सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता जनाएका छन्। क्रिकेट खेलप्रति आकर्षण बढिरहेको बताउँदै क्रिकेटको संरचना निर्माणमा आफूहरू केन्द्रित हुने बताएका हुन्।
‘अहिले खेल भइरहेका मैदान अस्थायी हुन्। क्यान र प्रदेश सरकारको सहकार्यमा सुविधाजनक क्रिकेट मैदान बनाउने छौं,’ अन्डर-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको शुक्रबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले भने,‘कर्णालीलाई खेल क्षेत्रको हव बनाउनका लागि सीमित स्रोत र साधनबीच पनि प्रदेश सरकारले खेल पूर्वाधारहरू निर्माण गरिरहेको छ।’
मुख्यमन्त्री कँडेलले १० औं राष्ट्रिय खेलकुद प्रतियोगीता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहेपनि संघीय सरकारका कारण ढिलो भइरहेको बताए। ‘हामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि पूर्ण तयारीमा छौं,’ उनले भने, ‘केन्द्र सरकारका कारण समयमै १० औं खेल प्रतियोगीता आयोजना हुन सकेको छैन।’
उनले संघीय सरकारले कर्णालीलाई बजेटमा जहिल्यै उपेक्षा गर्ने गरिएको बताउँदै वर्तमान सरकारले पनि त्यसैलाई निरन्तरता दिएको बताए। ‘अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउँछ, अंक आइपुग्दा टिठ लाग्दो हुन्छ,’ उनले भने, ‘अहिलेको संघीय सरकारले पनि त्यसैको निरन्तरता दियो।’
नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा छनोट प्रतियोगीता आयोजना गरिएको बताए।
‘पूर्वाधार र खेलाडी अभाव झेलिरहेको कर्णालीबाट महिला क्रिकेटको राष्ट्रिय प्रतियोगीता आयोजना गर्नुको खास अर्थ छ,’ उनले भने, ‘क्यानको उद्देश्य कर्णालीबाट क्रिकेटको विकास गर्नु हो।’
क्यानका कोषाध्यक्ष एवम् कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर खड्काले कर्णालीमा खेलकुद पर्यटनको उच्च सम्भावना रहेको बताए। उनले क्यानले कर्णालीमा क्रिकेटको विकासका लागि महत्त्वपूर्ण कामहरू गरिरहेको बताउँदै आगामी दिनका पनि यसलाई निरन्तरता दिने बताए।
उनले कर्णालीमा आयोजना भइरहेको राष्ट्रिय महिला अन्डर-१९ प्रतियोगीताबाट राष्ट्रिय टीनको छनोट गरिने र सोही टीमले सन् २०२७ मा आयोजना हुने विश्वकपमा सहभागीता जनाउने जानकारी दिए।
विजेतालाई ५ लाख पुरस्कार
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख र उपविजेता टोलीले तीन लाख प्राप्त गर्नेछन्।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) लाई ४० हजार, उत्कृष्ट ब्याटरलाई २५ हजार, उत्कृष्ट बलरलाई २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई जनही तीन हजार प्रदान गरिने छ।




