बाबु र छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

हिमाल प्रेस १६ असोज २०८३ १५:२६ | Friday, October 2, 2026
बाबु र छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा एकै परिवारका बाबु र छोरा महाधिवेशन प्रतिनिधि बनेका छन्। कास्की क्षेत्र नम्बर २ बाट गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापा र छोरा सौगात थापा निर्वाचित भएका हुन्।

३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा छोरा थापाले उम्मेदवारी दिएका थिए। बुबा बिन्दुले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार दिएका थिए। दुवै बाबु र छोरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि छोरा सौगातले यो परिणाम व्यक्तिगत उपलब्धि मात्र नभइ युवामाथि गरिएको विश्वास भएको बताएका छन्। यो विश्वासले नेपाली कांग्रेसलाई अझ गतिशील, सुदृढ र पुस्तान्तरणमुखी बनाउने अपेक्षाको जिम्मेवारी रहेको उनले उल्लेख गरेका छन्।

बिन्दुले क्षेत्रीय अधिवेशनमा प्रतिनिधिले देखाएको माया, विश्वास र सद्भावलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन्। आगामी दिनमा पनि नेपाली कांग्रेस र लोकतान्त्रिक मूल्य मान्यताप्रति निरन्तर समर्पित रहँदै यहाँहरूको विश्वासलाई सम्मान गर्ने उनले धारणा व्यक्त गरेका छन्।

अग्रजहरूको अनुभवलाई आत्मसात् गर्दै युवाको ऊर्जा, सोच र सक्रियतालाई संगठन सुदृढीकरणमा जोड्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

थापा गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीसमेत भइसकेका छन्। थापाले गण्डकी प्रदेशको सांसद हुँदादेखि प्रदेश सरकारबाट पाउने पारिश्रमिक एवम् अन्य सरकारी सेवा, सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन्।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १८ गते काठमाडौँमा सुरु हुँदै छ।

प्रकाशित: १६ असोज २०८३ १५:२६ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast