

स्रोतका अनुसार उनलाई भेटका लागि विदेशीले समेत पहल गरेका थिए। बालेनलाई भेट्न केही बिचौलियाले काठमाडौँदेखि नै पछ्याएको दाबी स्रोतको छ। ‘विमानमा सँगै सिट मिलाएर यात्रा गर्ने र होटलमा कोठा आमनेसामने पारेर बस्नेसम्म योजना थाहा पाएपछि उहाँले भेटघाट स्थगित गर्नुभयो। अन्यथा नेपालीहरूसँग सामान्य भेटघाट गर्ने र न्युयोर्कस्थित नेपाली नियोगको कार्यालयसमेत जाने योजना उहाँको थियो।’ परराष्ट्र अधिकारीसँग प्रधानमन्त्री ढुक्क हुन नसकेका कारण भेटघाट खुम्च्याएको दाबी स्रोतको छ।

नेपाली समुदायसँगको दूरी अर्थपूर्ण

न्युयोर्कका नेपाली समुदाय प्रधानमन्त्री बालेन बसेको होटल परिसरमा जम्मा भए। उनलाई भेट्न नेपाली समुदायका प्रतिनिधि, दलका समर्थक, शुभेच्छुक र विभिन्न व्यक्तिहरूले गरेको प्रयास सफल भएन।  समर्थकलाई सम्बोधन गराउने प्रयाससमेत भयो। तर प्रधानमन्त्रीले बाटोमा भेटिएका नेपालीलाई मन्द मुस्कान दिए, हात जोडेर वा छातीमा हात राखेर सामान्य अभिवादन गरे। त्यो व्यवहारमा दूरी थिएन, तर त्यसलाई औपचारिक भेटमा परिणत गर्ने प्रयास बालेनबाट भएन।

प्रधानमन्त्रीले जनसमुदायबाट आफूलाई पूर्ण रूपमा भिन्न राखेका थिएनन्। बरु अनियोजित, छोटो र सामान्य सम्पर्कलाई स्वीकार गरे।  प्रधानमन्त्रीले न्युयोर्कमा आफ्ना निकटस्थ र सल्लाहकारहरूसँग समेत छुट्टै भेटघाट गरेनन्।

उद्देश्य विदेशी उच्च अधिकारीसँगको विवादबाट बच्नु मात्र थियो भने आफ्ना मानिससँगको भेट पनि रोक्नुपर्ने थिएन। त्यसैले यहाँ अर्को तहको सोच देखिन्छ- कसलाई भेटियो भन्ने भन्दा भेटको दृश्यबाट बन्न सक्ने सार्वजनिक भाष्यलाई नियन्त्रण गर्ने प्रयास।

सामाजिक सञ्जालका कारण कुनै एक तस्बिर राजनीतिक समाचार बन्न सक्छ। बालेनले न्युयोर्कमा देखाएको व्यवहारलाई यही बदलिएको राजनीतिक सञ्चारका सन्दर्भमा हेर्न सकिन्छ। यसबाट प्रधानमन्त्रीले  भेटघाटको राजनीतिक अर्थलाई नियन्त्रण गर्न खोजेको देखिन्छ।। यसले उनको शैलीका दुई विशेषता देखाउँछ- पहिलो, उनी सार्वजनिक धारणालाई गम्भीर रूपमा लिन्छन्। दोस्रो, उनी आफूले दिने राजनीतिक संकेतमा नियन्त्रण राख्न चाहन्छन्। बालेनको यो शैलीको दीर्घकालीन प्रभाव के हुन्छ, अहिल्यै भन्न सकिँदैन। कूटनीतिमा धेरै भेटघाट गर्नु मात्र सफलता होइन। धेरै भेटघाट नगर्नु मात्र पनि उपलब्धि होइन।

महत्त्वपूर्ण कुरा ती भेटघाटबाट के उपलब्धि भयो, कुन सम्बन्ध निर्माण भयो र राष्ट्रिय हितमा त्यसको परिणाम के आयो भन्ने हो। बालेनको न्युयोर्क भ्रमणको मूल्यांकन पनि अन्ततः यही आधारमा हुनुपर्नेछ।

महासभामा प्रधानमन्त्रीको सहभागिता भयो, महासचिवसँग भेट भयो र अन्तर्राष्ट्रिय मञ्चमा नेपालका विषय प्रस्तुत भए। साइडलाइन कूटनीतिमा प्रधानमन्त्री बालेनको उपस्थिति सीमित रह्यो। न्युयोर्कमा सक्रिय परराष्ट्रमन्त्री खनालले आफू एक दिनमा २० भन्दा बढी भेट र कार्यक्रममा सहभागी भएको बताए।

प्रधानमन्त्री बालेनको न्युयोर्क भ्रमण परम्परागत कूटनीतिक शैलीभन्दा केही फरक रह्यो। उनले भेटघाटको दायरा साँघुरो राखे, परराष्ट्रमन्त्रीलाई सक्रिय बनाए र आफूलाई सार्वजनिक दृश्यमा सीमित राखे। यसले अनावश्यक राजनीतिक व्याख्याबाट जोगिने ठाउँ दिए पनि महासभाजस्तो बहुपक्षीय मञ्चमा बन्न सक्ने केही द्विपक्षीय सम्पर्कको अवसर भने सीमित गर्‍यो। अन्ततः कूटनीतिक भ्रमणको अर्थ भेटिएका मान्छेको सूची लामो हुनुमा मात्र होइन, ती भेटबाट राष्ट्रिय हितमा के उपलब्धि हासिल भयो भन्नेमा निर्भर हुन्छ। तर कहिलेकाहीँ नभेटिएका मान्छेको सूचीले पनि भ्रमणको शैली र प्राथमिकता बुझाउने आधार दिन्छ। न्युयोर्कमा बालेनको भ्रमण त्यस्तै एउटा उदाहरण बनेको छ, जसको वास्तविक परिणाम भने तत्काल होइन, आगामी दिनमा देखिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast