तयारी नपुगेकाले सर्‍यो शिक्षक महासंघको परिषद्, विधान संशोधनका लागि सुझाव माग

हिमाल प्रेस २५ असार २०८३ १०:४७ | Thursday, July 9, 2026
150
SHARES
तयारी नपुगेकाले सर्‍यो शिक्षक महासंघको परिषद्, विधान संशोधनका लागि सुझाव माग

काठमाडौँ- नेपाल शिक्षक महासंघले आफ्नो तेस्रो राष्ट्रिय परिषद् पूर्वनिर्धारित मितिबाट सार्दै आगामी साउन १६ र १७ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ।

महासंघका महासचिव तुलाबहादुर थापाद्वारा जारी परिपत्रअनुसार असार २४ गते बसेको विस्तारित कार्यालयीय बैठकले आन्तरिक तयारीमा ढिलाइ भएका कारण यसअघि साउन २ र ३ गतेका लागि तय गरिएको परिषद् स्थगित गरी नयाँ मिति निर्धारण गरेको हो।

महासंघले परिषद् अघि विधानअनुसार सम्पन्न हुन बाँकी रहेका जिल्लाका जिल्ला परिषद् तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ। राष्ट्रिय परिषद्‌बाट समयानुकूल विधान संशोधन गरिने भएकाले संशोधनसम्बन्धी सुझाव लिखित रूपमा राष्ट्रिय समितिमा पठाउन पनि आग्रह गरिएको छ।

परिपत्रअनुसार प्रत्येक जिल्लाबाट अध्यक्षसहित चार जना प्रतिनिधि राष्ट्रिय परिषद्‌मा सहभागी गराउनुपर्नेछ। प्रतिनिधि छनोट गर्दा फरक-फरक आबद्ध संस्थाबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ।

महासंघले परिषद्‌मा सहभागी हुने प्रत्येक जिल्लाबाट संस्थागत रूपमा ६ हजार रुपैयाँ सहभागिता शुल्क तथा महासंघको मुखपत्र ‘महासंघ सन्देश’ प्रकाशनका लागि ५ हजार रुपैयाँ सहयोग रकम बुझाउनुपर्ने जनाएको छ। विधानअनुसारको सदस्यता शुल्क पनि अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको छ।

जिल्लाको आधिकारिक प्रतिनिधिबाहेक परिषद्‌मा सहभागी हुने अन्य सदस्यका लागि प्रति व्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ।

परिपत्रमा समिति गठन हुन बाँकी रहेका जिल्लामा गठन प्रक्रिया सम्पन्न गर्न तथा सबै जिल्ला समितिले आफ्नो कार्यसमितिको नामावली राष्ट्रिय समिति र प्रकाशन समितिको इमेलमा पठाउन पनि निर्देशन दिइएको छ।

प्रकाशित: २५ असार २०८३ १०:४७ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast