अफ्रिकी राजनीति बुझ्न संगीत सुन्नुपर्छ

हिमाल प्रेस १५ कार्तिक २०८३ १७:०३ | Sunday, November 1, 2026
12
SHARES
अफ्रिकी राजनीति बुझ्न संगीत सुन्नुपर्छ युगान्डामा पछिल्ला दुई राष्ट्रपतीय निर्वाचनमा बोबी वाइन प्रमुख विपक्षी उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै आएका छन्। तस्बिरमा देखिएको उनको ठूलो कन्सर्ट सन् २०१८ मा आयोजना भएको थियो। त्यसपछि उनलाई त्यस्तो ठूलो कन्सर्ट गर्ने अनुमति दिइएको छैन। यसै वर्ष वाइन देश छाडेर भाग्न बाध्य भएका छन्। तस्बिर : एएफपी/रासस

‘म हुर्किएको सहरमै अहिले म अपरिचित भएको छु, मानौँ मेरो कुनै देश नै छैन।’ इथियोपियाका चर्चित पप गायक टेडी अफ्रोले अप्रिलमा सार्वजनिक गरेको आफ्नो चर्चित गीत ‘दास ताल’ मा यस्तो गाएका छन्। उक्त गीतले इथियोपियामा व्याप्त हिंसा र दमनको विरोध गरेको छ।

गीत सार्वजनिक भएको केही दिनमै राजधानी अदिस अबाबामा सार्वजनिक स्थानमा उक्त गीत सुनेको आरोपमा सयभन्दा बढी मानिस पक्राउ परेको खबर सार्वजनिक भयो। प्रहरीले सहरका रात्रिकालीन क्लब सञ्चालकहरूलाई उक्त गीत नबजाउन चेतावनी दिएको बताइएको छ। टेडीको रेकर्डिङ स्टुडियोमा छापा मारिएको र उनका दुई सहयोगीलाई नियन्त्रणमा लिइएको खबरसमेत आएको छ।

यस्तो हास्यास्पद र ज्यादतीपूर्ण व्यवहार अनावश्यक लाग्न सक्छ तर इथियोपियाली सरकार र अफ्रिकाका अन्य शासकलाई संगीतकारहरूसँग डराउनुपर्ने पर्याप्त कारण छन्। अफ्रिकामा विपक्षी दलहरू कमजोर वा विभाजित छन्। नागरिक समाज प्रायः निष्क्रिय छ भने सञ्चारमाध्यम पनि दबाबमा छन्। असन्तुष्ट युवाहरूको ठूलो सङ्ख्या रहेको यस महादेशमा संगीत राजनीतिक प्रतिरोधको सशक्त माध्यम बनेको छ। धेरै देशमा संगीतकारहरू असन्तुष्टिका सबैभन्दा प्रामाणिक र कहिलेकाहीँ सबैभन्दा खतरनाक आवाजका रूपमा उदाएका छन्। ‘हाम्रो राजनीति बुझ्न चाहनुहुन्छ भने संगीत सुन्नुहोस्,’ एक इथियोपियाली विश्लेषक भन्छन्।

यो कुरा सुन्दा आश्चर्य लाग्न सक्छ। किनभने पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा चर्चित अफ्रिकी संगीत निरपेक्ष र राजनीतिक विषयबाट टाढा देखिन्छ। उदाहरणका लागि अफ्रोबिट्स नाम फेला कुटीबाट प्रेरित भए पनि यस विधाका अहिलेका अधिकांश चर्चित गायक नाचगानका लागि बनाइने गीतमा केन्द्रित छन्। फेला कुटी नाइजेरियाका विद्रोही स्वभावका संगीतकार थिए, जसलाई सैनिक शासकहरूले पटकपटक जेल हालेका थिए। दक्षिण अफ्रिकाको संगीत क्षेत्रमा कुनै समय मिरियम माकेबा र ह्यु मसेकेलाजस्ता रंगभेदविरोधी संगीतका प्रतीक जन्मिएका थिए। अहिले भने त्यो क्षेत्र विद्युतीय नृत्य संगीतको सम्मोहक र मनोरञ्जनप्रधान विधा ‘अमापियानो’ का लागि बढी चर्चित छ।

केही विश्लेषकले यस परिवर्तनलाई अफ्रिकी मध्यमवर्ग र सम्पन्न अफ्रिकी आप्रवासी समुदायको उदयसँग जोड्छन्। यी दुवै वर्ग क्रान्तिभन्दा मनोरञ्जनमा बढी रुचि राख्छन्। नाइजेरियाली गायिका टेनी गाउँछिन्, ‘मानिसहरू भन्छन्, पैसाले खुसी किन्न सकिँदैन, तर मलाई संसारभरको पैसा चाहिन्छ।’ उनी यस कुरामा गम्भीर पनि छिन्। उनीजस्ता अफ्रोबिट्स गायकले नाइजेरियामा आयोजना गर्ने कन्सर्टको टिकट मूल्य औसत नाइजेरियालीले एक महिनामा कमाउने रकमभन्दा बढी हुन्छ।

दक्षिण अफ्रिकाका हिपहप प्रशंसकहरू पनि रंगभेद अन्त्य भएपछि आफ्नो संगीत विधा सम्पन्न वर्गको प्रभावमा परेको बताउँछन्। कर्नेल विश्वविद्यालयका दक्षिण अफ्रिकी अनुसन्धानकर्ता ओलिभर लेम्यान भन्छन्, ‘यो संगीत नयाँ अश्वेत सम्भ्रान्त वर्ग र उनीहरूले स्वतन्त्रताका उपलब्धिको उपभोग गरिरहेको विमर्शसँग जोडिएको छ।’

सम्पन्न वर्गको यो बाहिरी आवरणमुनि असन्तुष्टिको ज्वालामुखी उम्लिरहेको छ। लाखौँ अफ्रिकी युवा बेरोजगार छन् वा न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन्। उनीहरू आफ्नो भविष्य लुट्ने भ्रष्ट नेताहरूलाई दोष दिन्छन्, तर आक्रोश पोख्ने माध्यम भने कमै पाउँछन्। विगतका पुस्ताका विपन्न समुदायसँग कम्तीमा साझा हित र उद्देश्य स्पष्ट थिए। किसानहरू जमिनका लागि हतियार उठाएर लड्न सक्थे भने कारखानाका मजदुर संगठित भएर हडताल गर्न सक्थे। अहिले अफ्रिकाको विशाल अनौपचारिक श्रम क्षेत्रमा आबद्ध समुदाय भने विविधतापूर्ण र कम संगठित छ। अदक्ष दैनिक ज्यालादारी मजदुर र सीपमा आधारित काम गर्ने श्रमिकका हित भिन्न छन्। मोटरसाइकलमा सामान पुर्‍याउने चालकहरूको स्वार्थ नाई वा घरेलु कामदारसँग मिल्दैन।

यद्यपि अफ्रिकाको ‘जेनेरेसन हसल’ (संघर्ष गरेर जीविका चलाउने युवा पुस्ता) लाई चरम असन्तुष्टिबाहेक अरू कुराले एकताबद्ध गर्न सकेको छैन। असन्तुष्ट अफ्रिकी युवामध्ये लगभग सबै संगीत सुन्छन्। संगीतकारहरूको एउटा पुस्ताले उनीहरूको विद्रोही भावनालाई आवाज दिएको छ। स्थानीय भाषामा गाइने यस्ता गीतहरूमा प्रायः रेगे र हिपहपको प्रभाव पाइन्छ। गरिबी, प्रतिरोध र अश्वेत मुक्तिजस्ता भावनात्मक विषयवस्तु यी गीतका मुख्य विशेषता हुन्। यस्ता संगीतले जातीय तथा पेसागत विभाजनलाई समेत पार गरेका छन्। कतिपय अवस्थामा यसले छरिएको आक्रोशलाई समन्वित राजनीतिक आन्दोलनमा रूपान्तरण गरेको छ।

यसको सबैभन्दा चर्चित उदाहरण रोबर्ट क्यागुलानी हुन्, जो आफ्नो मञ्चीय नाम बोबी वाइनबाट बढी चिनिन्छन्। युगान्डाको राजधानी कम्पालाका झुपडीको जीवनबारे गीत गाएर उनी चर्चामा आएका थिए। आफूलाई ‘झुपडीको राष्ट्रपति’ भन्ने उनी त्यसपछि दुईपटक वास्तविक राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका छन्। यसले उनलाई चार दशकदेखि सत्तामा रहेका योवेरी मुसेभेनीका केही गम्भीर चुनौती दिन सक्ने नेतामध्ये एक बनाएको छ।

मुसेभेनीका एक सल्लाहकार भन्छन्, ‘सायद संगीतकारका रूपमा उनको पृष्ठभूमिले उनलाई अरूले भन्दा जनताको भावना बुझ्न सक्षम बनायो।’ बोबी वाइन भन्छन्, ‘मैले अहिले जे कुरा गरिरहेको छु, ती सबै कुरा मैले पहिल्यै आफ्ना गीतमार्फत भनिसकेको थिएँ।’ उनले आफ्नो आदर्श व्यक्तित्व बब मार्लीको सम्मानमा ‘वाइन’ उपनाम राखेका हुन्।

अन्य देशमा पनि संगीतकारहरूले सामाजिक विद्रोहलाई नेतृत्व दिएका छन्। सन् २०२३ मा मोजाम्बिकका र्‍यापर अजागाइयाको बिरामीका कारण मृत्यु भएपछि उनको अन्त्येष्टि यात्रामा हजारौँ मानिस सडकमा उत्रिए। तर त्यो शोकयात्रा चाँडै उनले आफ्ना गीतमा आलोचना गर्दै आएका सम्भ्रान्त वर्गको अन्यायविरुद्धको प्रदर्शनमा परिणत भयो। ती प्रदर्शन अर्को वर्ष सरकार ढल्ने अवस्थामा पुगेको विशाल जनविद्रोहको प्रारम्भिक सङ्केत बने। अजागाइयाको ‘पोभो नो पोदेर’ (जनताको हातमा सत्ता) गीत उनको मृत्युपछि विद्रोहको गान बन्यो।

विद्रोही गायक हाचालु हुन्डेसालाई इथियोपियाको सबैभन्दा ठूलो जातीय समुदाय ओरोमोका मानिसहरूले लगभग पौराणिक व्यक्तित्वका रूपमा सम्मान गर्छन्। लामो समयदेखि आफूहरू विभेद र उपेक्षामा परेको महसुस गर्दै आएको यस समुदायका युवालाई उनका गीतले आन्दोलनका लागि प्रेरित गरेका थिए। सन् २०१८ मा अबिय अहमद प्रधानमन्त्री बन्नुमा पनि ती गीतबाट प्रेरित युवा आन्दोलनको भूमिका थियो। उनी इथियोपियाको प्रधानमन्त्री बन्ने पहिलो ओरोमो समुदायका व्यक्ति थिए।

सन् २०२० मा हाचालुको हत्या भयो। त्यसपछि एक सातासम्म चलेको हिंसा र अशान्तिमा कम्तीमा एक सय ६६ जनाको मृत्यु भयो। आफूले आलोचना गरेका अबियप्रति पनि हाचालुको हत्यापछि धेरै युवा ओरोमोको विश्वास कमजोर भयो। उनीहरूले आफ्ना प्रिय गायकको मृत्युका लागि सरकारलाई जिम्मेवार ठहर्‍याए। उनको शव कहाँ गाड्ने भन्ने विषयमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भयो। मानौँ उनी कुनै सन्त थिए।

अफ्रिका संगीतमार्फत व्यक्त हुने प्रतिरोधका यस्ता उदाहरणले भरिएको छ। सेनेगलका र्‍यापरहरूले स्थापना गरेको दबाब समूह ‘येन आ मार’ (हामी दिक्क भयौँ) ले सन् २०१२ मा एक निरंकुश शासकलाई सत्ताच्यूत गर्न महत्त्वपूर्ण भूमिका खेलेको श्रेय पाएको छ। सन् २०१५ मा कंगो गणतन्त्रका र्‍यापर मार्सियल पानुच्चीले देशका निरंकुश शासक डेनिस सासु–न्गेसोले संविधान संशोधन गर्ने प्रयास गरेपछि विशाल प्रदर्शन आयोजना गरेका थिए।

अर्का र्‍यापर पिलाटोले सन् २०१७ मा जाम्बियाको संसद् भवनसम्म भ्रष्टाचारविरोधी जुलुसको नेतृत्व गरेका थिए। छिमेकी जिम्बाब्वेको भ्रष्टाचारमा डुबेको निरंकुश शासनका प्रमुख आलोचकमा विंकी डी नामक डान्सहल गायक पनि पर्छन्। सत्तारूढ दल जानु पीएफले उनीमाथि ‘सत्ता परिवर्तनको एजेन्डा’ अघि बढाएको आरोप लगाउँदै उनका गीत प्रतिबन्ध लगाउने धम्की दिएको छ।

विद्रोही संगीत सधैँ एउटै चर्चित व्यक्तिको नेतृत्वमा मात्रै जन्मिँदैन। सन् २०२४ मा कर वृद्धि गर्ने सरकारी निर्णयको विरोधमा केन्यालीहरू सडकमा उत्रिँदा केही प्रदर्शनकारीले उपनिवेशवादविरोधी विद्रोही आन्दोलन माउ माउसँग सम्बन्धित पुराना सङ्घर्षका गीत गाएका थिए। अरूले भने केन्याली र्‍याप जोडी वाडाग्लिजको सामान्य मनोरञ्जनात्मक गीत ‘अङ्गुका नायो’ (सँगै ढल) गाएका थिए। त्यसको सन्देश सरकार ढल्नुपर्छ भन्ने थियो। यसबाट थाहा हुन्छ, नाचगानका लागि बनाइएका गीत पनि कहिलेकाहीँ सडक आन्दोलनमा उत्तिकै प्रभावकारी हुन सक्छन्।

केन्यालीहरूले राष्ट्रपति विलियम रुटोको व्यङ्ग्य गर्दै टिकटकमा थुप्रै भिडियो पनि बनाएका थिए। उनीहरूका भिडियोमा कङ्गोको संगीत समूह अर्केस्ट्रा सुपर माजेम्बेको पुरानो गीत ‘कासोङ्गो’ प्रयोग गरिएको थियो। उक्त गीतमा आफ्नी पत्नीलाई दुःख दिने एक गलत बाटोमा लागेको पतिको कथा छ। भाइरल बनेको यो प्रवृत्तिपछि रुटोका लागि ‘कासोङ्गो’ उपनाम सर्वत्र प्रचलित भयो। उनी आगामी वर्ष दोस्रो कार्यकालका लागि निर्वाचन लड्ने तयारीमा छन्। ‘कासोङ्गोको एक कार्यकाल मात्रै!’ भन्ने नारा विपक्षीहरूको आन्दोलनको आह्वान बनेको छ।

संगीत र राजनीतिलाई मिसाउनु जोखिमपूर्ण पनि हुन सक्छ। सन् २०१६ मा अंगोलाका र्‍यापर लुआटी बेइराओमाथि विद्रोहको षड्यन्त्र गरेको आरोप लगाएर जेल हालिएको थियो। रुवान्डाका मुखर गस्पेल गायक किजितो मिहिगोलाई सन् २०२० मा पक्राउ गरिएको थियो। केही दिनपछि उनी आफ्नो कोठरीमा मृत फेला परे। यसै वर्ष बोबी वाइनलाई सेनाप्रमुखले उनको यौनांग काटिदिने धम्की दिएपछि युगान्डा छाड्न बाध्य हुनुपर्‍यो।

‘दुर्भाग्यवश, म तरबार बोकेको व्यक्तिलाई कवितामार्फत प्रतिकार गर्न सकिनँ। त्यसैले निर्वासनमा जानुपर्‍यो,’ झुपडीका राष्ट्रपति भनेर चिनिने वाइनले दुःख व्यक्त गरेका छन्।

केही संगीतकार आफैँ पनि तरबार चलाउँछन्। लेसोथोमा लोकप्रिय एकोर्डियन संगीत विधा ‘फामो’ का धेरै कलाकारको राजनीतिक दल र राज्य संयन्त्रसम्म प्रभाव फैलिएका आपराधिक गिरोहसँग सम्बन्ध छ।

उत्तरी मालीको ग्रामी पुरस्कार विजेता संगीत समूह तिनारिवेनका सदस्यहरूले कुनै समय माली सरकारविरुद्ध तुआरेग पृथकतावादीका तर्फबाट लडेका थिए। उनीहरूका सुरुआती गीतका अनधिकृत रूपमा नक्कल गरिएका क्यासेट मरुभूमिका लडाकुहरूबीच गोप्य रूपमा बाँडिन्थे।

यो एक प्रकारको सहारा मरुभूमिको भूमिगत सूचना सञ्जालजस्तै थियो। तीमध्ये केही गीत इयाद अग घालीले लेखेको बताइन्छ। तर उनले पछि तुआरेग राष्ट्रवादी आन्दोलन त्यागे। अहिले उनी पश्चिम अफ्रिकाको सबैभन्दा शक्तिशाली जिहादी समूह जेएनआईएमका नेता छन्।

अनुसन्धान समूह ‘सुडान वार मनिटर’ का अनुसार सुडानको गृहयुद्धले जिहादी संगीतको बाढी ल्याएको छ। ती गीतमा राष्ट्रिय सेनासँग आबद्ध इस्लामवादी लडाकुको प्रशंसा गरिएको छ र नयाँ मानिसलाई भर्ती हुन आह्वान गरिएको छ। इथियोपियाको गृहयुद्धले पनि विद्रोही उत्तरी प्रान्त टिग्रेबाट यस्तै जातीय राष्ट्रवादी गीतहरूको बाढी ल्याएको छ।

सन् २०२१ मा जर्मन सञ्चारमाध्यम डोयचे वेलेसँग एक विद्रोही संगीतकारले भनेका थिए, ‘अब प्रेमका गीतहरू बाँकी छैनन्। अहिले हरेक गीत सङ्घर्षको गीत बनेको छ।’

‘संसद् झुपडीमा आउन सक्दैन भने झुपडी नै संसद्मा आउनेछ,’ बोबी वाइनले सन् २०१७ मा पहिलोपटक राजनीतिक पदका लागि प्रतिस्पर्धा गर्दा भनेका थिए। सन् २०२६ को राष्ट्रपतीय निर्वाचनमा प्रचारप्रसार गर्दै गरेको उनको तस्बिर यहाँ प्रस्तुत गरिएको छ।

तर सबै अफ्रिकी संगीत सत्ता र व्यवस्थाविरोधी हुन्छन् भन्ने होइन। इथियोपियामा प्रधानमन्त्री अबियको सरकारले पछिल्लो समय ओरोमो संगीतकारहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेको बताइन्छ।

अप्रिलमा दुईजना चर्चित ओरोमो गायकले टेडी अफ्रोको शासनविरोधी गीत ‘दास ताल’ को जवाफमा अर्को गीत सार्वजनिक गरे। उक्त प्रतिवादात्मक गीतमा टेडीलाई इथियोपियाली साम्राज्यको गलत स्मृतिलाई महिमामण्डन गर्ने व्यक्तिका रूपमा चित्रण गरिएको छ।

धेरै ओरोमो समुदायका मानिस इथियोपियाली साम्राज्यलाई दमनकारी व्यवस्था मान्छन्। उनीहरूका अनुसार टेडी आबद्ध जातीय समुदाय अम्हाराले विगतमा आफ्ना पुर्खामाथि शासन र दमन गरेको थियो।

अर्को हालैको चर्चित गीतमा भने अहिले ओरोमो समुदायले अदिस अबाबास्थित ‘अरात किलो’ मा शासन गरिरहेको भन्दै प्रशंसा गरिएको छ। कुनै समय इथियोपियाका सम्राट्हरू बस्ने गरेको उक्त दरबारमा अहिले प्रधानमन्त्री अबिय बस्छन्।

गत वर्षको एउटा लोकप्रिय गीतले सन् १९९३ मा इथियोपियाबाट अलग भएको इरिट्रियाको लालसागरस्थित बन्दरगाह पुनः कब्जा गर्ने प्रधानमन्त्री अबियको विवादास्पद आकांक्षाको समेत प्रशंसा गरेको थियो। गीतमा भनिएको छ, ‘हामीले वर्षा हुन आदेश दियौँ भने वर्षा हुन्छ, आकाश खुला राख्न भन्यौँ भने बादल हट्छन्। गर्विला ओरोमोहरू, लालसागरतर्फ अघि बढ।’

अफ्रिकाभरि राजनीतिज्ञहरूले चुनावी अभियानका लागि गीत लेख्न वा सभामा प्रस्तुति दिन संगीतकारहरूलाई पैसा दिने गरेका छन्। सन् २०२४ मा केन्यामा कर वृद्धिविरुद्ध आन्दोलन भएको केही महिनापछि नै वाडाग्लिजले सरकारी कार्यक्रममा ‘अंगुका नायो’ गीत प्रस्तुत गरेका थिए। त्यतिबेला राष्ट्रपति रुटो उनीहरूको छेउमा बसेर ताली बजाइरहेका थिए।

‘चतुर निरंकुश शासकहरू संगीतकारहरूलाई आफ्नो पक्षमा ल्याउन ढिला गर्दैनन्,’ बोबी वाइन भन्छन्। उनीहरूले संगीतकारहरूलाई ‘विलासी र ऐसआरामपूर्ण जीवन’ को प्रलोभन दिन्छन् र त्यसको बदलामा आज्ञाकारिता तथा प्रशंसाको अपेक्षा गर्छन्।

तैपनि अफ्रिकाका विद्रोही संगीतकारहरू चुप लागेर बस्ने सम्भावना कम छ। केन्याली संगीतकार तथा अभियन्ता न्दुन्गी गिथुकु भन्छन्, ‘अफ्रिकी र संगीत एकअर्काका पर्याय हुन्। सरकार यसबाट किन डराउँछ? यसको जवाफ एकदम सरल छ- सरकारले गीत गाउन सक्दैन।’ द इकोनोमिस्टबाट

प्रकाशित: १५ कार्तिक २०८३ १७:०३ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast