मकवानपुर- भारी वर्षा र प्रतिकूल मौसमका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार असोज ८ देखि १० गतेसम्म ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै असोज ८ र ९ गते सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको हो।
शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तका अनुसार प्रधानाध्यापकहरूको बैठकले शिक्षक र विद्यार्थीको आवतजावत तथा सुरक्षामा जोखिम बढ्न सक्ने निष्कर्षसहित दुई दिन बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाले बिदाका कारण प्रभावित हुने दुई कार्यदिन विद्यालयको वार्षिक शैक्षिक कार्यतालिकामा रहेका अन्य बिदाबाट समायोजन गर्न निर्देशन दिएको छ। समायोजन गर्दा विद्यार्थीको सिकाइ उपलब्धि र तोकिएको वार्षिक कार्यदिनमा असर नपर्ने व्यवस्था मिलाउन पनि भनिएको छ।
यस्तै, मौसमको अवस्था र स्थानीय परिस्थितिलाई ध्यानमा राख्दै विद्यालयका भौतिक संरचना, विद्यार्थी र शिक्षकको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन सबै प्रधानाध्यापक तथा विद्यालय प्रशासनलाई आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले असोज ८ देखि १२ गतेसम्म बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भनावना रहेको जनाएको छ।


