काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठलगायत कार्यकारिणी समितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ।
बिहीबार महासंघको सचिवालय काठमाडौँमा आयोजित कार्यक्रमबीच महासंघको ६० औँ साधारणसभा निर्वाचन समितिले अध्यक्षलगायत पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो।
प्रमाणपत्र प्रदानपछि महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका थिए भने अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुलाई सपथ गराए।
यसैबीच महासंघका अध्यक्ष श्रेष्ठले बिहीबार नै पदबहाली गरेका छन्।
पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवसायीक वातावरण बनाउन र निजी व्यवसायीको मनोबल बढाउने काम गर्न नयाँ सरकारसँग संवाद सुरु भइसकेको बताए। जनतासँग क्रयशक्ति कम रहेकाले क्रयशक्ति बढाउन पूँजी परिचालन गर्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष श्रेष्ठले बैंकमा पर्याप्त तरलता रहे पनि साना तथा मझौला व्यवसायीलाई लगानीका लागि पूँजीको अभाव रहेकाले यस्तो अवस्थालाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखे।



