यमपञ्चकको दोस्रो दिन : सैन्य कुकुरहरूको पूजाआजा

हिमाल प्रेस २२ कार्तिक २०८३ १५:०९ | Sunday, November 8, 2026
यमपञ्चकको दोस्रो दिन : सैन्य कुकुरहरूको पूजाआजा

काठमाडौँ- यमपञ्चकअन्तर्गत दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैन्य कुकुरहरूको पूजाआजा गरेर कुकुर तिहार मनाएको छ।

भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरवबहान गुल्मका तालिम प्राप्त कुकुरहरूको आइतबार एक विशेष समारोहकाबिच पूजा गरिएको हो।

यमपञ्चकको विशेष दिनमा आयोजना गरिएको यस कार्यक्रममा सेनाका तालिमप्राप्त कुकुरहरूलाई परम्परा अनुसार टीका तथा माला लगाइदिएर मनपर्ने मिठा परिकारहरू खुवाइएको थियो।

उक्त अवसरमा नेपाली सेनाद्वारा सैनिक कुकुरहरूको विशेष पूजा र ‘डग सो’ आयोजना गरिएको थियो। सैनिक कुकुरहरूले अपराध अनुसन्धानका कला र खोज तथा उद्धार सम्बन्धी उत्कृष्ट कार्यकौशल (डग सो) प्रदर्शन गरेका थिए।

कुकुर पूजा समारोहमा बोल्दै नेपाली सेनाको प्रबन्ध रथी विभागका विभागीय प्रमुख उपरथी हरेन्द्र पाठकले सीमित स्रोतसाधन र चुनौतीकाबीचमा पनि कुकुरलाई विशेष तालिम दिएर जिम्मेवारी निर्वाह गराउने काम प्रभावकारी रहेको बताए।

गस्ती,सुरक्षा,ट्र्याकिङ, शंकास्पद व्यक्तिको खोजी तथा विस्फोटक पदार्थ पहिचानलगायतमा पनि कुकुरको भूमिका उल्लेखनीय रहेको उनले बताए।

कुकुरपुजालाई निष्ठा,इमान्दारिता, बफादारिताको प्रतीकको रुपमा सम्मान गर्नु मौलिक दायित्व भएको उनले बताए। नेपाली सेनाको यस गुल्मले संयुक्त राष्ट्रसंघको शान्ति मिसन, प्राकृतिक प्रकोपमा खोजतलास तथा उद्धार र हतियार तथा अपराधी पक्राउ गर्ने जस्ता महत्त्वपूर्ण सुरक्षा कार्यहरू गर्दै आएको छ।

प्रकाशित: २२ कार्तिक २०८३ १५:०९ | Sunday, November 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast