शिक्षकका सारथि रमेशबाबुको घोषणा- बाढीपीडितलाई शिक्षक सेवाको नि:शुल्क तयारी कक्षा

हिमाल प्रेस ९ असोज २०८३ ९:५३ | Friday, September 25, 2026
56
SHARES
शिक्षकका सारथि रमेशबाबुको घोषणा- बाढीपीडितलाई शिक्षक सेवाको नि:शुल्क तयारी कक्षा

काठमाडौँ- शिक्षक, शैक्षिक अभियन्ता तथा समाजसेवी रमेशबाबु भट्टराई पछिल्लो समय शिक्षकको हकहित र शिक्षा सुधारसँगै सामाजिक सेवामा समेत सक्रिय छन्।

शिक्षा क्षेत्रका समस्या उठाउनेदेखि विपत्तिमा परेका र अप्ठ्यारोमा परेका शिक्षक तथा नागरिकलाई सहयोग गर्ने उनको सक्रियतालाई सामाजिक क्षेत्रमा समेत सकारात्मक रूपमा हेरिएको छ।

गत वर्ष चैतमा राजधानी केन्द्रित शिक्षक आन्दोलनका क्रममा घाइते भएका शिक्षकहरूको उपचारमा भट्टराईले व्यक्तिगत रूपमा अस्पताल पुगेर सहयोग गरेका थिए।

आन्दोलनका क्रममा घाइते भएका शिक्षकहरूको उपचारका लागि उनले लाखौँ रुपैयाँ सहयोग गरेका थिए। त्यसबेला आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघ र तत्कालीन सरकारले अपेक्षित रूपमा चासो नदिएको अवस्थामा भट्टराईले घाइते शिक्षकको अवस्थाबारे जानकारी लिँदै उपचारमा सहयोग पुर्‍याएका थिए।

शिक्षक आन्दोलनमा घाइते भएकाहरूको उपचारमा अस्पतालमै पुगेर सहयोग गर्नुले शिक्षक समुदायप्रतिको उनको जिम्मेवारीबोध र मानवीय संवेदनशीलता देखाएको छ।

अधिकारका विषयमा आवाज उठाउने मात्र नभई अप्ठ्यारो अवस्थामा शिक्षकको साथमा उभिनुपर्ने मान्यतालाई उनले व्यवहारमै देखाएको उनका समर्थकहरूको भनाइ छ।

भट्टराईले पछिल्लो समय प्राकृतिक विपत्तिमा परेका शिक्षक तथा परिवारका लागि पनि सहयोगको घोषणा गरेका छन्।

गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीका कारण घरबारविहीन भएका शिक्षकहरूलाई शिक्षक सेवा आयोगअन्तर्गतका तयारी कक्षा नि:शुल्क उपलब्ध गराउने उनले घोषणा गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत प्रमाणसहित सम्पर्क गर्ने बाढीपीडित शिक्षकलाई युनियन एजुकेसनमार्फत शिक्षक सेवा आयोगका तयारी कक्षा निःशुल्क उपलब्ध गराउने बताएका छन्। भट्टराई युनियन एजुकेसनका निर्देशक हुन्। पार्टीगत राजनीतिले शिक्षा क्षेत्र थिलथिलो भएकाले स्वतन्त्र रूपमा निरन्तर समाजसेवामा केन्द्रित रहने पनि उनले बताएका छन्।

विपत्तिका कारण आर्थिक तथा भौतिक रूपमा प्रभावित शिक्षकलाई भविष्यको रोजगारी र करिअर निर्माणमा समेत सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो घोषणा गरिएको हो।

शिक्षकको पेसागत विकासलाई आर्थिक अवस्थासँग जोडेर अवसरबाट वञ्चित हुन नदिन गरिएको यो पहललाई शिक्षा क्षेत्रमा सहयोग र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिन सकिने देखिन्छ।

विपत्तिमा परेका शिक्षकलाई तत्काल राहतसँगै भविष्य निर्माणका लागि शैक्षिक अवसर उपलब्ध गराउने प्रयासले उनको अभियानलाई थप अर्थपूर्ण बनाएको छ।

भट्टराई शिक्षा सुधार, शिक्षक अधिकार र शिक्षण पेसाको गरिमा संरक्षणका विषयमा पनि निरन्तर सक्रिय रहँदै आएका छन्।

शिक्षा नीति, शिक्षकका सेवासुविधा, प्रोत्साहन भत्ता, सरुवा व्यवस्था तथा शिक्षक पेसाको सामाजिक सम्मानका विषयमा उनले विभिन्न समयमा आवाज उठाउँदै आएका छन्।

शिक्षकका समस्या र अधिकारका विषयमा सार्वजनिक बहस सिर्जना गर्नेदेखि कठिन अवस्थामा शिक्षकको साथमा उभिने उनको सक्रियताले उनलाई शिक्षा क्षेत्रका सक्रिय अभियन्ताका रूपमा स्थापित गर्दै गएको छ।

प्रकाशित: ९ असोज २०८३ ९:५३ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast