यु-१९ महिला क्रिकेटमा कर्णालीको दोस्रो हार, मधेशको दोस्रो जित

हिमाल प्रेस २५ जेठ २०८३ १६:३२ | Monday, June 8, 2026
18
SHARES
यु-१९ महिला क्रिकेटमा कर्णालीको दोस्रो हार, मधेशको दोस्रो जित

सुर्खेत- यु-१९ महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ भने मधेश प्रदेशले लगातार दोस्रो जित हात पारेको छ। यता सुदूरपश्चिम प्रदेशले आफ्नो अपराजित यात्रा कायम राख्दै तीन खेलमा तीनै जितसहित उपाधि दाबेदारी बलियो बनाएको छ।

सोमबार कालुङचोक मैदानमा भएको खेलमा मधेश प्रदेशले कर्णालीलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। पहिलो खेलमा कोशी प्रदेशमाथि प्रभावशाली जित निकालेको मधेशले लगातार दोस्रो जितसँगै महत्त्वपूर्ण ४ अंक जोडेको छ।

पहिले ब्याटिङ गरेको कर्णालीले ४ विकेटको क्षतिमा १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको मधेशले ९.१ ओभरमै १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

कर्णालीका लागि कप्तान तिर्सना विश्वकर्माले नटआउट ४९ रनको उत्कृष्ट पारी खेलिन् भने उमा चौधरीले २९ रनको योगदान दिइन्। तर अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

कर्णालीको इनिङ कमजोर सुरुवातबाट प्रभावित रह्यो। ओपनर सरिता विष्ट पहिलो ओभरमै रनआउट भइन् भने सोविता शाही शून्यमा आउट भइन्। शिखा दुवाडी ५ रनमै पभेलियन फर्किएपछि टोली दबाबमा परेको थियो।

तर तिर्सना र उमा चौधरीबीच चौथो विकेटका लागि ८६ रनको महत्त्वपूर्ण साझेदारी भयो। जवाफी ब्याटिङमा मधेशका ओपनर सना प्रवीनले नटआउट ४४ रन र अलिशा यादवले ४७ रनको आक्रामक पारी खेल्दै आठौं ओभरसम्मै खेल आफ्नो नियन्त्रणमा राखे।

कर्णालीकी समीक्षा बिसीले अलिशालाई एलबीडब्ल्यू आउट गरे पनि त्यसपछि मधेश सहजै जित नजिक पुगेको थियो। यता, वीरेन्द्रनगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले अञ्जली पाठकको ७६ र आशना चौधरीको २४ रनको मद्दतमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो। तर सुदूरपश्चिमले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै लक्ष्य सजिलै पछ्यायो।

ओपनर सावित्री धामीले नटआउट ७६ रन र करुणा विष्टले ४५ रनको योगदान दिँदै टोलीलाई १३२ रनको साझेदारीमार्फत बलियो जित दिलाए। लगातार तीन जितसँगै सुदूरपश्चिम ६ अंक जोड्दै प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित: २५ जेठ २०८३ १६:३२ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast