काठमाडौँ- जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलंकालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि ३४–२५ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो। यस जितसँगै नेपाली महिला टोलीले कबड्डीमा पदक जित्ने निश्चित भएको छ।
यसअघि चिनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाली महिला टोलीले कास्य पदक जितेको थियो।
खेलको पहिलो हाफमा १९–१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५–१२ ले अघि रहँदै समग्रमा मलेसियामाथि ३४–२५ ले जित निकाल्न सफल भयो।
समूह ‘बी’ मा रहेको नेपालले यसअघि थाइल्यान्डलाई हराएको थियो भने नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो। समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनल प्रवेश गरेको छ।
त्यसैगरी, बिहीबार नै भएको पुरुष कबड्डी खेलमा पनि नेपालले मलेसियामाथि जित हासिल गरेको थियो। समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३–५२ को जित हासिल गरेको हो।
नेपालले खेलको पहिलो हाफमै ३७–२१ को स्कोर बनाएको थियो। त्यस्तै खेलको दोस्रो हाफमा नेपालले मलेसियामाथि ३६–३१ अगाडि रहँदै समग्रमा २१ अंकले जित हासिल गर्यो।
यो नेपाली पुरुष टोलीको सान्त्वना जित हो। यसअघि नेपाल लगातार तीन खेलमा पराजित भएसँगै नेपाली पुरुष टोली प्रतियोगिताबाट बाहिरिएको छ।



