राघव चड्ढासहित ‘आप’ का सात सांसद भाजपामा प्रवेश

हिमाल प्रेस ११ वैशाख २०८३ १७:२३ | Friday, April 24, 2026
14
SHARES
राघव चड्ढासहित ‘आप’ का सात सांसद भाजपामा प्रवेश

काठमाडौँ- सर्वसाधारण नागरिकको मुद्दा उठाएर चर्चा कमाएका भारतको राज्यसभा सांसद राघव चड्ढाले आम आदमी पार्टी (आप) छोडेर भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गर्ने घोषणा गरेका छन्।

आम आदमी पार्टीका दुई तिहाइ सदस्यहरू संविधानको प्रावधानअनुसार भाजपमा सामेल हुने उनले घोषणा गरेका हुन्।

चड्ढाका साथै सन्दीप पाठक, अशोक मित्तल, हरभजन सिंह, स्वाति मालीवाल, राजेन्द्र गुप्त र विक्रम सहनीगरी राज्यसभाका सात सांसदले ‘आप’ छोडेर भाजपामा सामेल हुने निर्णय गरेका हुन्।

सन्दीप पाठक र अशोक मित्तलसँग पत्रकार सम्मेलन गर्दै चड्ढाले भने,‘राज्यसभामा आम आदमी पार्टीका दुई तिहाइ सदस्यहरू संविधानको प्रावधानअनुसार बीजेपीमा सामेल हुँदैछौँ।’

‘आप’ ले यसै महिनाको सुरूमा चड्ढालाई राज्यसभामा पार्टीको उपनेताको जिम्मेवारीबाट हटाएर अशोक मित्तललाई दिएको थियो। चड्ढाले ‘आप’ को यो निर्णयमाथि प्रश्न उठाउँदै आफूले जनहितका मुद्दाहरू उठाइरहेको र यसबाट पार्टीलाई के क्षति भयो भनेर प्रश्न गरेका थिए।

उनले भने,‘आम आदमी पार्टी, जसलाई मैले आफ्नो रगत पसिना दिएँ, आफ्नो युवा अवस्थाको १५ वर्ष दिएँ, त्यो अब आफ्नो सिद्धान्त, मूल्य र आधारभूत नैतिकताबाट पूर्ण रुपमा विचलित भइसकेको छ। अब यो पार्टी देश वा राष्ट्रिय हितका लागि नभई व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको छ।’

सन् २०१३ मा अन्न हजारेको ‘इन्डिया अगेन्स्ट करप्सन’ आन्दोलन अन्तिम चरणमा रहेको बेला चड्ढाको भेट अरविन्द केजरीवालसँग भएको थियो।

पेशाले चार्टर्ड एकाउन्टेन्ट चड्ढा त्यो बेला लन्डन स्कुल अफ इकोनोमिक्सबाट अध्ययन सकेर भारत फर्किएका थिए। पार्टीमा उनको पहिलो काम दिल्ली जनलोकपाल विधेयक मस्यौदा तयार गर्न अधिवक्ता राहुल मेहरालाई सहयोग गर्नु थियो। उनलाई यो जिम्मेवारी केजरीवालले सुम्पिएका थिए।

चड्ढा पार्टीको सबैभन्दा कान्छो प्रवक्ता बने र छोटो समयमै ‘आप’ को अनुहारको रुपमा चिनिन थाले।

सन् २०१९ मा उनले दक्षिण दिल्लीको संसदीय सिटबाट चुनाव लडेका थिए। तर, उनी पराजित भए। त्यसपछि सन् २०२० को विधानसभा चुनावमा उनले दिल्लीको राजेन्द्रनगर सिटबाट जित हासिल गरे।

मार्च २०२२ मा ‘आप’ ले चड्ढा र अन्य चार जनालाई पञ्जाबबाट राज्यसभाका लागि मनोनीत गर्‍यो। त्यसबेला उनी ३३ वर्षका थिए। र, उनी सबैभन्दा कान्छो सांसद बने।

सन् २०२२ मा पञ्चाबमा ‘आप’ ले हात पारेको ठूलो जितमा चड्ढाले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

प्रकाशित: ११ वैशाख २०८३ १७:२३ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast