एमाले–नेकपा सहकार्य हुन लागेको हो?

हिमाल प्रेस ५ साउन २०८३ २१:२६ | Tuesday, July 21, 2026
38
SHARES
एमाले–नेकपा सहकार्य हुन लागेको हो? फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेताहरूको तर्फबाट हालसालै आएको एउटा धारणाले ‘प्रदेश–सत्ता’ उथलपुथल हुने चर्चाले व्यापकता पायो।

कपा एमालेसँग रहेको सहकार्य सातै प्रदेशमा तोड्ने दिशामा छलफल अगाडि बढेको कांग्रेस नेताहरूको भनाइले प्रदेश सरकारहरू हेरफेर हुने सम्भावनालाई बल पुर्‍यायो।

एमालेसँग सहकार्य तोड्ने ‘कोर्स’ अगाडि बढेको कांग्रेस नेताहरूको भनाइ सार्वजनिक भएसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा किचलो देखियो। यद्यपि अन्य प्रदेशहरूमा सरकार यथावत रहेका छन्।

कांग्रेसले सातै प्रदेशमा एमालेसँग सहकार्य तोड्ने बताइरहेकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने कांग्रेस–एमाले–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहितको सरकार बनाउने प्रस्ताव अगाडि सारे। प्रदेशमा मात्रै नभएर संघीय संसद र सडकमा समेत तीनै दल एकजुट भएर अगाडि बढ्नुपर्ने प्रस्ताव ओलीको छ।

तर, ओलीको यो प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेको छ। कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले तीन दलको गठबन्धन बनाएर प्रदेशसभालाई विपक्षीविहीन बनाउन नसकिने तर्क गरेका छन्। संविधानले विपक्षीविहीन प्रदेशसभाको कल्पना नगरेकोले संविधानविपरित जान नसकिने भनाइ उनीहरूको छ।

तीनदलीय गठबन्धन बनाउन कांग्रेसले रूची नदेखाएपछि वापमन्थी गठबन्धन बनाउनतर्फ एमाले र नेकपाका नेताहरू जुटेका छन्। श्रीलंका भ्रमणबाट फर्किएसँगै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एमालेसँग सहकार्य गर्न छलफल अगाडि बढाएका छन्।

यसै सन्दर्भमा प्रचण्डले एमाले अध्यक्ष ओलीसँग संवादसमेत गरेका छन्। सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुवै नेताबीच सकारात्मक संवाद भएको बताइएको छ।

एमाले सचिव महेश बस्नेतले नेकपा संयोजक प्रचण्डले सहकार्यको प्रक्रिया अगाडि बढेको बताएको उल्लेख गरेका छन्।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तालाप गगरेपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको बताउनुभएको छ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्।

यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभइ मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक बनोस् भनेर उनले अपेक्षा गरेका छन्।

वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने उनको भनाइ छ।

प्रकाशित: ५ साउन २०८३ २१:२६ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast