कोलम्बियाका समर्थकहरू खुसीयाली मनाउँदै। यो दृश्य मेक्सिकोको ग्वाडालाहारानजिकैको जापोपानमा मंगलबार खिचिएको हो। तस्बिर : एपी/रासस
सन् २०२६ को फिफा विश्वकपको पहिलो चरण अब इतिहास बनिसकेको छ, त्यो साँच्चै रोमाञ्चक रह्यो। नयाँ–नयाँ कीर्तिमान बने। कमजोर मानिएका टोलीहरूले चामत्कारिक प्रदर्शन गरे। गोल्डेन बुटको प्रतिस्पर्धा ऐतिहासिक बन्यो। यसबीच केही विवाद पनि देखिए।
सुपरकम्प्युटरका भविष्यवाणीहरूलाई पनि वास्तविक नतिजाले गलत साबित गरिदिए।
अब सुरु हुँदै छ शुद्ध नकआउट प्रतिस्पर्धा, जहाँ विश्व फुटबलका सबै ठूला टोली, केही ‘डार्क हर्स’ र दुईचार परीकथाजस्ता यात्राले स्थान बनाएका छन्।
जुलाई १९ मा हुने फाइनलसम्म पुग्ने यात्रामा अन्तिम ३२ टोलीबीचका १६ खेलमा अनेक रोचक कथा, प्रतिस्पर्धा र भिडन्त छन्। यहाँ प्रत्येक खेल किन हेर्नलायक छ भन्ने कारण प्रस्तुत गरिएको छ।
असार १५
दक्षिण अफ्रिकाविरुद्ध क्यानडा (राति १२:४५ बजे)
यी दुवै राष्ट्रका लागि यो पूर्ण रूपमा नयाँ अनुभव हो। यसअघि उनीहरू कहिल्यै विश्वकपको नकआउट चरणमा पुगेका थिएनन्। क्यानडाले घरेलु मैदान छाडिसके पनि लस एन्जलससम्म ठूलो संख्यामा समर्थक पुग्ने अपेक्षा गरिएको छ।
ब्राजिलविरुद्ध जापान (राति १०:४५ बजे)
‘सेलेसाओ’ र ‘समुराई ब्लु’बीचको यो भिडन्त विश्वकपकै क्लासिक खेलजस्तो देखिन्छ। गत अक्टोबरमा जापानले पाँचपटकको विश्वविजेता ब्राजिललाई ३–२ ले हराएको थियो। अब २० वर्षअघि २००६ को समूह चरणमा बेहोरेको ४–१ को हारको बदला लिने लक्ष्य पनि उनीहरूसँग हुनेछ।
असार १६
जर्मनीविरुद्ध पाराग्वे (बिहान ०२:१५ बजे)
सन् २००२ को अन्तिम १६ मा १–० ले जर्मनीसँग पराजित भएको बदला लिन पाराग्वे मैदान उत्रिनेछ। यस खेलको विजेताले अर्को चरणमा फ्रान्ससँग भिड्नुपर्ने सम्भावना पनि छ।
नेदरल्यान्ड्सविरुद्ध मोरक्को (बिहान ०६:४५ बजे)
यो सम्भवतः यस चरणकै सबैभन्दा आकर्षक खेल हुन सक्छ। प्रतियोगिताको उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सको सामना चार वर्षअघि सेमिफाइनल पुगेको मोरक्कोसँग हुनेछ। मोरक्कोले हालै १८ वर्षीय प्रतिभाशाली मिडफिल्डर अय्युब बुआद्दीलाई टोलीमा समावेश गरेको छ।
आइभोरी कोस्टविरुद्ध नर्वे (राति १०:४५ बजे)
एकातिर एर्लिङ हालान्ड, अर्कोतिर छनोट चरणका १० खेलमा एक गोल पनि नखाएको आइभोरी कोस्टको रक्षापंक्ति। एउटा कुरा भने निश्चित छ- डलासमा नर्वेका समर्थकहरू आफ्नो चर्चित ‘भाइकिङ रोइङ’ शैलीमा टोलीलाई समर्थन गरिरहेका हुनेछन्।
असार १७
फ्रान्सविरुद्ध स्विडेन (बिहान ०२:४५ बजे)
फ्रान्सको आक्रमणपंक्तिको शक्ति सबैलाई थाहा छ। तर यस खेलको सबैभन्दा रोचक द्वन्द्व भने अर्कै हुनेछ- भिक्टर ग्योकेरेस बनाम उनका आर्सनल सहकर्मी विलियम सालिबा। यी दुई प्रिमियर लिग च्याम्पियनमध्ये कसले बाजी मार्ला?
मेक्सिकोविरुद्ध इक्वेडर (बिहान ०६:४५ बजे)
एज्टेका रंगशालामा मेक्सिकोको खेल हेर्न बिहानै उठ्नु सार्थक हुनेछ। साथै सम्भावित अन्तिम १६ मा इंग्ल्यान्डले सामना गर्न सक्ने टोलीबारे ‘स्काउटिङ रिपोर्ट’ तपाईंले बिहानको खाजा खानुअघि नै तयार गर्न सक्नुहुन्छ।
इंग्ल्यान्डविरुद्ध डीआर कंगो (राति ०९:४५ बजे)
थोमस टुखेलको टोलीको कुरा गर्दा यो खेल इंग्ल्यान्डको यस प्रतियोगिताको एकमात्र परिवारमैत्री समयको किकअफ हो।
असार १८
बेल्जियमविरुद्ध सेनेगल (बिहान ०१:४५ बजे)
दुवै टोलीले समूह चरणको उत्कृष्ट प्रदर्शन अन्तिम खेलका लागि जोगाएर राखेका थिए। बेल्जियमको ‘स्वर्णिम पुस्ता’मा अझै पनि चमक बाँकी रहेको संकेत देखिएको छ। उता आधिकारिक रूपमा सबैभन्दा कमजोर तेस्रो स्थानको टोली मानिएको सेनेगलले पनि फ्रान्स, नर्वे र इराकविरुद्धका खेलमा आठ गोल गरेको थियो। टोलीभित्रका बाह्य विवाद पनि अब समाधान भइसकेका देखिन्छन्।
अमेरिका विरुद्ध बोस्निया–हर्जेगोभिना (बिहान ०५:४५ बजे)
सहआयोजक अमेरिका अन्तिम औपचारिक समूह खेलमा टर्कीसँग साँघुरो हार बेहोरे पनि आत्मविश्वासका साथ सान फ्रान्सिस्को बे क्षेत्रमा उत्रिनेछ। बोस्नियाले मार्चमा इटालीलाई पछि पार्दै छनोट त गरेको थियो, तर समूह चरणमा भने प्रभाव जमाउन सकेन।
असार १९
स्पेनविरुद्ध अस्ट्रिया (राति १२:४५ बजे)
यो खेल शैली र शारीरिक क्षमताबीचको रोचक भिडन्त हुन सक्छ। चोटमुक्त भएका लामिन यामालसहित युरोपियन च्याम्पियन स्पेनको सामना अपेक्षाकृत् प्रत्यक्ष शैलीमा खेल्ने अस्ट्रियासँग हुनेछ, जसले आफ्नो अन्तिम खेलको अन्तिम क्षणमा मात्र नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो।
पोर्चुगलविरुद्ध क्रोएसिया (बिहान ०४:४५ बजे)
के यो अन्तिम नृत्य हो? सम्भवतः ४० वर्षीय लुका मोड्रिच वा ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोलाई अब चार वर्षपछि हुने अर्को विश्वकपमा देख्न पाइने छैन। त्यसैले शुक्रबार बिहानसम्ममा यीमध्ये एक खेलाडीको विश्वकप यात्रा समाप्त हुने सम्भावना छ।
स्विट्जरल्यान्डविरुद्ध अल्जेरिया (बिहान ०८:४५ बजे)
१३ विश्वकप सहभागिता, तर केवल चारपटक मात्र समूह चरणबाट बाहिरिएको स्विट्जरल्यान्ड सधैँ प्रतिस्पर्धी टोलीका रूपमा देखिन्छ। तर यसपटक उसले नकआउट चरणमा आठौँ प्रयासमा पहिलो जित खोज्दै छ। उता अल्जेरियासँग २० वर्षीय इब्राहिम माजा छन्, जसलाई उनको असाधारण प्रतिभाका कारण ‘माजाडोना’ भनेर चिनिन्छ।
अस्ट्रेलियाविरुद्ध इजिप्ट (राति १०:४५ बजे)
मोहम्मद सलाह इजिप्टका सर्वाधिक गोलकर्ताको कीर्तिमान नजिक छन्। अझ रोचक कुरा जसको कीर्तिमान तोड्ने प्रयास उनी गरिरहेका छन्— होसाम हसन—उनै अहिले इजिप्टका प्रशिक्षक हुन्। पछिल्लो खेलमा सलाह कीर्तिमान बराबरी गर्न एक गोल मात्र टाढा हुँदा पनि प्रशिक्षक हसनले दोस्रो हाफ सुरु भएको १२ मिनेटमै उनलाई मैदानबाट बाहिर निकालेका थिए।
असार २०
अर्जेन्टिनाविरुद्ध केप भर्डे (बिहान ०३:४५ बजे)
६ गोल गरिसकेका लियोनेल मेस्सी र ४० वर्षीय केप भर्डेका गोलरक्षक भोजिन्हाबीचको भिडन्त कागजमा हेर्दा प्रतियोगिताकै सबैभन्दा असमान प्रतिस्पर्धा जस्तो देखिन सक्छ। तर अनुभवी गोलरक्षक भोजिन्हाले यस प्रतियोगितामा दुई खेलमा ‘क्लिन सिट’ राखिसकेका छन् र आफ्ना देशका राष्ट्रिय नायक बनेका छन्।
कोलम्बियाविरुद्ध घाना (बिहान ०६:१५ बजे)
विश्वकपका दृश्य र वातावरण सधैँ विशेष हुन्छन् र क्यान्सस सिटीमा हुने यो खेलले तपाईँका अधिकांश इन्द्रियलाई रोमाञ्चित बनाउनेछ। कोलम्बियाका खेलहरूमा पहेँलो पहिरनमा रंगिएका हजारौँ समर्थकले रंगशाला भरिरहेका छन् र राष्ट्रिय गान एकस्वरमा गाइरहेका छन्। उता घानाका समर्थकले पनि त्यत्तिकै जोसपूर्ण वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। बीबीसीबाट




