काठमाडौँ- फिफाका अध्यक्ष जियानी इन्फान्टिनोका विरोधीहरूले उनी पदबाट नहटेसम्म विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई असहयोग गर्ने चेतावनी दिएका छन्। युरोपेली फुटबल महासंघ (यूईएफए) का स्रोतहरूका अनुसार फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई स्वामित्वको हिस्सा बेच्ने योजना असफल भएपछि इन्फान्टिनोविरुद्धको असन्तुष्टि अझ बनेको हो।
विद्रोहमा संलग्न केही अधिकारीहरूले इन्फान्टिनो रहुन्जेल अब पछाडि फर्किने अवस्था छैन भन्दै उनी पदमा रहँदासम्म फिफाका बैठकहरूमा सहभागी नहुने सम्भावना रहेको बताएका छन्।
यसअघि यूईएफएले उक्त योजनाविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिइसकेको छ। वेल्सले इन्फान्टिनोको चौथो कार्यकालका लागि समर्थन फिर्ता लिएको छ भने इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) ले पनि त्यसै गर्ने तयारी गरेको छ।
आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनमा इन्फान्टिनो अन्तिम कार्यकालका लागि पुनः उम्मेदवार बन्ने तयारीमा छन्। जितका लागि उनलाई फिफाका २११ सदस्य राष्ट्रमध्ये कम्तीमा १०६ मत आवश्यक पर्नेछ।
बीबीसी स्पोर्टका अनुसार स्कटल्यान्ड फुटबल एसोसिएसन को धारणा पनि यूईएफएको जस्तै रहेको छ र इन्फान्टिनोप्रति विश्वास नरहेको संकेत दिएको छ।
यसअघि नै यूईएफए तथा उत्तर, मध्य अमेरिका र क्यारेबियन फुटबल महासंघ (कन्काकाफ) ले संयुक्त रूपमा इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न उठाएका थिए। अहिले सर्बिया, स्विडेन र फिनल्यान्ड ले पनि समर्थन फिर्ता लिएका छन्।
मोरक्को, कतार, लेबनान, कुवेत र श्रीलका लगायतका देशहरूले भने इन्फान्टिनोको नेतृत्वलाई निरन्तर समर्थन गर्ने घोषणा गरेका छन्।
फिफामा यूईएफएका ५५, अफ्रिकाका ५४, एसियाका ४६, कन्काकाफका ३५, ओसियानियाका ११ र दक्षिण अमेरिकी महासंघ (कोन्मेबोल) का १० मत छन्।
एसियाली फुटबल महासंघ (एएफसी) ले यूईएफए र कन्काकाफप्रति ऐक्यबद्धता जनाएको छ। तर अफ्रिका, कोन्मेबोल र ओसियानियाले इन्फान्टिनोको योजनाको सार्वजनिक आलोचना गरेका छैनन्।
फिफा काउन्सिलले आपत्कालीन बैठक बोलाएर इन्फान्टिनोलाई राजीनामा दिन दबाब दिन सक्ने सम्भावना पनि छ। यस्तो बैठक बोलाउन ३७ सदस्यीय फिफा काउन्सिलमध्ये कम्तीमा १९ सदस्यको माग आवश्यक हुन्छ र बैठक दुई साताभित्र बस्नुपर्ने व्यवस्था छ।
फिफा काउन्सिलमा यूईएफएका ९, एएफसीका ७, कन्काकाफका ५, अफ्रिकाका ६, कोन्मेबोलका ५, ओसियानियाका ३ सदस्य छन्। अध्यक्ष इन्फान्टिनो र महासचिव माटियास ग्राफस्ट्रोम पनि सदस्य हुन्।
इन्फान्टिनो र फिफाले फिफा फरवार्ड इन्टरप्राइज नामक नयाँ व्यावसायिक सहायक कम्पनी स्थापना गरी विश्वकपसहितका प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने र त्यसमा बाह्य लगानीकर्तालाई अल्पसंख्यक (नियन्त्रणविहीन) स्वामित्व दिने योजना अघि सारेका थिए।
फिफाले तेस्रो पक्षलाई उक्त कम्पनीमा अल्पसंख्यक लगानी गर्न निमन्त्रणा दिने जनाएको थियो। द टेलिग्राफले पहिलो पटक सार्वजनिक गरेको पत्रमा यूईएफएले इन्फान्टिनोलाई एफएफई योजनासम्बन्धी कानुनी कारबाही, मध्यस्थता वा नियामकीय उजुरी दर्ता गर्ने विषय सक्रिय रूपमा विचार गरिरहेको जनाएको थियो।


