माडीमा नयाँ जातको धानमा रोगको प्रकोप, बाला नलाग्दा किसान चिन्तित

हिमाल प्रेस १५ कार्तिक २०८३ १७:१० | Sunday, November 1, 2026
8
SHARES
माडीमा नयाँ जातको धानमा रोगको प्रकोप, बाला नलाग्दा किसान चिन्तित

चितवन- गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला नलाग्नु र थन्क्याउने समयमा खोक्रा बाला (टाटला) मात्रै भेटिएपछि चितवनको माडीका किसान चिन्तित बनेका छन्। नयाँ जातको धान लगाउँदा उत्पादनमा कमी आएपछि वर्षभरि खाने अन्न जुटाउनसमेत समस्या हुने चिन्ता थपिएको हो।

धानखेतीमा भएको क्षति र समस्याको समाधान खोज्दै किसान अहिले दिनहुँजसो नगरपालिकाको कृषि शाखा पुग्ने गरेका छन्।माडी नगरपालिका-७, ६, ५ लगायत क्षेत्रका स्थानीयद्वारा एग्रोभेटबाट बीउ किनेर लगाएको ‘बायोसीड ३०१’ जातको धानमा समस्या देखिएको हो।

धानमा विभिन्न रोग देखिनुका साथै बाला नलाग्ने, बाला लागे पनि सानो हुने र दाना नलागी टाटला मात्रै रहने समस्या देखिएपछि किसानले अपेक्षित उत्पादन लिन सकेका छैनन्। माडी नगरपालिका कृषि शाखाका अनुसार उक्त जातको धानमा वनस्पतिक अवस्थामा मरुवा (ब्लास्ट) र खैरो थोप्ले रोग देखिएको थियो।

रोग नियन्त्रणका लागि कृषि शाखा तथा स्थानीय एग्रोभेटको सल्लाहमा विषादी प्रयोग गरे पनि समस्या नियन्त्रण हुन नसकेको कृषि शाखा प्रमुख सुरेश सिंखडाले बताए। उनका अनुसार पछि धान पसाउने र बाला लाग्ने समयमा समेत बाला नलाग्ने तथा दाना नलाग्ने समस्या देखिएको हो।

किसानको गुनासोपछि गरिएको स्थलगत अनुगमनमा उक्त जातको धानमा बाला नलागेको तथा बाला लागेका खेतमा पनि घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइटजस्ता रोग व्यापक मात्रामा देखिएको उनले जानकारी दिए।

कृषि शाखा प्रमुख सिंखडाले भने,‘नगरको कृषि शाखामा धानमा समस्या आएको गुनासो प्राप्त भएपछि कृषकको धानबारीमा स्थलगत अनुगमन गर्दा सो जातको बालीमा बाला नलागेको तथा बाला लागेको बारीमा पनि घाँटी मरुवा, खैरो थोप्ले र मर्चट ब्लाइटजस्ता रोगको सङ्क्रमण देखिएको थियो। अहिले पाक्ने बेलामा दाना नलाग्ने समस्या देखियो । नगरपालिकामा आएर समस्या समाधान गरिदिन आग्रह गर्दै किसानहरू आउनुहुन्छ।’

स्थानीय एग्रोभेटसँग कुराकानी गर्दा माडी क्षेत्रमा उक्त जातको करिब तीन हजार किलो बीउ बिक्रीवितरण भएको र करिब १०० हेक्टर क्षेत्रफलमा खेती गरिएको पाइएको कृषि शाखाले जनाएको छ। बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको पञ्जीकरण विवरणअनुसार उक्त धान १२९ दिनमा पाक्ने उल्लेख छ।

असार १५ देखि असार मसान्तसम्म रोपिएको धानमा असोज मसान्तसम्म धेरै किसानको खेतमा बाला ननिस्किएपछि बीउको गुणस्तरमाथि प्रश्न उठेको उनको भनाइ छ।

माडी-७ कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थिए। यस वर्ष भने नयाँ जातको धान लगाउँदा उनको खेतमा बाला नै राम्रोसँग लागेन। उनले भने,‘अहिले नयाँ जातको धान लगाउने भनेर लगाएको, नफलेर बर्बाद भइयो। धान काट्दा टाटला (खोक्रा बाला) मात्रै भए, दाना केही भएन’, भण्डारीले भने। उनले समस्या बीउमै भएको दाबी गरे।

माडी-६ कल्याणपुरकी सावित्री चापागाईंको पीडा पनि उस्तै छ। विदेशमा रहेका श्रीमान्लाई स्वदेशमै फर्केर आफ्नै माटोमा केही गर्न सकियोस् भन्ने उद्देश्यले उनले यस वर्ष आफ्नै खेतमा धानखेती गरेकी थिइन्। पहिले अरूलाई ठेक्कामा दिने गरेको जग्गामा आफैँ खेती गर्दा परिवारका लागि अन्न जुटाउने र आम्दानी गर्ने उनको अपेक्षा थियो। तर, धानको अवस्थाले उनलाई निराश बनाएको छ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माडीका केही क्षेत्रमा नयाँ जातको धानमा समस्या देखिएको जानकारी प्राप्त भएको बताए। किसानको गुनासो र स्थानीय कृषि शाखाबाट प्राप्त जानकारीका आधारमा समस्याको अनुसन्धान गरी बीउ कम्पनीबारे बुझ्ने काम भइरहेको उनको भनाइ छ।

प्रकाशित: १५ कार्तिक २०८३ १७:१० | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast