एआई कक्रोचले हल्लायो भारतीय राजनीति

हिमाल प्रेस १० जेठ २०८३ १३:४१ | Sunday, May 24, 2026
6
SHARES
एआई कक्रोचले हल्लायो भारतीय राजनीति

क्षेत्रीय निर्वाचनमा लगातार सफलता हासिल गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला अनपेक्षित चुनौतीको सामना गरिरहेका छन्- एआईबाट बनाइएको एउटा ‘कक्रोच’।

व्यंग्यात्मक विरोध आन्दोलनका रूपमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ पछिल्ला दिनमा भारतमा भाइरल बनेको छ। घृणित कीरा साङ्लोलाई आफ्नो प्रतीक बनाएको यस आन्दोलनले इन्स्टाग्राममा एक करोड ९० लाखभन्दा बढी फलोअर जुटाइसकेको छ। कमजोर आर्थिक अवस्था, बढ्दो बेरोजगारी र राजनीतिक व्यवस्थाप्रति युवामा बढिरहेको असन्तुष्टिलाई यसले अभिव्यक्ति दिने माध्यम बनाएको छ।

‘कक्रोच जनता पार्टी’ नाम मोदीको भारतीय जनता पार्टीको नामसँग मिलाएर बनाइएको व्यंग्यात्मक नाम हो। यसको अवधारणा अमेरिकामा बस्दै आएका भारतीय स्नातकोत्तर विद्यार्थी अभिजित दिप्केले ल्याएका हुन्। आन्दोलनको एउटा नारा छ- ‘उनीहरूले हामीलाई कुल्चिन खोजे, तर हामी फेरि फर्कियौँ।’

यो अभियान भारतका प्रधानन्यायाधीश सूर्य कान्तको एक विवादास्पद टिप्पणीको प्रतिक्रियाका रूपमा आएको बताइएको छ। उनले गत साता बेरोजगार युवालाई ‘कक्रोच’ र परजीवीसँग तुलना गरेपछि व्यापक आलोचना भएको थियो। पछि उनले नक्कली डिग्री भएका युवाप्रति टिप्पणी गरेको स्पष्टीकरण दिएका थिए।

सुट र टाई लगाएको कक्रोच मञ्चमा उभिएको एआई चित्र प्रयोग गर्दै आन्दोलनले आफूलाई ‘आलसी र बेरोजगारहरूको आवाज’ भनेर चिनाएको छ। आन्दोलनका अनुसार यसको उद्देश्य त्यस्ता युवाका लागि राजनीतिक मञ्च बनाउनु हो, जसलाई बारम्बार आलसी, सधैँ अनलाइनमा बस्ने र अहिले आएर कक्रोच भनिएको छ।

यस आन्दोलनका पाँच मुख्य मागमध्ये संसद् र मन्त्रिपरिषद्‌मा लैंगिक समानता कायम गर्ने तथा भारतका दुई धनी उद्योगपति गौतम अडानी र मुकेश अडानीका स्वामित्वमा रहेका सञ्चारमाध्यमको लाइसेन्स खारेज गरी स्वतन्त्र मिडियाका लागि ठाउँ बनाउने माग पनि छन्।

अर्थशास्त्रीहरूका अनुसार भारतको आर्थिक वृद्धि तुलनात्मक रूपमा राम्रो देखिए पनि युवामा बेरोजगारी गम्भीर समस्या बनेको छ। विश्वविद्यालयबाट स्नातक गरेका युवाले समेत राम्रो तलबको रोजगारी पाउन संघर्ष गर्नुपरेको छ।

हालका वर्षमा नेपाल, इन्डोनेसिया र बंगलादेशजस्ता देशमा देखिएका युवा आन्दोलनजस्तो अवस्था भारतमा भने कम देखिएको थियो। तर ‘कक्रोच जनता पार्टी’ को तीव्र लोकप्रियताले सरकारलाई चिन्तित बनाएको छ।

भारतीय अधिकारीहरूले राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउने अनलाइन गतिविधिविरुद्धको कानुन प्रयोग गर्दै आन्दोलनसँग सम्बन्धित एक्स खाता बन्द गराएका छन्।

बीजेपीका वरिष्ठ नेता तथा पूर्वमन्त्री मुख्तार अब्बास नक्वीले यस आन्दोलनलाई पूर्वनियोजित षड्यन्त्रको परिणाम भन्दै आलोचना गरेका छन्। उनले समाचार संस्था पीटीआईसँग भनेका छन्, ‘यस्ता अराजकताले जीवन्त लोकतन्त्रलाई हराउन सक्दैन।’

आन्दोलनका संस्थापक दिप्केले मोदीको पार्टीको चुनाव चिह्न ‘कमल’ फूल कक्रोचले खाइरहेको एआई तस्बिरहरू सार्वजनिक गरेका छन्। उनले आफूलाई ज्यान मार्ने धम्कीसमेत आएको बताएका छन्।

भारतको सूचना मन्त्रालयका वरिष्ठ सल्लाहकार कञ्चन गुप्ताले सरकारले यस असामान्य घटना अध्ययन गरिरहेको बताएका छन्। उनका अनुसार ७२ घण्टाभित्र यति धेरै फलोअर पाउनु अस्वाभाविक देखिएको छ र धेरै खाता ‘बोट’ हुनसक्ने आशंका छ। उनले पाकिस्तान र अन्य विदेशी मुलुकबाट पनि ठूलो संख्यामा संलग्नता रहेको दाबी गरेका छन्।

दिप्केका अनुसार उपलब्ध तथ्यांकले करिब ९५ प्रतिशत फलोअर भारतकै रहेको देखाउँछ।

जवाहरलाल नेहरू विश्विवद्यालयका राजनीतिक विज्ञान प्राध्यापक हरिश वाङ्खेडेले ‘कक्रोच जनता पार्टी’ को अचानक लोकप्रियता शिक्षित युवामा रहेको असन्तुष्टि र विपक्षी दलहरूले उनीहरूको मुद्दा प्रभावकारी रूपमा उठाउन नसकेको अवस्थाको परिणाम भएको बताएका छन्।

उनका अनुसार यस्तो भावना लामो समयदेखि समाजमा थियो, अहिले आएर त्यसले विस्फोटको रूप लिएको हो।

मोदी नेतृत्वको बीजेपी अहिले दशकौँयताकै बलियो राजनीतिक अवस्थामा छ। लगातार निर्वाचन जित्दै पार्टीले भारतका ३६ मध्ये २२ राज्य तथा केन्द्रशासित प्रदेशमा सत्ता नियन्त्रण गरिरहेको छ।

यता मुख्य विपक्षी भारतीय राष्ट्रिय कांग्रेस भने प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचित छ।

कांग्रेस सांसद शशि थरुरले कक्रोच आन्दोलनका संस्थापकहरूको उद्देश्य जे भए पनि यसले युवामा रहेको राष्ट्रिय असन्तुष्टि स्पष्ट रूपमा प्रतिनिधित्व गरेको बताएका छन्। उनले एक्समा लेखेका छन्, ‘सरकार र विपक्षी दुवैले अब गम्भीर भएर युवाको असन्तुष्टि सुन्न र समाधान खोज्नुपर्छ।’

नयाँदिल्लीकी २० वर्षीया जैवप्रविधि विद्यार्थी अन्याका अनुसार यो अनलाइन आन्दोलनले युवामा रहेको निराशा झल्काउँछ। उनका अनुसार अहिलेको व्यवस्था पहिल्यै मिलाइएको खेल जस्तो देखिन्छ।

उनले भनिन्, ‘सबैजना आफ्नै भरमा बाँच्न बाध्य छन्। सरकारमाथि भर पर्न सकिने अवस्था छैन। केही वर्षभित्र ठोस परिवर्तन भएन भने हामीमध्ये धेरै बेरोजगार हुनेछौँ।’

प्रकाशित: १० जेठ २०८३ १३:४१ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast