स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

हिमाल प्रेस १६ असोज २०८३ ६:३१ | Friday, October 2, 2026
स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौँ- २०औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार राति स्वदेश फर्किएको छ।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुवात गरेको थियो। त्यसपछि आयोजक जापानसँगको खेल वर्षाका कारण प्रभावित भएपछि नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको थियो।

क्वार्टरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने तय भए पनि निरन्तर वर्षाका कारण खेल हुन सकेन। जापानको नागोयास्थित कोरोगी स्पोर्ट्स पार्कमा निर्धारित खेलमा टससमेत हुन नसकेपछि प्रतियोगिता रद्द गरिएको थियो।

प्रतियोगिताको नियमअनुसार नकआउट चरणको खेल वर्षाका कारण हुन नसके उच्च वरीयतामा रहेको टोलीलाई अर्को चरणमा प्रवेश गराउने व्यवस्था थियो। सोही नियमअनुसार टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालभन्दा माथि रहेको श्रीलंका सेमिफाइनलमा प्रवेश गर्दा नेपालको यात्रा क्वार्टरफाइनलमै रोकिएको हो।

नेपालले जापानविरुद्धको समूह चरणको खेलमा वर्षा सुरु हुनुअघि १५ ओभरमा १४९ रन बनाएको थियो। उक्त खेलमा सन्दीप जोराले ५७ तथा लोकेश बमले ५२ रन बनाएका थिए। वर्षा नरोकिएपछि जापानले ब्याटिङ गर्न नपाउँदै खेल रद्द भएको थियो।

यससँगै नेपालले एसियाली खेलकुदमा लगातार दोस्रो पटक क्रिकेटको क्वार्टरफाइनल खेले पनि सेमिफाइनलमा पुग्ने अवसर गुमाएको छ। १९औँ एसियाली खेलकुदमा पनि नेपाल क्वार्टरफाइनलमै रोकिएको थियो।

यसपटक भने नेपाल कुनै खेलमा पराजित नभई प्रतियोगिताबाट बाहिरिएको हो। निरन्तर वर्षाका कारण निर्णायक खेल खेल्नै नपाई नेपालको एसियाली खेलकुद क्रिकेट यात्रा समाप्त भएको हो।

प्रकाशित: १६ असोज २०८३ ६:३१ | Friday, October 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast