प्रधानमन्त्री बालेनसँग मुम्बईका नेपाली युवाको अपेक्षा

परिवर्तनको आशा, गहिरो विश्वास र भावुकतामा प्रवासी

आशा थपलिया १६ वैशाख २०८३ १७:४८ | Wednesday, April 29, 2026
14
SHARES
प्रधानमन्त्री बालेनसँग मुम्बईका नेपाली युवाको अपेक्षा

मुम्बई- मातृभूमि नेपालको राजनीतिक आकाशमा नयाँ किरण देखिएपछि प्रवासी नेपालीमा एउटा मीठो तर गहिरो आशा जागेको देखिन्छ। देशभित्रका युवामा पनि त्यही आशा देखिन्छ। स्वेदश होस या विदेश सबै युवाहरुबीच नयाँ नेतृत्वले सकारात्मक सन्देश प्रवाह गरेको छ । यस परिवर्तनको केन्द्रमा छन्, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ।

देशभित्र मात्र नभएर विदेशमा रहेका नेपाली युवाहरुबीच नयाँ नेतृत्वले सकारात्मक सन्देश प्रवाह हुनु सामान्य परिवर्तन होइन। वर्षौंदेखि विदेशको भूमिमा रगत-पसिना बगाउँदै, आफन्तहरूको सम्झनामा रात बिताउँदै आएका प्रवासी नेपाली युवाहरूको लागि यो परिवर्तन सामान्य खबर होइन -यो हाम्रो बाल्यकालको सपना, परिवारको विरासत र देशप्रतिको असीम मायाको प्रतिबिम्ब हो।

मुम्बईको चहलपहलपूर्ण सहरमा व्यस्त जीवन बिताइरहेका बेला पनि उनीहरुको मन नेपालको हिमाली हावा, पहाडी बाटो, तराईको हरियाली र आफन्तहरूको मुस्कानमा हराइरहन्छ। ‘पटक-पटक आशा गरेका थियौं, निराश भयौँ। राजनीतिक अस्थिरताले हाम्रो देशको छवि धमिलो बनायो, लगानीकर्ताहरू डराए, युवाहरू विदेशिन बाध्य भए। तर अहिले प्रधानमन्त्री बालेनको युवा नेतृत्व, उहाँको सक्रियता र सुशासनप्रतिको दृढ प्रतिबद्धताले हाम्रो हृदयमा नयाँ आशा र विश्वासको दीपक बलाएको छ,’ उनीहरुले भने,‘ यो पटकको आशा विगतका आशाजस्तो होइन- यो गहिरो, भावुक र ठोस परिणाम दिने खालको छ भन्ने लागिरहेको छ।’

उनीहरुका अनुसार नेपालमा पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा तथा सूचना प्रविधि जस्ता क्षेत्रमा पर्याप्त सम्भावना भए पनि विगतमा राजनीतिक अस्थिरता, नीतिगत अस्पष्टता र कमजोर कार्यान्वयनका कारण ती अवसरहरू उपयोग हुन सकेका छैनन्। बालेन नेतृत्वले देखाएको सक्रियता र सुशासनप्रतिको प्रतिबद्धताले लगानीमैत्री वातावरण बन्न सक्ने उनीहरुको अपेक्षा रहेको छ।

आदेश कोटाल

‘राजनीतिक अस्थिरताको कालो बादलले नेपाललाई घेरेको थियो। प्रधानमन्त्री बालेन आउनुभएपछि त्यो बादल बिस्तारै हट्दै गरेको देख्दा मनभित्र एउटा शान्ति र आशाको अनुभूति भएको छ,’ कोटल म्यानेजमेन्ट सर्भिसेस, मुम्बईका सह-संस्थापक २६ वर्षीय आदेश कोटाल आफ्नो कुरा गर्दा भावुक हुँदै भन्छन्।

कैलालीको टीकापुरसँग जोडिएका आदेश मुम्बईमै जन्मे-हुर्किए पनि नेपालसँगको सम्बन्ध उनीहरूको रगतमा छ। वैवाहिक सम्बन्धले उनीहरूलाई नेपालसँग थप नजिक पुर्‍याएको छ। ‘सानोमा परिवारका सदस्यहरूबाट सुनेका नेपालका कथा, हिमालको सौन्दर्य र संस्कृतिको गौरवले मेरो मनमा सदैव नेपालप्रतिको माया जगाइरह्यो। अब यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ भन्ने विश्वास छ,’ उनी सम्झिन्छन्,‘ नेपालको पर्यटन, प्राकृतिक सम्पदा र स्रोत-साधनलाई सही ढङ्गले उपयोग गर्न सके हामी प्रवासी युवाहरू पनि खुशीसाथ देशको विकासमा योगदान दिन तयार छौं।’

आदेशको आँखामा भावुकता झल्किन्छ जब उनी भन्छन्, ‘नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउनुपर्छ। दुवै देशका युवाहरू मिलेर विकासको नयाँ बाटो तय गर्न सकिन्छ। मेरो परिवारको जरा नेपालमा छ, त्यसैले नेपालको विकास र सबै खुसी सुखी नेपाली देख्न मन छ।’

नेपालको विकासका लागि भारतसँगको मजबुत कुटनीतिक सम्बन्धको महत्व बुझेका २८ वर्षीय आदेश ३७ वर्षिय प्रधानमन्त्रीलाइ विशेष आग्रह गर्दै भन्छन्, ‘नेपाल-भारतबीचको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउनु आवश्यक छ, किनकि दुवै मुलुकसँगै अघि बढेर विकास गर्ने प्रशस्त अवसरहरू छन।’

भारतसँग मात्र नभएर दीर्घकालिन आर्थिक विकासकालागि दूरदर्शी नीति र सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्नेतर्फ बालेन सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए।

विष्णुमूर्ति बराल

लजिस्टिक्स क्षेत्रका अनुभवी युवा व्यवसायी विष्णुमूर्ति बराल विगत सम्झिँदा दुःखी हुँदै भन्छन्, ‘एक दशकअघि पनि हामीले धेरै आशा गरेका थियौं। तर हरेक सरकार आए, केही समयमै अस्थिरता बढ्यो। सरकार पटक पटक फेरिए र लागू नहुँदै नीति फेरियो। लगानीकर्ताहरू त्रासमा बसे।राजनीतिक अस्थिरता र नीतिगत अनिश्चितताका कारण लगानीको वातावरण बन्न सकेन हाम्रो मुटु दुख्थ्यो, तर के गर्न सकिन्थ्यो र?’

फिलिप्स कार्गो तथा डमेलो लजिस्टिक्सका उत्तरी क्षेत्र प्रमुख विष्णुमा अहिले भने आशा भरिएको देखिन्छ भने उनी निकै उत्साहित पनि भएका छन्। ‘बालेनको नेतृत्वमा सरकार बनेपछि अब नेपालमा साँच्चै केही हुन्छ भन्ने विश्वास जागेको छ। यो भावना शब्दमा मात्र होइन, हाम्रो रगतमा बगिरहेको छ,’ उनी भन्छन्, ‘भारतमा नेपाली दाजुभाइ-दिदीबहिनीहरू उपचार गर्न आउँदा देखिने पीडा हामीले देखेका छौं। यदि नेपालमै आधुनिक अस्पताल, राम्रो सेवा र सुविधा भए ती नेपालीहरूले विदेश आउनुपर्ने बाध्यता घट्छ। यो सम्झदा र विरामी भेट्दा मन कुँडिने मात्र होइन रुन्छ नै।’

गुल्मीको पारिवारिक विरासत बोकेका विष्णु स्वास्थ्य क्षेत्रप्रति विशेष भावुक छन्। उनले नेपालमा स्वास्थ्य क्षेत्रमा केही गर्ने सोच बनाएका पनि छन्। नेपालको राजनीतिक परिवेशलाई नजीकबाट नियालिरहेका व्यवस्थापन स्नातकोत्तर विष्णुमूर्ति अवसर पाएमा नेपालका युवासँग मिलेर कृषि र स्वास्थ्य क्षेत्रमा केही गर्ने योजना रहेको सुनाउँछन् ।

उनी कृषि, शिक्षा, स्वास्थ्य, आईटी र ई-कमर्स क्षेत्रको सम्भावनाबारे बोल्दा उत्साहित हुन्छन्। ‘नेपालमा उर्बर भूमि छ, अनुकूल मौसम छ, तर युवा विदेशिएकाले कृषि क्षेत्र सुकेको छ। यदि अवसर मिले म नेपाल फर्केर युवासँग मिलेर केही गर्न चाहन्छु। युवा प्रधानमन्त्रीले हाम्रो यो भावना बुझ्नुहुन्छ भन्ने लाग्छ,’ विष्णु भावुक र मधुर स्वरमा भन्छन्।

नेहा रावल

‘भारतमा अवसर धेरै छन् तर प्रतिस्पर्धा यति कडा छ कि हरेक दिन दबाबमा बाँच्नुपर्छ। नेपालमा अवसर कम छन् तर आफ्नै देशमा केही गर्न पाउँदा मन शान्त हुन्छ,’ अछामको टिकापुरमा जन्मेकी नेहा रावलले आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘सानोमा टिकापुरको माटोमा खेलेको सम्झना अझै ताजा छ। भारतको व्यस्ततामा पनि नेपालको माया कहिल्यै घटेको छैन।’

मुम्बईमा चार्टर्ड एकाउन्टेन्सी गरिरहेकी छन्, उनी । प्रकृतिप्रेमी नेहा नेपालको शान्ति, हरियो पहाड र आफ्नो जन्मथलोको सम्झनाले भरिएकी छन्। अनुभव बटुलेर एकदिन नेपाल फर्केर स्टार्टअप गर्ने सपना उनीमा छ। यो सरकारले युवा र प्रवासीहरूलाई विश्वास दिलायो भने हामी सबैले देशको लागि केही गर्न सक्छौं, उनले भावुक हुँदै भनिन्।

भारतमा बहुराष्ट्रिय कम्पनीहरूको संख्या धेरै भएकाले चार्टर्ड एकाउन्टेन्टहरूका लागि मात्र होइन हरेका करिअरका अवसरहरू प्रशस्त रहेको तर नेपालमा त्यस्ता अवसरहरू अझै सीमित हुँदै गएको सुउँदै उनले भनिन् सायद त्यही कारणले अधिक युवाहरू विदेशमा अवसर खोज्न बाध्य छन्।

ओममूर्ति बराल

‘भारतमा जन्मिएँ, यही हुर्किएँ तर मेरो रगत, मेरो पहिचान र मेरो आत्मा नेपाली नै हो। जहाँ गए पनि नेपालीपनले छोड्दैन,’ डमेलो लजिस्टिक्सका दक्षिणी क्षेत्र प्रमुख ३२ वर्षीय ओममूर्ति बराल दविएको स्वरमा भन्छन्, ‘हस्पिटालिटी र आध्यात्मिक पर्यटनप्रति म निकै भावुक हुन्छु। नेपाल पर्यटकका लागि स्वर्ग हो। हाम्रो स्वच्छ हावा, पौराणिक इतिहास, मन्दिर र आध्यात्मिक शान्तिले विश्वभरका मानिसहरूलाई आकर्षित गर्न सक्छ।’

भारत र चीनसँगको सहकार्यमा नेपालको पर्यटनमात्र विकास गर्न सकेमा देशको अर्थतन्त्र फस्टाउँछ भन्दै उनले भने, ‘हामी प्रवासीहरू पनि यसमा योगदान दिन तयार छौं। विगतका नेतृत्वबाट सिकेर बालेनले मुलुकलाई नयाँ उचाइ दिनुहुन्छ भन्ने विश्वास छ। हामी युवाको आवाज उहाँले सुन्नुहुन्छ भन्ने लाग्छ।’

हाम्रो देशप्रतिको यो माया र अपेक्षा उहाँले सार्थक बनाउनुहोस्, ओममूर्ति भावुक हुँदै थप्छन्, ‘म नेपाली हुनुमा गर्व गर्छु लाग्छ। म जस्तो हरेक प्रवासी युवाको यो विश्वास र सार्थकतामा वर्तमान नेतृत्वले आँच आउन दिने छैन।’

प्रियल बराल

‘मेरो अधिक परिवार नेपालमा छन्। म नेपाल गइरहन्छु। अनि मलाई नेपाली हुनुमा निकै गर्व पनि लाग्छ। विदामा नेपाल जाँदा परिवारका सदस्यहरूसँग बिताएका क्षणहरू मेरो जीवनको सबैभन्दा खुशीका पल हुन्,’ भारतमा अध्ययनरत प्रियल बराल भन्छिन्,‘म मुम्बईमा जन्मिएकी हुँ तर मेरो मुटु गुल्मीको माटोसँग जोडिएको छ। यहाँ म नेपाली पहिचानप्रति गर्व गर्छु।’

उच्चशिक्षामा पाइला टैक्दै गरेकी प्रियाले नेपालको राजनीतिबारे खासै बुझाइ राख्दिनन तर शिक्षामा जोड दिन आवश्यक छ, ‘भारतमा पहिलो प्राथमिकता शिक्षा छ। जुन हामीमा पनि आवश्यक देखिन्छ। मेरो दीर्घकालीन सपनामा नेपालको शिक्षा क्षेत्रमा केही काम गर्ने नै रहेको छ।’

प्रियलको यो सोचाइको मूलमा उनको पारिवारिक पृष्ठभूमि पनि जोडिएको छ। उनका दिवंगत ठूलो बुबा रोमनाथ बरालले अमेरिकामा अध्ययन पूरा गरेपछि नेपाल फर्किएर बुटवल क्षेत्रको शिक्षा क्षेत्रमा नै योगदान दिएका थिए। तर, दुई वर्षअघि सडक दुर्घटनामा उनको निधन भएको थियो। ‘दिवंगत ठूला बुबाको संझनामा नेपालका बालबालिकाहरुकालागि शिक्षाको क्षेत्रमा कुनै संस्था मार्फत काम गर्ने सोच रहेको छ,’ प्रियलको आँखा रसाउँदै भन्छिन्।

अन्त्यमा,

यी सबै युवा भारतमा स्थापित प्रवासी नेपाली व्यवसायीहरुका तेस्रो वा चौथो पुस्ता हुन्। अघिल्ला पुस्ताहरुले यी युवाहरुमा नेपाल र नेपालीपन जोगाउन गरेको अथक प्रयासको प्रतिफल (अपवाद बाहेक) आज यी युवाहरु नेपालसँग जरैदेखि जोडिएका देखिए। मुम्बईको जस्तो व्यस्त नगरीमा पनि ति युवाहरुको मुटु नेपालको विकास, समृद्धि र नेपाली युवाहरूको उज्ज्वल भविष्यको लागि धड्किरहेको पाउन सकिन्छ।

युवा प्रधानमन्त्री बालेनको कार्यशैलीले उनीलाई फेरि देशसँग जोड्ने पुल बनाइदिएको छ। आफ्नो पारिवारिक व्यवसायलाइ अन्तर्राष्ट्रिय स्तरसम्म हाँकिरहेका यी पुस्तालाई युवा प्रधानमन्त्रीले विगतका निराशा दोहोरिन नदिई यो नयाँ आशालाई फुलाउने र फलाउने अवसर छ।

प्रवासी युवाहरू नेपाल फर्किने मात्र होइन, उनीहरुको सीप, अनुभव, लगानी र मायाले देशलाई समृद्ध बनाउनमा केही इट्टा पक्कै थपिनेछ। उनीहरुको यो भावुक अपेक्षा, देशप्रतिको माया र विश्वासलाई सार्थक प्रधानमन्त्रीले कत्तिको सार्थक बनाउँछन त्यो त सबैको प्रतिक्षको विषय हो। अव मुलुक प्रयोगशाला होइन सबै नेपालीको लागि उज्ज्वल भविष्यको साझा सपना हो भन्दै उनीहरुले प्राथना गरे,‘यो सपना अब पूरा होस्। हामी प्रवासीको हृदयदेखि नै शुभकामना।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast