चितवन- पृथ्वी राजमार्गको कृष्णभीरलगायत स्थानमा सडक भासिएर अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट हुने उडान दोब्बरभन्दा बढी गरिएको छ ।
भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान सङ्ख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्याइएको छ ।
भरतपुर–काठमाडौँमा ‘एटिआर ७२’ जहाज सञ्चालन हुन्छ । यसले काठमाडौँबाट आउँदा ६५ देखि ७० र भरतपुरबाट काठमाडौँ जाँदा करिब ५० यात्रु बोक्ने गरेको छ । जहाजको क्षमता ७२ जना भए पनि धावनमार्ग छोटो भएकाले क्षमताअनुसार यात्रु बोक्न नसक्ने जनाइएको छ ।
कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ जाने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । तर वर्षायाममा सडकको अवस्था असहज रहेकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन् ।
भरतपुरमा चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन् । यात्रुको चापलाई मध्यनजर गर्दै उडान सङ्ख्या बढाएर सहजीकरण गरिएको एयरलाइन्सले जनाएको छ ।


