भारत र पाकिस्तानबीचको गत वर्ष भएको युद्धका क्रममा जम्मु–कश्मीरको पुन्छ जिल्लामा पाकिस्तानी आक्रमणबाट क्षतिग्रस्त घरमा उभिएका एक व्यक्ति। तस्बिर साभार : पीटीआई
गत वर्ष भारतको जम्मुकश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका क्रममा पुन्छ जल्लाले सबैभन्दा ठूलो क्षति व्यहोर्नुपरेको थियो। जहाँ भारतको ‘अपरेसन सिन्दूर’ को प्रशंसामा समाचारहरू छाइरहेका थिए, त्यही बेला पुन्छजस्ता क्षेत्रमा सीमापारबाट भएको भीषण गोलाबारीलाई भने लगभग बेवास्ता गरिएको थियो। यो सन् १९९९ को कारगिल युद्धपछिकै सबैभन्दा भयानक गोलीबारी थियो।
पुन्छमा सबैभन्दा धेरै क्षति हुनुको मुख्य कारण त्यहाँ आमनागरिकका लागि पर्याप्त बंकर नहुनु हो। गोलीबारीका क्रममा ज्यान गुमाउनेमध्ये अधिकांश मानिस सुरक्षित स्थानतर्फ भाग्ने प्रयासमा थिए, किनकि उनीहरूको घरमा वा वरिपरि कुनै बंकर थिएन।
भारत र पाकिस्तानबीच तनाव बढेपछि त्यसको मूल्य सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकले नै चुकाउनुपर्छ। लामो समयदेखि त्रासको छायामा बाँचिरहेका यी मानिसको सरकारसँग एउटै माग रहँदै आएको छ-सुरक्षित बंकरको व्यवस्था। गोलाबारीका बेला उनीहरूले कम्तीमा शरण लिन सकून् भनेर यसो गरिएको हो।
यस आवश्यकता स्वीकार गर्दै केन्द्र सरकारले सन् २०१८ मा जम्मु डिभिजनमा १४ हजार ४६० वटा बंकर निर्माणका लागि ४१५ करोड रुपैयाँ विनियोजन गरेको थियो। यसमा दुई प्रकारका बंकर निर्माण गर्नुपर्ने प्रस्ताव थिए- घरनजिक परिवारका लागि बनाइने व्यक्तिगत बंकर र गाउँलेले साझा रूपमा प्रयोग गर्न सक्ने सामुदायिक बंकर। सामुदायिक बंकरमा ३० जनाभन्दा बढीलाई आश्रय दिन सकिने व्यवस्था हुन्छ।
योजना कति कार्यान्वयन भयो? सीमावर्ती चार गाउँ पुन्छको मन्धार तथा राजौरीका लाम, पुखरनी र लडोकामध्ये कुनै पनि गाउँमा जनसंख्याको अनुपातमा पर्याप्त बंकर बनेका छैनन्।
अपरेसन सिन्दूरको एक वर्ष बितिसकेको छ। ती गाउँका अगुवाहरूका अनुसार बंकरको अवस्था जस्ताको तस्तै छ। कुनै नयाँ बंकर बनेका छैनन्। राजौरीको पुखरनी गाउँका अगुवा महमुदका अनुसार गाउँमा पाँच सय नौ घर भए पनि दुई सय ८७ बंकर छन्।
करमाडा गाउँका अगुवा मोहम्मद सरिफले बताएअनुसार अपरेसन सिन्दूरका क्रममा पर्याप्त बंकर नहुँदा गाउँलेहरू अस्थायी रूपमा विस्थापित हुन बाध्य भएका थिए। त्यतिबेला ७-८ वटा घरमा क्षति पुगेको थियो।
सीमावर्ती क्षेत्रमा बस्दा सधैँ डर र परिवारको चिन्ताले सताइरहने त्यहाँका बासिन्दाको गुनासो छ। त्यसैले गाउँको प्राथमिक माग बंकर रहेको छ। सन् २०१९ पछि गाउँमा कुनै नयाँ बंकर निर्माण भएको छैन। गाउँमा पाँच सयजति घर भए पनि दुई सय घरसँग मात्रै बंकर छ।
डेगवार गाउँका अगुवा परविन्दर सिंह भन्छन्, ‘अपरेसन सिन्दूरपछि स्थानीय प्रशासनसँग पटक-पटक बंकरबारे कुरा गर्यौँ, तर अहिलेसम्म एउटा पनि बंकर पाएका छैनौँ।’
उनले भने, ‘हामी युद्धसँग डराउँदैनौँ। सन् १९६५ र १९७१ मा सेनासँग मिलेर लडेका थियौँ। तर कम्तीमा हाम्रा बालबालिका सुरक्षित रहून् भन्ने चाहन्छौँ। त्यसैले गाउँमा आउने हरेक अधिकारी र जनप्रतिनिधिसँग हाम्रो एउटै माग हुन्छ—हामीलाई बंकर उपलब्ध गराइयोस्।’
डेगवार गाउँको जनसंख्या तीन हजार आठ सय छ। गाउँलेहरूले अप्रिल २०१९ मा पुन्छका डिप्टी कमिस्नरलाई पत्र लेखेर ७० व्यक्तिगत र ६ सामुदायिक बंकर माग गरेका थिए। कम्तीमा महिला र बालबालिकालाई सुरक्षित राख्न यस्तो माग गरिए पनि पूरा हुन सकेको छैन।
कस्बा गाउँको अवस्था पनि उस्तै छ। करिब पाँच हजार जनसंख्या र नौ सउ घर रहेको गाउँमा १२ सामुदायिक र तीन व्यक्तिगत बंकर छन्, जसमा बढीमा तीन सय जनाले मात्रै आश्रय लिन सक्छन्।
पुन्छ सहरमा पनि अपरेसन सिन्दूरपछि सर्वसाधारणका लागि कुनै बंकर बनाइएको छैन। रिपोर्टिङका क्रममा भेटिएका कुनै पनि परिवारले बंकर पाएका छैनन्। सहरमा दुई नयाँ बंकर भने निर्माण गरिएका छन्। एउटा, डिप्टी कमिस्नर कार्यालयमा र अर्को डाक बंगला परिसरमा, जुन अझै पूर्ण रूपमा तयार भएको छैन।
डाक बंगला सरकारी अधिकारी र सर्वसाधारण दुवैले प्रयोग गर्न सक्ने विश्राम गृह हो। कस्बा गाउँका अगुवा अहमद जमिल भन्छन्, ‘यी दुई नयाँ बंकर त अधिकारीहरूका लागि हुन्। आमनागरिकका लागि पुन्छमा एउटा पनि बंकर बनेको छैन।’
गत नोभेम्बर २०२५ मा राज्यपालले पाँच हजारभन्दा बढी बंकर निर्माणको प्रस्ताव स्वीकृतिका लागि पठाइएको जानकारी दिएका थिए। तर बंकरको अवस्थाबारे बुझ्न जिल्ला उपायुक्तसँग सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिन अस्वीकार गरे।
सुरक्षित स्थान खोज्दा ज्यान गुम्यो
भारत-पाकिस्तान संघर्षमा पुन्छका १४ नागरिक मारिएका थिए। यो सम्पूर्ण घटनाक्रमको सबैभन्दा ठूलो र सायद सबैभन्दा बेवास्ता गरिएको विषय थियो। आज पनि ती परिवारका घरमा सन्नाटा गुञ्जिन्छ। उनीहरूका लागि त्यो एक वर्ष बितेको छैन। हरेक दिन र रात उनीहरू त्यही क्षण सम्झिरहेका छन्- एउटा विस्फोटको आवाजले सबै कुरा सधैँका लागि बदलिदिएको छ।
एक वर्ष बितिसक्दा पनि आफरिन आफ्ना पिता अकरमको मृत्युको पीडाबाट बाहिर निस्कन सकेकी छैनन्। उनले आफ्नो विवाह पनि स्थगित गरेकी छन्। रमिज खान आफ्ना जुम्ल्याहा सन्तान जैन र उर्वालाई सम्झेर आँसु थाम्न सक्दैनन्। सञ्जीव भार्गव एक्लो छोरा गुमाएको पीडाबाट बाहिर आउन सकेका छैनन् र बारम्बार उसले बनाएका चित्रहरू हेरेर बस्छन्।
गुरमित सिंह अझै पनि आफ्नो र छोराको उपचार गराइरहेका छन्। यी सबै ती १४ जनामध्ये हुन्, जो गत वर्ष पुन्छ जिल्लामा भएको पाकिस्तानी गोलाबारीमा मारिएका थिए।
जब मिडियाले कारीलाई आतंककारी बनायो
गोलीबारीमा ४७ वर्षीय कारी मोहम्मद इकबालको मृत्यु भएको थियो। उनी जामिया जिया-उल-उलुमका शिक्षक थिए र बालबालिकालाई पढाउँथे। उनको मृत्युलाई भारतीय टेलिभिजन च्यानलहरूले भिन्न ढंगले प्रस्तुत गरे।
न्युज १८ इन्डिया र सीएनएन-न्युज १८ ले उनलाई लस्कर-ए-तैयबासँग आबद्ध ‘आतंककारी’ भन्दै पाकिस्तान प्रशासित कश्मीरको कोटलीमा भारतीय हवाई आक्रमणमा मारिएको दाबी गरे। वरिष्ठ पत्रकार किशोर अजवाणीले त उनलाई ‘लस्कर कमान्रड’ बताएका थिए।
जी न्युजले रगतले लतपतिएको उनको तस्बिर देखाएर उनलाई ‘एनआईएको मोस्ट वान्टेड आतंककारी’ भन्यो। रिपब्लिक टीभीले पनि यस्तै दाबी प्रसारण गर्यो।
पुन्छ प्रहरीले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको थियो- कारी मोहम्मद इकवालको आतंकवादसँग कुनै सम्बन्ध थिएन र उनी सीमापारबाट भएको गोलाबारीका पीडित थिए।
१३ वर्षीय बिहान भार्गव : चलिरहेको कारमै मृत्यु
१३ वर्षीय बिहान भार्गवको मृत्यु त्यतिबेला भयो, जब उनको परिवार सहर छोडेर सुरक्षित स्थानतर्फ जाँदै थियो। बिहानका पिता सञ्जीव भार्गव त्यो दिन सम्झँदा भावुक हुन्छन्।
उनले भने, ‘त्यो दिन कारमा मैले उसलाई आफ्नो र बहिनीको बीचमा राखेको थिएँ। अचानक विस्फोट भयो र एउटा छर्रा उसको टाउकोमा लाग्यो। मेरो बच्चा एकैछिनमा संसारबाट गयो।’
रातिदेखि नै सहरभर गोलाबारी भइरहेको थियो। तर ७ मेका लागि ‘मक ड्रिल’ घोषणा भएकाले धेरैलाई सेना अभ्यास गरिरहेको हो भन्ने लागेको थियो। बिहान घरबाहिर छर्रा देखेपछि सञ्जीवले आफ्ना भिनाजु गुरमित सिंहलाई फोन गरेर सहर छोड्ने निर्णय गरेका थिए।
दुई परिवार बिहान ११ बजे घरबाट निस्किए। कार गुरमित सिंहले चलाइरहेका थिए। अगाडिको सिटमा रश्मि, पछाडि सञ्जीव र अञ्जुबाला बसेका थिए। बीचमा बिहान र राजवंशलाई राखिएको थियो।
१० मिनेटपछि सहरबाट ६ किलोमिटर टाढा पुग्दा नजिकै विस्फोट भयो। छर्रा कारभित्र छिर्यो। गुरमित सिंहको खुट्टा गम्भीर रूपमा घाइते भयो। पत्नीको काँधमा चोट लाग्यो। एउटा छर्रा बिहानको टाउको चिर्दै निस्कियो। राजवंश पनि घाइते भए। बिहानकी आमाको श्रवण क्षमता ७० प्रतिशत घटेको छ।
बिहानको घटनास्थलमै मृत्यु भयो। सञ्जीव भन्छन्, ‘म त्यो १० मिनेटलाई जीवनबाट मेटाउन सक्थे। त्यसदिनदेखि म न राम्रोसँग खान सक्छु, न कसैसँग बोल्न। म आफ्नो छोरालाई सम्झेर रुन्छु।’
गुरमित सिंह र उनका छोरा पहिले पुन्छ जिल्ला अस्पताल, त्यसपछि जीएमसी जम्मु र अन्ततः अमृतसरको निजी अस्पताल लगिएका थिए। तीन महिनासम्म उपचार चल्यो। गुरमित अझै हिँड्न सक्दैनन्। चार पटक शल्यक्रिया भइसकेको छ। उनका छोराको हात अझै उठ्दैन। टाउकोमा दुई छर्रा छन्।
सिंहका अनुसार एक वर्षमा करिब ४५ लाख रुपैयाँ खर्च भइसकेको छ। सरकारले भने पाँच लाख रुपैयाँ क्षतिपूर्ति र थप पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
बिहानको परिवारले १६ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन्। उनकी आमाले शिक्षा विभागमा जागिर पाएकी छन्। तर सञ्जीव सन्तुष्ट छैनन्।
उनले भने, ‘अपरेसन सिन्दूर सुरु गर्नुअघि सरकारले आफ्ना नागरिकलाई सुरक्षित गर्नुपर्थ्यो। कम्तीमा युद्धजस्तो अवस्था आउँदै छ भनेर जानकारी दिएको भए हामी आफूलाई जोगाउन सक्थ्यौँ। तर सरकारले रातारात अपरेसन सुरु गर्यो र त्यसको बदलामा पाकिस्तानले पुन्छका निर्दोष नागरिकको ज्यान लियो।’
उनी थप्छन्, ‘दुनियाँको कुनै सम्पत्तिले मेरो छोरालाई फर्काउन सक्दैन। मलाई न जागिर चाहिएको छ, न पैसा। म चाहन्छु, पुन्छमा मारिएका नागरिकहरूको नाममा एउटा नागरिक युद्ध संग्रहालय बनाइयोस्।’
जैन र उर्वा फातिमा
जुम्ल्याहा दाजुबहिनी जैन र उर्वा फातिमाको मृत्यु पनि उनीहरूको परिवार गोलाबारीबाट बच्न सहर छोड्दै गर्दा भएको थियो। घरबाट केही टाढा पुगेपछि एउटा गोला नजिकै खस्यो र पूरै परिवार त्यसको चपेटामा पर्यो। शक्तिशाली विस्फोटमा जैन र उर्वाको घटनास्थलमै मृत्यु भयो। उनका पिता रमिज गम्भीर घाइते भएका थिए।
रमिजको छाती, करङ र ढाडमा गम्भीर चोट लाग्यो। अत्यधिक रक्तस्रावका कारण धेरै युनिट रगत चढाउनुपर्यो। एकातिर उनी जीवन-मृत्युको संघर्षमा थिए भने अर्कोतिर उनकी पत्नी अरुशाले उनलाई जानकारी नदिई बच्चाहरूको शव गाउँमा लगेर अन्त्येष्टि गरिन्। तीन सातापछि मात्रै रमिजलाई दुवै सन्तान जीवित नरहेको जानकारी भएको थियो।
त्यसयता रमिजलाई कसैले हाँसेको देखेको छैन।
अमरिक सिंह : परिवार बचाए, आफू गए
अमरिक सिंह घटनाको दिन नजिकैको गुरुद्वाराबाट फर्किँदै थिए। सहरको अवस्था देखेपछि उनले सबैलाई सचेत गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरे। घर पुगेपछि पत्नी र छोराछोरीलाई भित्रै लुक्न लगाए। परिवार सुरक्षित भएपछि बेसमेन्ट सफा गर्न झाडु लिन माथि उक्लिएका बेला घरबाहिर गोला खस्यो र उनको मृत्यु भयो।
उनकी छोरी जपनित कौरका अनुसार उनी घाइते भएपछि धेरै बेर एम्बुलेन्सको प्रतीक्षा गर्नुपर्यो। पछि एउटा सानो एम्बुलेन्समा दुई जनालाई एकमाथि अर्को राखेर अस्पताल लगियो, जहाँ उनको मृत्यु भएको थियो।
सरकारले परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति र उनकी पत्नी जस्मित कौरलाई कृषि विभागमा चतुर्थ श्रेणीको जागिर दिएको छ।
जस्मित कौर भन्छिन्, ‘उहाँ नभएपछि परिवार चलाउन गाह्रो भएको छ। अब मैले पुरुष र महिलाको दुवै भूमिका निर्वाह गर्नुपरेको छ। तीन बच्चाको पढाइ, घरखर्च २४ हजारको जागिरले कसरी पुग्छ?’
यसैगरी दिहाडी मजदुर मोहम्मद अकरम ६ मेको साँझ छोरी आफरिनको विवाहको मिति तय गरेर घर फर्किएका थिए। भोलिपल्ट घरबाहिर विस्फोट हुँदा उनको मृत्यु भयो। आफरिन पनि गम्भीर रूपमा घाइते भइन्। परिवारले अहिले विवाह स्थगित गरेको छ।
सरकारबाट आर्थिक सहायता र कतिपयलाई जागिर मिले पनि लगभग हरेक परिवारको एउटै प्रश्न छ- बंकर कहिले बन्छन्? एक वर्ष बितिसक्दा पनि पुन्छका यी घाउ अझै ताजा छन्। संसार अगाडि बढिसकेको छ, तर यहाँ समय अझै पनि त्यही ७ मेको रातमा अड्किएको छ।
न्युजलन्ड्रीबाट



