काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व गुमाएको शेरबहादुर देउवा समूहभित्रै रणनीतिक अन्योल देखिन थालेको छ। देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलासम्म विशेष महाधिवेशनविरुद्ध आक्रामक देखिएका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का त्यसयता निष्क्रिय बनेपछि अन्योल देखिएको हो।
साउन अन्तिम साता भएको राष्ट्रिय भेलामा विशेष महाधिवेशनका पक्षधरविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका खड्का पछिल्लो समय कुनै पनि गतिविधिमा सहभागी भएका छैनन्।
अन्तिमपटक राष्ट्रिय भेलामा देखिएका उनले गगन थापा र विश्वप्रकाश शर्माले सहमति गरेर पनि विशेष महाधिवेशन गरेको आरोप लगाएका थिए। उनले विशेष महाधिवेशन अवैधानिक रहेको समेत बताएका थिए।
त्यसपछि देउवा पक्षको कुनै पनि बैठक र कार्यक्रमहरूमा खड्का सहभागी भएका छैनन्। यहाँसम्म कि पार्टीको महाधिवेशनको कार्यतालिका पेस भएको बुधबारको बैठकमा पनि उनी पुगेनन्।
निवर्तमान सभापति शेरबहादुर देउवाको ‘विश्वासपात्र’ मानिने खड्का आफ्नै समूहका नेताहरूसँग यतिबेला दूरी बढाउन थालेका छन्।
खड्का पछिल्लो समय पार्टी सभापति गगन थापासँग नजिकएको कांग्रेसका नेताहरू बताउँछन्। अहिलेको संस्थापन (गगन) समूहमै बसेर १५ औँ महाधिवेशनमा भाग लिने रणनीतिमा खड्का पुगेको नेताहरूको भनाइ छ। खड्का महाधिवेशनमा गगनविरुद्ध सभापतिमा लड्ने र जित्न नसके वरिष्ठ नेता बन्ने रणनीतिमा उनी रहेको नेताहरू बताउँछन्।
‘पूर्णबहादुर दाइ पछिल्लो समय निष्क्रिय देखिएको कुरा सही हो। राष्ट्रिय भेलापछि उहाँ कुनै पनि कार्यक्रममा सहभागी हुनुभएको छैन,’ देउवा पक्षका एक नेताले भने, ‘राष्ट्रिय भेलापछि अर्को पार्टी बनाउँदिनँ भन्नुभयो, समानान्तर गतिविधि गर्न पनि पछि हट्नुभयो। उहाँको नेतृत्व क्षमतामा समस्या देखियो।’
निवर्तमान सभापति देउवा आफैँ सहभागी भएको राष्ट्रिय भेलाले नेता शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन तयारी समिति बनाउने निर्णय गरेको थियो। यो निर्णयप्रति खड्का असहमत देखिएका थिए। कतिपय नेताहरू शशांकलाई महाधिवेशनको तयारीकाे जिम्मेवारी दिएपछि खड्का असन्तुष्ट बनेको बताउँछन्।
देउवापक्षीय ती नेता शशांकलाई जिम्मेवारी दिनुपर्ने बाध्यता रहेको बताउँछन्। खड्काले राष्ट्रिय भेलापछि तटस्थ बस्छु भनेपछि शशांकलाई महाधिवेशनको तयारी गर्न जिम्मेवारी दिइएको उनको भनाइ छ।
‘शशांकलाई जिम्मेवारी दिनुपर्ने बाध्यता आयो,’ ती नेता भन्छन्, ‘पूर्णबहादुर दाइले राष्ट्रिय भेलापछि तटस्थ बस्छु भनेपछि शेखर दाइको सल्लाहमा शशांकलाई जिम्मेवारी दिनुपरेको हो।’
पार्टी आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिएपछि निवर्तमान उपसभापति खड्का पार्टीको आधिकारिकता आफूहरूतिर आउनेमा ढुक्क थिए। आधिकारिकता विवाद पुनरवलोकन गर्ने सर्वोच्चको आदेशपछि हौसिएका उनी राष्ट्रिय भेलामा सहभागी भएर आक्रामक ढंगबाट प्रस्तुत भए।
तर आफ्नो पक्षमा फैसला आएको अवस्थामा छुट्टै पार्टी बनाएर अघि बढ्न खड्काले खुट्टा कमाएको नेताहरू बताउँछन्। देउवापक्षीय अर्को एक नेताले २०५९ सालमा रामचन्द्र पौडेल (हालका राष्ट्रपति) ले गरेको कार्यसँग उनको तुलना गरे।
‘अप्ठ्यारो पर्दा पार्टी निर्माण गरेर जान सक्नेमा उहाँको आत्मविश्वास देखिएन,’ ती नेता भन्छन्, ‘रामचन्द्र पौडेलले २०५९ सालको बानेश्वर भेलामा पार्टी फुटाउन देउवालाई साथ दिन भन्दै देशभरका कार्यकर्तालाई बोलाउनुभयो अनि आफू गिरिजाबाुसँग मिल्नुभयो। अहिले पूर्णबहादुर दाइले त्यस्तै गर्नुभएको छ। उहाँले कसैलाई पनि क्रियाशील अद्यावधिक नगर, सबैको जिम्मा म लिन्छु भन्नुभयो, आफूचाहिँ अद्यावधिक गर्नेतिर लाग्नुभयो।’
देउवाले कार्यवाहक सभापतिको जिम्मेवारीसमेत दिएका खड्का निष्क्रिय बन्दै पछि हटेपछि गुटका नेता–कार्यकर्ताहरूले ‘धोका’ का रूपमा हेर्न थालेका छन्। क्रियाशील अद्यावधिक गर्नबाट रोक्न लगाएर यतिबेला आफैँ विशेष महाधिवेशन पक्षधर समूहसँग नजिकिएर खड्काले विश्वासघात गरेको बुझाइ उनीहरूको छ।
‘उल्टोउल्टो कुरा गरिरहनुभएको छ भनेर प्रश्न गर्दा म अर्को पार्टी बनाउँदिनँ, म सभापति पनि लड्दिनँ, गगनका विरुद्ध जो लड्छ त्यसलाई सघाउँछु भन्नुभएको छ,’ देउवानिकट ती नेताले भने।
देउवा समूहका प्रचार समितिका संयोजक मीन विश्वकर्मा पनि पछिल्लो समय निवर्तमान सभापति खड्का समानान्तर कार्यक्रमहरूमा सक्रिय नभएको स्वीकार गर्छन्। राष्ट्रिय भेलासम्म सक्रिय देखिए पनि त्यसयता नेता खड्का पार्टीका कार्यक्रमहरूमा सहभागी नभएको विश्वकर्माले बताए।
‘आधिकारिकतासम्बन्धी विवादमा उहाँ अदालतमा भएकाले झनै समानान्तर गतिविधि गर्नुपर्ने हो, अरू गतिविधि गर्न नचाहेर तटस्थ बस्न खोज्नुभएको हो कि जस्तो लागेको छ,’ विश्वकर्मा भन्छन्, ‘पुनरवलोकनबाट फैसला हाम्रैतिर आइहाल्छ भनेर राष्ट्रिय भेलामा आउनुभयो। राष्ट्रिय भेलाबाट तयारी समिति बनिसकेपछि उहाँको असहमति देखियो।’
कांग्रेसका तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन गरिरहँदा खड्का नियमित महाधिवेशनको अडानमा थिए।
विशेष महाधिवेशन रोक्ने अनेक प्रयास गरे पनि खड्कासहित शेरबहादुर देउवापक्षीय नेताहरूले सकेनन्। विशेष महाधिवेशनबाट गगनको नेतृत्वमा कांग्रेसले नयाँ कार्यसमिति चयन गर्यो। त्यसयता खड्कासहितका नेताहरू निरन्तर विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिविरूद्ध उभिए।
विशेष महाधिवेशनका पक्षमा निर्वाचन आयोगले निर्णय गरेपछि खड्का त्यसलाई प्रतिवाद गर्न रिट लिएर सर्वोच्च पुगेका थिए।
सर्वोच्चले पनि गगनहरूकै पक्षमा फैसला गरेपछि पुनरवलोकनको निस्सा माग्दै उनी पुनः सर्वोच्च पुगे। सर्वोच्चले पार्टी आधिकारिकताको विवादमा पुनः सुरुदेखि सुनुवाइ गर्ने आदेश दिएपछि हौसिएका खड्का आफ्नो समूहबाट भइरहेका समानान्तर गतिविधिबाट पछि हट्न थालेका छन्।
‘सुरुमा मुद्दा हाल्न जानुभयो, हामी आधिकारिक हौँ भन्नुभयो, त्यसपछि अदालतबाट गगनजीहरू जित्नुभयो बधाई दिनुभयो। सँगसँगै क्रियाशील अद्यावधिक नगर भनेर कार्यकर्ताहरूलाई भन्नुभयो,’ देउवानिकट ती नेता भन्छन्, ‘गगनहरूको विरोधमा वैकल्पिक कार्यक्रम गर्न लगाउनुभयो। बीपी दिवस, प्रदेश भेला समानान्तर भयो, राष्ट्रिय भेला पनि गर्नुभयो। राष्ट्रिय भेलापछि अर्को पार्टी बनाउँदिनँ भन्नुभयो। उहाँ पछिल्लो समय समानान्तर गतिविधि गर्न पछि हट्नुभयो।’
आफ्नो समूहबाट दूरी बनाएका खड्का पछिल्लो समय पार्टी सभापति गगनसँग निरन्तर सम्पर्कमा छन्। दुवै जनाबीच दिनहुँ जसो छलफल भइरहेको कांग्रेस स्रोतको भनाइ छ।
‘पार्टीमा विवाद सुरु भएपछि गगन र विश्वजीले हाम्रो समूहबाट उहाँ (पूर्णबहादुर खड्का) सँग मात्रै छलफल गर्नुभएको त हो नि,’ स्रोतले भन्यो।
संस्थापन पक्षले महाधिवेशनको तयारी अगाडि बढाइरहेकै बेला देउवा समूहले समेत १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएपछि कांग्रेस विभाजन उन्मुख भएको नेताहरूकै भनाइ छ। समानान्तर गतिविधि चलिरहेकै बेला महाधिवेशनकै छुट्टाछुट्टै कार्यक्रम आइसकेपछि पार्टी फुटबाट धेरै टाढा नरहेको कांग्रेस नेताहरू बताउँछन्।
देउवा समूहका प्रचार समिति संयोजक विश्वकर्मा महाधिवेशनका कार्यक्रम रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपछि आफूहरूले पनि कार्यतालिका ल्याएको बताउँछन्।
‘अदालतले कसैलाई रोक्नु पर्दैन भनेपछि एक पक्षलाई मात्रै गर्न दिने कुरा भएन हामीले पनि गर्नुपर्छ भनेर १४ औँ महाधिवेशनबाट निर्वाचित नियमित महाधिवेशन पक्षधरले १५ औँ महाधिवेशनको प्रस्ताव आएको हो,’ उनले भने।
पार्टी अहिले पनि विवादित रहेको बताउँदै फुट्ने-नफुट्ने सर्वोच्चको फैसलापछि मात्रै टुंगो लाग्ने उल्लेख गरे। ‘अदालतको फैसला भएर जसको पक्षमा आउँछ, उहाँले मिलाउने कोसिस गर्नुपर्छ, मिलाउने कोसिस गर्नुभएन भने पार्टी स्वाभाविक हिसाबले दुईवटा हुने भयो,’ उनी भन्छन्, ‘अहिले केन्द्रीय कार्यसमितिसम्म मात्रै थियो भने प्रदेश, जिल्ला, स्थानीय तहसम्म दुईवटा हुँदै जाने भए।’



