दाङ- नेपाल संस्कृत विश्वविद्यालयले शैक्षिक, प्राज्ञिक, अनुसन्धानात्मक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने भएको छ।
विश्वविद्यालयका विभिन्न अङ्ग–निकाय तथा महाशाखाका प्रमुखहरूसँग बिहीबार दाङमा भएको छलफलमा विश्वविद्यालयको समग्र संस्थागत सुधारका लागि अनुसन्धान, ग्रन्थ प्रकाशन, प्रविधिको प्रयोग, पुस्तकालय व्यवस्थापन र शिक्षण सिकाइलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालिएको हो।
उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडाको अध्यक्षतामा भएको छलफलमा शिक्षाध्यक्ष प्रा.डा. जगन्नाथ रेग्मी र कुलसचिव प्रा.डा. नवराज कट्टेलको उपस्थिति थियो। कार्यक्रममा केन्द्रीय कार्यालय परिसरअन्तर्गतका विभिन्न अङ्ग–निकाय तथा महाशाखाका प्रमुखहरूको सहभागिता थियो।
छलफलमा विश्वविद्यालयको वर्तमान शैक्षिक तथा प्रशासनिक अवस्था, कार्यसम्पादनका चुनौती, आपसी समन्वय, जिम्मेवारीको प्रभावकारी कार्यान्वयन तथा संस्थागत उन्नयनका उपायबारे विचारविमर्श भएको थियो।
विश्वविद्यालयको पुस्तकालयलाई आधुनिक, व्यवस्थित र स्रोतसम्पन्न बनाउने विषयलाई विशेष प्राथमिकता दिने निर्णय भएको छ। विद्यार्थी, शोधार्थी तथा प्राध्यापकका लागि आवश्यक शैक्षिक स्रोतसामग्री सहज रूपमा उपलब्ध गराउँदै पुस्तकालयलाई अध्ययन, अध्यापन र अनुसन्धानको प्रभावकारी आधारका रूपमा विकास गर्ने विषयमा जोड दिइएको छ।
त्यस्तै, विश्वविद्यालयको मौलिक प्राज्ञिक पहिचानलाई थप सुदृढ बनाउन अनुसन्धान, ग्रन्थ प्रकाशन र सम्पादनका कामलाई प्राथमिकता दिने निष्कर्ष निकालिएको छ। संस्कृत वाङ्मय, पूर्वीय ज्ञानपरम्परा तथा समसामयिक विषयमा अनुसन्धानको दायरा विस्तार गर्दै अनुसन्धानलाई गुणस्तरीय, उपयोगी र परिणाममुखी बनाउने विषयमा पनि छलफल भएको थियो।
शोधकार्य पूरा गरिसकेका शोधार्थीले भोगिरहेका समस्या तथा प्रक्रियागत जटिलता समाधानका लागि विश्वविद्यालयले आवश्यक पहल र सहजीकरण गर्ने भएको छ। शोधार्थीका समस्या पहिचान गरी सम्बन्धित निकायमार्फत यथाशीघ्र समाधान गर्ने वातावरण निर्माणमा जोड दिइएको छ।
विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक काममा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने, डिजिटल प्रणाली विस्तार गर्ने र कार्यालयीय कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउने विषयमा पनि छलफल भएको थियो।
पठनपाठन प्रक्रियालाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउँदै शिक्षण सिकाइका आधुनिक विधि तथा प्रविधिको प्रयोग बढाउने र विद्यार्थीको शैक्षिक उपलब्धिलाई केन्द्रमा राखेर शैक्षिक वातावरण सुधार गर्ने निष्कर्ष पनि निकालिएको छ। आयुर्वेद शिक्षण, अध्ययन र अनुसन्धानसँग सम्बन्धित गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई समेत प्राथमिकता दिइएको छ।
छलफलमा विश्वविद्यालयका सबै अङ्ग, निकाय र महाशाखाबीच प्रभावकारी समन्वय, सहकार्य तथा सूचना आदानप्रदान कायम गर्दै कार्यसम्पादनलाई चुस्त र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको थियो। सम्बन्धित पदाधिकारी तथा निकायले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने, भएका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र कार्यसम्पादनका समस्या समयमै पहिचान गरी समाधानका लागि पहल गर्नुपर्नेमा पनि जोड दिइएको थियो।
उपकुलपति खतिवडाले विश्वविद्यालयको समग्र विकासका लागि शैक्षिक उत्कृष्टता, अनुसन्धान विस्तार, ज्ञान–सिर्जना, ग्रन्थ प्रकाशन, प्रविधिको उपयोग तथा प्रभावकारी प्रशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए। विश्वविद्यालयको गरिमा र भविष्य निर्माणमा सबै अङ्ग–निकाय तथा कर्मचारीको समान जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जिम्मेवारी निष्ठा, अनुशासन र परिणाममुखी ढङ्गले सम्पादन गर्न आग्रह गरे।
छलफलले विश्वविद्यालयलाई गुणस्तरीय शिक्षा, अनुसन्धान, ज्ञान–सिर्जना, ग्रन्थ प्रकाशन तथा प्रविधिको समुचित प्रयोगमार्फत सशक्त प्राज्ञिक केन्द्रका रूपमा विकास गर्न आवश्यक कार्ययोजना तथा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने निष्कर्ष निकालेको छ।



