काठमाडौँमा बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिन माग

हिमाल प्रेस ८ जेठ २०८३ ५:५७ | Friday, May 22, 2026
4
SHARES
काठमाडौँमा बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिन माग

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विगत वर्षमा सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरूले माग गरेका छन्। कामपा शिक्षा विभागले पुस्तकरहित शुक्रबार कार्यक्रमको समीक्षा गर्न आयोजना गरेको कार्यशालामा यस्तो सुझाव आएको हो।

कामपाका स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘हामी कार्यान्वयनयोग्य नीति कार्यक्रम बनाउन चाहन्छौँ। यसका लागि जो कार्यान्वयन तहमा हुनुहुन्छ। उहाँहरूले कस्ता कार्यक्रम कार्यान्वयन गर्न सक्नुहुन्छ। उहाँहरूको धारणा र क्षमता बुझेर त्यही प्रकारका नीति र कार्यक्रम तर्जुमा गर्छौँ। यसले नतिजा प्राप्त गर्न सहज हुनेछ।’

उनका अनुसार वडाहरूलाई दुई समूहमा विभाजन गरेर महानगरले पृष्ठपोषण लिइरहेको छ।

कामपा शिक्षा विभागका प्रमुख नमराज ढकाल भन्छन्,‘विगतका कार्यक्रमले विद्यार्थीलाई गहन सोच्ने क्षमताको विकास गराएको, रचनात्मकता बढाएको, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेकाले नतिजामुखी रहेको पृष्ठपोषण प्राप्त गरेका छौँ। सबैबाट पृष्ठपोषण आएपछि विश्लेषणसहितको आगामी कार्यक्रमको ढाँचा निर्धारण गर्नेछौँ।’

शिक्षा नियमावली, २०५९ ले विद्यार्थीको सृजनात्मक प्रतिभाको विकासका लागि शुक्रबारको दैनिक पठनपाठनको कार्य समाप्त भएपछि चित्रकला, हस्तकला, वाद्यवादन, नृत्य, नाटक, वक्तृत्वकला, हाजिरी जवाफ, हिज्जे, साहित्यिक क्रियाकलाप गर्नुपर्ने व्यवस्था गरेको छ।

विद्यालयले कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि ८३२ घण्टा, कक्षा ४ देखि ८ सम्मका लागि एक हजार २४ घण्टा र कक्षा ९ र १० का लागि एक हजार १८४ घण्टा कक्षा सञ्चालन गर्नुपर्नेछ।

वरिष्ठ शाखा अधिकृत सुशील सुवेदी भन्छन्,‘कामपाले शैक्षिक तथा सीपमूलक कार्यक्रमलाई समुदायसँग जोडेर अगाडि बढाउन कार्यक्रमलाई जोड दिएको छ।’

उक्त कार्यक्रम सञ्चालन गर्न कामपाले रु ६ करोड बजेट विनियोजन गरेको थियो। जसमा सृजनात्मक सिकाइका लागि रु तीन करोड, शिक्षामा सीपका लागि रु एक करोड ५० लाख, सृजनात्मक सीपतर्फको सङ्गीत विधाको प्रशिक्षणका लागि सांस्कृतिक संस्थानसँग सहकार्य गर्न रु ५० लाख, सृजनात्मक सीपतर्फकै भित्तेचित्र (म्युरल आर्ट) र शिक्षामा सीपतर्फ स्केचिङ एण्ड स्कल्प्चर विषयको प्रशिक्षणका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न रु एक करोड विनियोजन गरिएको थियो।

कामपाले सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सृजनात्मक सिकाइ र कक्षा ९ र १० मा शिक्षामा सीप कार्यक्रम सञ्चालन गरिरहेको छ।

प्रकाशित: ८ जेठ २०८३ ५:५७ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast