हामी यही माटोका मान्छे हौँ, चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ : सभापति लामिछाने

हिमाल प्रेस २० कार्तिक २०८३ १७:४३ | Friday, November 6, 2026
हामी यही माटोका मान्छे हौँ, चुनाव जित्दैमा विशेष प्राणी बनेका छैनौँ : सभापति लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एकपटक चुनाव जित्दैमा आफूहरू विशेष प्राणी नभएको भन्दै पार्टीका नेताकार्यकर्तालाई जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन दिएका छन्।

रास्वपा चितवनले शुक्रबार आयोजना गरेको विशेष सम्बोधन कार्यक्रममा उनले पार्टी सरकारको नेतृत्वमा पुगेपछि नेताकार्यकर्ताको व्यवहार र गतिविधि थप जिम्मेवार हुनुपर्ने बताए।

‘हामी यही माटोका मान्छे हौँ। एक चुनाव जित्दैमा हामी विशेष प्राणी बनेका छैनौँ,’ उनले भने, ‘जनताले दिएको मतलाई अहंकारको विषय बनाउनु हुँदैन। हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नुहुँदैन।’

पार्टीका नेताकार्यकर्ताको व्यवहार र गतिविधिलाई समाजले मूल्यांकन गर्ने भन्दै उनले आलोचना गर्ने समाजमाथि आक्रामक हुनु राजनीतिक चरित्र नभएको बताए। समाजले देखाएका कमजोरी स्वीकार गर्दै सुधार गर्नुपर्ने उनको भनाइ थियो। ‘ऐनाले आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,’ उनले भने।

लामिछानेले पार्टीभित्र माथिदेखि तलसम्म देखिएका कमजोरी सुधार्न निर्देशन दिँदै बदला लिने भावनाले काम नगर्न पनि आग्रह गरे। पार्टीको नाममा प्रशासन र प्रहरीमाथि राजनीतिक दबाब सिर्जना गर्ने गतिविधि स्वीकार्य नहुने उनको भनाइ थियो।

‘हामी रास्वपाका हौँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्‍यौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन,’ उनले भने।

जनताले पार्टीलाई १८२ सिटसहित सरकारको नेतृत्व गर्ने अवसर दिएको भन्दै उनले त्यसलाई जिम्मेवारीका रूपमा लिनुपर्ने बताए। पार्टी ठूलो भएकै आधारमा प्रहरी, प्रमुख जिल्ला अधिकारीलगायत राज्यका निकाय आफूहरूको नियन्त्रणमा रहेको ठान्ने अहंकार त्याग्नुपर्ने उनको भनाइ थियो।

पार्टीभित्र मतभेद र अन्तरसंघर्ष नरहेको दाबी गर्दै सभापति लामिछानेले सरकारले जनअपेक्षाअनुसार काम गरोस् भन्ने उद्देश्यले पार्टीले आवश्यक सुझाव दिने गरेको बताए। सरकारका कामकारबाहीमा सुधारका लागि सुझाव दिनुलाई विवादका रूपमा लिन नहुने उनले बताए।

उनले लोकतन्त्रका स्तम्भ कमजोर पार्ने गतिविधिमा सरकार संलग्न नहुने पनि बताए। अदालत, प्रहरी, प्रेसलगायत सार्वजनिक संस्थाका विषयमा अनावश्यक टिप्पणी नगर्न नेताकार्यकर्तालाई आग्रह गर्दै उनले ती संस्थाको संरक्षण लोकतन्त्र र मुलुकको हितका लागि आवश्यक रहेको बताए। ‘अदालत, प्रहरी, प्रेसलगायत भएभरका संस्था कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहन सक्दैन,’ उनले भने।

सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको बताउँदै लामिछानेले भ्रष्टाचारका घटनामा विधिको शासनअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने धारणा राखे। भ्रष्टाचार नियन्त्रणको विषय विगतमा रास्वपाले नै जोडदार रूपमा उठाएको स्मरण गराउँदै उनले अनुसन्धानबिना कसैलाई दोषी ठहर गर्ने वा पक्राउ गर्ने प्रवृत्ति उचित नभएको बताए।

प्रकाशित: २० कार्तिक २०८३ १७:४३ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast