काठमाडौँ- नेपाल शिक्षक महासंघ काठमाडौँ जिल्ला कार्यसमितिको पहिलो बैठकले शिक्षकको पेसागत विकास, शैक्षिक गुणस्तर अभिवृद्धि र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै वार्षिक कार्ययोजना तयार गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको बैठकले शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि गर्दै विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न विभिन्न अतिरिक्त शैक्षिक गतिविधि सञ्चालन गर्ने तथा महासंघका संगठनात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको हो।
बैठकले काठमाडौँ जिल्लाका सबै स्थानीय तहमा महासंघको संगठन विस्तार गरी पालिका तहमा महासंघ गठन गर्ने र त्यसमार्फत विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिएको छ।
यस्तै, शिक्षा विकास तथा समन्वय इकाईसँग आवश्यक समन्वय र सहकार्य गर्दै सरकारले सञ्चालन गर्ने शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने निर्णय गरिएको महासंघले जनाएको छ।
बैठकमा महासंघका पदाधिकारीहरूले शिक्षकको पेसागत हकहित संरक्षणसँगै गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि सबै शिक्षक एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
वार्षिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षक, विद्यालय र समुदायबीचको सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।




