जहाँबाट उठ्यो रास्वपाको लहर, त्यहीँ हुँदै छ पहिलो महाधिवेशन

हिमाल प्रेस ५ असार २०८३ २१:४५ | Friday, June 19, 2026
16
SHARES
जहाँबाट उठ्यो रास्वपाको लहर, त्यहीँ हुँदै छ पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि र पाहुनाको स्वागतका लागि निर्माण गरिएको स्वागतद्वार। तस्बिर : रासस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनलाई आफ्नो उद्गम थलोका रूपमा मान्दै आएको छ। पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आएका छन्।

पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन। तर निर्वाचनका हिसाबले सभापति लामिछानेमात्र नभई चितवन रास्वपाकै आधार क्षेत्र बनेको छ। प्रवासमा रहेर पनि नेपालमा हुने रास्वपाका हरेक गतिविधिमा प्रत्यक्ष सहभागी हुँदै आएका चितवन निवासी कृष्ण रेग्मी चितवनलाई रास्वपाको उद्गम थलो मान्छन्।

रेग्मीले घटना विशेषका कारण हिरासतमा बस्दै गर्दा चितवनवासीले सभापति लामिछानेप्रति देखाएको सहानुभूति उनका लागि प्रेरणाको स्रोत बनेको बताए। आफ्नो पक्षमा सिंगो चितवनवासी सडकमा निस्किएको घटनालाई सभापति लामिछानेले बिर्सन सकेका छैनन्।

हिरासतमुक्त भएपछि उर्लिएको जनसागरलाई नारायणी नदी किनारमा सम्बोधन गरेका र चितवनवासीले अपार माया गरेको घटनाले पार्टी सभापति लामिछाने चितवनमा जोडिन सहयोग पुगेको रेग्मीको भनाइ छ। उनीमाथि लागेको अभियोगको घटनामा निर्दोष साबित भएपछि प्रतिनिधिसभाको सदस्य पदमा अत्यधिक मतसहित विजयी भएका नेता लामिछानेप्रति चितवनवासीको सहानुभूति बढेको घटनाक्रमबाट प्रमाणित हुन्छ।

चितवनवासीको यही प्रेमभावलाई सँगालेर सभापति लामिछाने जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट अत्यधिक मतका साथ लगातार तीनपटक विजयी भएका छन्।

सभापति लामिछानेले विसं २०७९ मा सम्पन्न संसदीय निर्वाचनमा ४९ हजार २६१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका थिए। श्रेष्ठ तत्कालीन नेकपा (माओवादी), नेकपा (समाजवादी) सहितको गठबन्धनको तर्फबाट उम्मेदवार थिए।

सभापति लामिछानेको सांसद पद निलम्बन भएर रिक्त रहेको उक्त क्षेत्रमा विसं २०८० मा सम्पन्न उपनिर्वाचनमा पनि सभापति लामिछानेले मत वृद्धि गरी विजयी भए। लामिछाने ५४ हजार २७६ मत ल्याएर विजयी हुँदै गर्दा निकटतम् प्रतिस्पर्धी कांग्रेसका युवानेता जीतनारायण श्रेष्ठले जम्मा ११ हजार २५१ मतमात्रै पाएका थिए।

त्यसैगरी, २०८२ सालमा भएको संसदीय निर्वाचनमा सभापति लामिछाने अघिल्ला दुई निर्वाचनमा भन्दा अझ बढी मत ल्याएर निर्वाचित हुन सफल भए। उनी ५४ हजार ४०२ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना खरेल जम्मा १४ हजार ५६४ मतमा सीमित भइन्।

चितवनका जनताले सभापति लामिछानेलाई लगातार दिएको यो मतले पनि चितवनलाई रास्वपाको आधार क्षेत्रका रूपमा स्वीकार गर्नुपर्ने भनाइ जिल्लास्थित नेताहरूको छ। रास्वपा चितवनका सभापति मिनिमाधव खनाल चितवनवासीको अपार मायापछि लामिछानेले पार्टी खोलेर राजनीतिमा होमिएको बताउँछन्।

उनले भने, ‘सभापतिज्यूले यहाँ पाउनुभएको मत र उहाँप्रति दर्शाइएको सद्भाव र मायाले पनि पार्टीको उद्गम थलो चितवनलाई नै मान्नुपर्ने हुन्छ।’

पार्टी स्थापनाकालदेखि नै जिल्लामा नेतृत्व गर्दै आएका निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुषाल पनि लामिछानेले मिडियामा रहेर राज्यले गर्न नसकेको काम गरिरहेको अवस्थामा पार्टी स्थापना गरेर आफ्नो निर्वाचन क्षेत्र चितवन रोजेको बताउँछन्। सबै हिसाबले रास्वपा चितवनमा बलियो भएको उनको भनाइ छ।

पहिलो निर्वाचनमा भारी मतका साथ दुई क्षेत्र जितेको रास्वपाले अहिलेको निर्वाचनमा तीनवटै क्षेत्र जित्न सफल हुनुले पार्टीको उद्गमस्थल चितवन नै हो भन्ने तर्क उनले राखे।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतम तदर्थ समिति रहेको पार्टीले निर्वाचन जितेर दुईतिहाइ नजिक पुगेको यो विरलै घटना भएको बताउँछन्। निर्वाचन प्रचारप्रसारका क्रममा गत फागुन १५ गतेका दिन पार्टी सभापति लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले सम्बोधन गरेको ‘स्टेज’मा उभिएर पहिलो महाधिवेशन उद्घाटन गर्न लागिएको उनले जानकारी दिए।

नेता गौतमले भने, ‘पृष्ठभूमि र घटनालाई केलाउँदै जाँदा रास्वपाको उद्गमथलो चितवन नै हो।’

गएको निर्वाचनमा सभापति लामिछानेको चुनावी कमाण्डर रहेर भूमिका खेलेका गौतम सभापति लामिछानेको तीनवटा निर्वाचनमा पाएको मतको उकालो लाग्दो ‘ग्राफ’ले पनि चितवनलाई रास्वपाको आधाभूमिका रूपमा देखाएको बताउँछन्।

विसं २०७९ असार ७ गते स्थापना भएको रास्वापाको यही असार ७ गतेकै दिन चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ। तीनदिने महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधिसहित निर्वाचन पर्यवेक्षक, पार्टीका शुभचिन्तक र नेता तथा कार्यकताको उल्लेख्य उपस्थिति हुने रास्वपाले जनाएको छ।

प्रतिनिधिसभामा दुईतिहाइ नजिक बहुमत सदस्य रहेको रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनलाई राजनीतिक बृत्तमा बडो महत्वका साथ हेरिएको छ।

अबको दुई दिनपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन हुँदैछ। पार्टी स्थापना भएपछि पहिलोपटक रास्वपाले महाधिवेशन गर्न लागेको हो। रास्वपाले चितवनको भरतपुरमा महाधिवेशन गर्न लागेको हो। यसअघि चितवनकै रत्ननगरस्थित होटल स्टारमा गर्ने भनिए पनि रास्वपाले महाधिवेशन स्थल परिवर्तन गरेको हो।

महाधिवेशन असार ७ देखि ९ गतेसम्म हुनेछ। दुई दिनमात्र बाँकी छँदा सम्पूर्ण रास्वपा महाधिवेशनको तयारीमा जुटेको छ।

पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन समारोह हुनेछ। त्यस्तै बन्दसत्र उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ।

उद्घाटन सत्रमा ठूलो संख्यामा कार्यकर्ता तथा सर्वसधारण उपस्थित हुने आकलन गरिएको छ। रास्वपाका नेताहरूका अनुसार उद्घाटन सत्रमा ५० हजारको उपस्थिति रहने अनुमान गरिएको छ।

पार्टीको चिवतनवस्थित स्थानीय जिल्ला र नगर कमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा महाधिवेशन तयारीको काम भइरहेको छ। महाधिवेशन समपन्न गर्न गठित १८ वटा उपसमिति आ–आफ्नो काममा व्यस्त रहेका छन्।

पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ। बन्दसत्रमा देशभरका करिब तीन हजार प्रतिनिधि सहभागी हुने बताइएको।

तीन दिनसम्म चितवनमा चल्ने महाधिवेशनले रास्वापको नयाँ नेतृत्व चयन गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast