‘भारतमा नेपाली समुदायको आफ्नै बैंक र बिजनेस पार्क बनाउँछौँ’

भारतका सफल नेपाली उद्यमी स्वदेशमा लगानी गर्न तयार...

आशा थपलिया ३ जेठ २०८३ १२:२२ | Sunday, May 17, 2026
14
SHARES
‘भारतमा नेपाली समुदायको आफ्नै बैंक र बिजनेस पार्क बनाउँछौँ’

भारतमा रहेका प्रवासी नेपाली उद्योगी-व्यवसायीहरूको छाता संगठन एभरेस्ट चेम्बर अफ कमर्स एन्ड  इन्डस्ट्रिज (ईसीसीआई) ले हालै सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। करिब पाँच सय नेपाली मूलका उद्योगी-व्यवसायीहरूको साझा प्लेटफर्मका रूपमा स्थापित यो संस्थाको नेतृत्व डा. मोहन कार्कीले सम्हालेका छन्। उदयपुरको त्रियुगा नगरपालिकाका निवासी कार्की सन् २००३ मा करिअरको खोजीमा अस्ट्रेलिया पुगेका थिए। नेचुरोपेथी चिकित्सक बन्ने र नेपालमा यससम्बन्धी अभियान सुरु गर्ने उद्देश्यले उनी नयाँदिल्ली पुगे।

अध्ययन पूरा गरेपछि दिल्लीमै अभ्यास थालेका कार्कीले फोर्टियस अस्पताल नोएडामा योग विभाग प्रमुखको जिम्मेवारी सम्हाले। उनी योग इन्स्टिच्युट स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योग प्रशिक्षकका रूपमा सक्रिय रहँदै आएका छन्। योगमा विद्यावारिधि गरेका कार्कीले योग, प्राकृतिक चिकित्सा तथा ‘होलिस्टिक वेलनेस’ सम्बन्धी विभिन्न पुस्तक प्रकाशित गरेका छन्। हालै उनी बेलायतस्थित विश्वव्यापी आईटी कम्पनी ‘जेनिस’ को साझेदारसमेत बनेका छन्।

दिल्लीमा दुई दशकभन्दा बढी समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय डा. कार्कीसँग ईसीसीआईको नयाँ नेतृत्वको योजना, भारतमा नेपाली व्यवसायीको अवस्था, नेपालमा लगानीको सम्भावना तथा युवा पुस्तालाई उद्यमशीलतामा जोड्ने रणनीतिबारे हिमाल प्रेसका लागि आशा थपलियाले गरेको कुराकानी :

एभरेस्ट चेम्बरलाई अब कसरी अगाडि बढाउनुहुन्छ?

हामीले संस्थाका लागि तत्काल र दीर्घकालीन योजनाहरू तयार पारेका छौँ। ईसीसीआईलाई विशुद्ध उद्योगी-व्यवसायीहरूको संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य छ। अहिले मुख्यतः दिल्ली, महाराष्ट्र, मध्यप्रदेश र गुजरातका नेपाली मूलका व्यवसायीहरू आबद्ध हुनुहुन्छ। अब यसलाई देशव्यापी सञ्जालका रूपमा विस्तार गर्ने योजना छ। हामीले विगत दुई वर्षदेखि आयोजना गर्दै आएको ‘नेपाल ट्रेड फेस्टिभल’ लाई यस वर्ष अझ व्यवस्थित, बृहत्तर र अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी गरेका छौँ। संस्थाका सदस्यहरूकै अग्रसरतामा सामूहिक लगानीको अवधारणामा आधारित ‘कलेक्टिभ फन्ड ’ योजना सुरु गरेका छौँ।

यसले भारत तथा नेपालमा नेपाली समुदायका उद्योगी-व्यवसायीहरूलाई लगानीमा सहयोग पुर्‍याउँछ र नेपालमा सम्भावित क्षेत्र पहिचान गरी लगानी गर्न सक्छ। नेपाली समुदायको आफ्नै बैंक स्थापना गर्ने विषयमा प्रारम्भिक पहल सुरु भइसकेको छ। त्यसैगरी, एभरेस्ट चेम्बरकै सदस्यहरूको लगानीमा दिल्लीमा ‘बिजनेस पार्क’ निर्माण गर्ने अवधारणामा काम भइरहेको छ, जहाँ चेम्बरको कार्यालय, अडिटोरियम र नेपाली समुदायका उद्योग-व्यवसाय सञ्चालनका लागि साझा पूर्वाधार विकास गरिनेछ। सँगै संस्थालाई अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जालहरूसँग जोड्ने लक्ष्य पनि हाम्रो प्राथमिकतामा छ।

तपाईंका योजना निकै महत्त्वाकांक्षी देखिन्छन् नि?

हरेक ठूलो कामको थालनी सानो प्रयासबाट हुन्छ। हामी आशावादी भएर अघि बढेका छौँ। आफ्नै कार्यकालमा योजनालाई मूर्त रूप दिने प्रयास गर्नेछौँ। यदि पूरा भएन भने पनि हाम्रो कार्यकालमा संस्थालाई बलियो आधार दिएर जाने लक्ष्य छ। त्यसपछि आउने नेतृत्वले यसलाई अझ उचाइमा पुर्‍याउनेछ भन्ने विश्वास छ।

संस्थामा अझै पनि पेसागत व्यावसायिकता र कर्पोरेट कल्चरको अभाव देखिन्छ, यसलाई कसरी सुधार गर्नुहुन्छ?

धेरै विषय एकसाथ व्यवस्थित रूपमा अघि बढाउनुपर्ने अवस्था छ। १८ वर्षअघि संस्था स्थापना हुँदा हाम्रो समुदाय भर्खरै व्यवसाय र उद्योग क्षेत्रमा प्रवेश गर्दै थियो। विशेषगरी पहिलो पुस्ताका व्यवसायीहरूमा कर्पोरेट अभ्यास सीमित थियो। साना तथा परम्परागत व्यवसायमा सीमित भएकाले आधुनिक व्यावसायिक सोच विकास हुन समय लाग्यो। आज पनि केही सदस्यमा पुरानै मानसिकताको प्रभाव देखिन्छ। संस्था दिल्लीबाट गठन भएको थियो।

दिल्ली राजनीतिक राजधानी भएकाले राजनीतिक प्रभावका विषय स्वाभाविक रूपमा जोडिए। तर अहिले अवस्था परिवर्तन हुँदै गएको छ। मुम्बई, मध्यप्रदेशलगायतका राज्यका सफल नेपालीहरू यस संस्थामा आबद्ध हुँदै आएका छन्। नेपाली समुदायका केही व्यवसायी करोडौँदेखि अर्बौँ रुपैयाँको कारोबार गर्ने स्तरमा पुगिसकेका छन्। साथै नयाँ पुस्ताका शिक्षित र पेसागत रूपमा सक्षम युवाहरू संस्थासँग जोडिएका छन्। उनीहरू यहीँ जन्मिएका, हुर्किएका र आधुनिक व्यावसायिक वातावरणमा विकसित भएकाले उनीहरूमा कर्पोरेट सोच, व्यवस्थापन शैली र व्यावसायिक कार्यशैली स्पष्ट छ।

यी दुई पुस्ताको शैली र संस्कारको मिश्रणले संस्थालाई उचाइमा पुर्‍याउन मद्दत गर्नेछ। अर्को कुरा, स्थापनाकालमा संस्थाको उद्देश्य र संरचना स्पष्ट रूपमा बुझाउन सकिएन। त्यसैले व्यवसायसँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्तिहरू पनि आबद्ध भए। अब उद्योग-व्यवसायसँग प्रत्यक्ष सम्बन्ध नभएका सदस्यहरूको संरचना पुनरवलोकन गर्दै संस्थालाई थप व्यावसायिक र प्रभावकारी बनाउने तयारी गरेका छौँ।

भारतमा स्थापित नेपाली व्यवसायीहरू नेपालमा लगानी गर्न कत्तिको इच्छुक हुनुहुन्छ?

ईसीसीआईसँग जोडिएका अधिकांश सदस्य भावनात्मक रूपमा नेपालसँग जोडिएका छन्। उहाँहरू नेपालमा केही न केही योगदान गर्न चाहनुहुन्छ। धेरै सदस्यहरूले विभिन्न क्षेत्रमा लगानी पनि गरिरहनुभएको छ। तर राजनीतिक अस्थिरता, नीतिगत अन्योल र प्रशासनिक जटिलताका कारण केही लगानीकर्ताले समस्या भोग्नुपरेको अनुभव सुनाउनुहुन्छ। नेपालमा व्यवसाय सुरु गर्नुभन्दा बन्द गर्न गाह्रो हुने गुनासो धेरै छ। भारतमा व्यावसायिक प्रक्रिया तुलनात्मक रूपमा सहज छन्। यस्ता विषयमा हामीले दूतावासमार्फत नेपाल सरकारसम्म आवाज पुर्‍याउने प्रयास गरिरहेका छौँ।

नेपाल सरकारले एनआरएनको लगानीलाई स्वागत गरिरहेको छ, भारतका प्रवासी नेपाली लगानीकर्ताप्रति कस्तो व्यवहार पाउनुभएको छ?

नेपाल सरकारले प्रवासी नेपाली लगानीकर्तालाई स्वागत गर्ने नीति त लिएको छ। तर व्यावहारिक तहमा अझै सुधार आवश्यक छ। अहिलेसम्म हामीले त्यो अनुभूति गर्न पाएका छैनौँ, तर अब हामी सशक्त रूपमा अघि बढ्ने तयारीमा छौँ। नेपालमा वेलनेस टुरिजममा अथाह अवसर छ, त्यस क्षेत्रमा अध्ययन गरी लगानी विस्तार गर्न पहल गर्ने योजना छ।

भारतमा नेपाली समुदायका उद्योगी-व्यवसायीका लागि अवसर र चुनौती के देख्नुहुन्छ?

भारत विशाल बजार र ठूलो अर्थतन्त्र भएको देश हो। त्यसैले नेपाली समुदायका उद्योगी-व्यवसायीका लागि यहाँ प्रशस्त अवसर छन्। ठूलो जनसंख्या, विस्तारित बजार र व्यवसायमैत्री वातावरणले नेपाली उद्यमीहरूलाई विभिन्न क्षेत्रमा अघि बढ्ने सम्भावना दिएको छ। नेपाल-भारतबीचको ऐतिहासिक सम्बन्ध र खुला आवागमनले पनि व्यवसाय गर्न सहज बनाएको छ। तर केही व्यावहारिक तथा प्रक्रियागत चुनौती छन्। विशेषगरी नेपाली नागरिकका रूपमा कम्पनी दर्ता गर्दा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने प्रक्रिया छ।

यसले कहिलेकाहीँ व्यवसाय सुरु गर्ने प्रक्रियालाई लम्ब्याएर जटिल बनाउँछ। त्यसैगरी, नेपाली कागजातका आधारमा काम गर्न पाउने कानुनी व्यवस्था भए पनि कार्यान्वयनमा अस्पष्टता र असहजता देखिन्छ। कतिपय ठाउँमा प्रशासनिक तहमा भिन्नभिन्न व्याख्या हुने समस्या पनि छ। हामीले यस्ता विषयलाई संस्थागत रूपमा उठाउँदै आएका छौँ। आगामी दिनमा कानुनी प्रक्रिया सहज बनाउने, स्पष्ट जानकारी दिने र सम्बन्धित निकायसँग समन्वय गर्ने काममा ईसीसीआई सक्रिय रहनेछ।

सीमा व्यापार, भन्सार समस्या र अन्य अवरोधमा ईसीसीआईको भूमिका के हुन्छ?

दुवै देशका सरकारसँग संवाद गरेर व्यावहारिक समाधान खोज्ने हाम्रो प्रयास रहनेछ। विशेषगरी सीमा व्यापार, भन्सार प्रक्रिया र नीतिगत अवरोध नेपाली पक्षका लागि बढी जटिल छन्। निजी क्षेत्रको अनुभव सरकारसम्म पुर्‍याउने काममा हामी सक्रिय रहनेछौँ।

अध्ययन अनुसन्धानमा ईसीसीआईले कत्तिको ध्यान दिइरहेको छ?

हामी आर एन्ड डी टिम बनाउने तयारीमा छौँ। व्यवसाय, लगानी, नीति तथा बजारबारे अध्ययन र तथ्यमा आधारित सुझाव दिने संस्थागत क्षमता विकास गर्न आवश्यक छ। म आफैँ आईटी क्षेत्रमा नयाँ लगानीकर्ताका रूपमा अनुसन्धान र नवप्रवर्तनको महत्त्व बुझिरहेको छु। भारतका फिक्की, सीआईआई, एसोच्याम, पीएचडी चेम्बर तथा नेपालमा एफएनसीसीआई, सीएनआई, नेपाल चेम्बर अफ कमर्स, नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) जस्ता संस्थासँग सहकार्य गर्दै जाने लक्ष्य छ। त्यसैले अध्ययन अनुसन्धानलाई प्राथमिकता दिएका छौँ।

नेपाल सरकारसँग सहकार्य कसरी अगाडि बढाउनुहुन्छ?

हामी विभिन्न कूटनीतिक र संस्थागत च्यानलमार्फत नेपाल सरकारसँग समन्वय गरिरहेका छौँ र आगामी दिनमा पनि यसैगरी अघि बढ्नेछौँ। प्रवासी नेपाली उद्योगी-व्यवसायीहरूका मुद्दा, लगानीका चुनौती र सम्भावनाबारे निरन्तर संवाद कायम राख्ने योजना छ।

भारतमा हुर्किएको नयाँ पुस्तालाई चेम्बरसँग जोड्न कत्तिको चुनौती छ?

भारतमा हुर्किएको नयाँ पुस्ताको सोच, कार्यशैली र अपेक्षा फरक छ। त्यसैले उनीहरूलाई आकर्षित गर्न ‘एमएसएमई तथा स्टार्टअप इकोसिस्टम’ मा केन्द्रित छुट्टै विभाग गठन गरेका छौँ। अनुभवी चार्टर्ड एकाउन्टेन्ट, फिनटेक विशेषज्ञ र उद्यमीहरू रहेको यो विभागमा युवा पुस्तालाई जोडेर मेन्टरसिप र नेटवर्किङको वातावरण बनाउने तयारी गर्दैछौँ।

अन्त्यमा, तीनवर्षे कार्यकालमा तपाईंको नेतृत्वशैली कस्तो हुनेछ?

हामी समावेशी, सहकार्य र परिणाममुखी शैलीमा काम गर्नेछौँ। कुनै पनि परियोजना सफल बनाउन टिमवर्क आवश्यक हुन्छ। कठिन परिस्थितिमा पनि नेपाल र नेपाली समुदायका एजेन्डालाई केन्द्रमा राखेर काम गर्ने हाम्रो प्रतिबद्धता छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast