पहलगामको एक वर्ष : सुरक्षा राजनीति र क्षेत्रीय सहकार्यको संकट

हिमाल प्रेस ८ वैशाख २०८३ १०:५५ | Tuesday, April 21, 2026
14
SHARES
पहलगामको एक वर्ष : सुरक्षा राजनीति र क्षेत्रीय सहकार्यको संकट

पहलगाममा भएको भीषण आक्रमणको स्मरण गर्दा एउटा घटनाको दुःख मात्र होइन दशकौँदेखि दोहोरिँदै आएको दक्षिण एसियाली असुरक्षाको कथा पनि एकसाथ खुल्छ। निर्दोष २६ जनाको ज्यान जाने गरी गरिएको त्यो हमला आज पहिलो वार्षिकीमा पुग्दा पनि यसको मूल कारणहरू ज्यूँका त्यूँ छन्।

सन् २०२५ अप्रिल २२ मा पहलगामको बैसरन मेडोमा पर्यटकमाथि भएको त्यो नरसंहारले हामीलाई फेरि एकपटक सम्झाउँछ- कश्मीरको सुन्दर घाटीमा रगतको धारा बगिरहँदा पनि शान्तिको सपना किन बारम्बार टुटिरहन्छ? ‘निर्दोष पर्यटकहरू, जो परिवारसँग घुम्न आएका थिए। उनीहरूको आँसुले भरिएको अनुहार, आमा-बुबाको छातीमा लागेको गहिरो घाउ र सन्तानहरूको अचानक अनाथ बनेको थियो। यी सबैले हृदय छियाछिया पार्छन्।

यो घटना अहिले कतिऔँ वार्षिकीमा प्रवेश गरिसकेको छ भन्ने भन्दा पनि किन यस्ता घटनाहरू रोकिन सकेनन् भन्ने प्रश्न अझ गम्भीर बनेको छ। जम्मू-कश्मीरमा राजनीतिक प्रक्रिया पुनः सक्रिय हुँदै, निर्वाचन सम्पन्न भई आर्थिक गतिविधि विस्तार हुँदै गइरहेको सन्दर्भमा यस्तो आक्रमण हुनु संयोग मात्र थिएन।

यस घटनाले हिंसा अझै पनि राजनीतिक सन्देश दिन प्रयोग भइरहेको छ भन्ने देखाउँछ। द रेसिस्टन्स फ्रन्टले जिम्मेवारी लिएको उक्त हमलालाई लस्कर-ए-तइवा सँग जोडेर हेरिन्छ। यसले क्षेत्रीय सुरक्षा संरचनामाथि पुनः प्रश्न उठाएको छ। यस हमलामा २६ जना पर्यटक मारिए भने २० जना घाइते भए।

हमलाकारीहरूले इस्लामिक आयतहरू पढ्न नसक्नेलाई लक्षित गरेको भन्ने रिपोर्टहरूले देखाएका छन्। यसले यो घटनालाई धार्मिक अतिवादको चरम रूपका रूपमा चित्रित गर्छ।

हिंसाको पुनरावृत्ति र राजनीतिक सन्देश

पहलगाम आक्रमण केवल सुरक्षा कमजोरीको परिणाम होइन। यो योजनाबद्ध सन्देश थियो। जब कुनै क्षेत्र राजनीतिक रूपमा स्थिर हुन खोज्छ, आर्थिक गतिविधि बढ्न थाल्छ, त्यतिबेला यस्ता हमलाहरूले अस्थिरता सिर्जना गर्ने प्रयास गर्छन्।

सन् २०२५ अप्रिल २२ को त्यो दिन बैसरन मेडोमा पर्यटकहरूको हाँसो र खुसीबीच अचानक गोली वर्षियो। २६ जना निर्दोषहरू जसमा परिवारका सदस्यहरू, नवविवाहित जोडी र एक्लो पर्यटक गाइडसमेत थिए। उनीहरूको ज्यान क्षणभरमै लुटियो।

उनीहरूको रगतले घाटीको हरियो मैदानलाई राताम्मे बनायो। परिवारहरूको पीडा कल्पना गर्न पनि कठिन छ। एउटी आमाले आफ्नै छोराको शव काँधमा बोकेर फर्किनुपर्ने अवस्था, एउटा बच्चाले बुबाको अनुहार अन्तिमपटक पनि नदेखी अनाथ बन्नुपर्ने नियति। यस्ता दृश्यले मनलाई गहिरोसँग हल्लाउँछ। आँखालाई स्वतः रसाउँछ।

यो हमला जम्मू-कश्मीरको राजनीतिक स्थिरताको बेला भएको थियो। अनुच्छेद ३७० खारेजपछि क्षेत्रमा निर्वाचन सम्पन्न भएका थिए, पर्यटन उद्योग फस्टाउँदै थियो, लगानी बढ्दै थियो। तर यही बेला ट्रिएफले हमला गर्दै ‘हामी अझै यहाँ छौँ, शान्ति सहज रूपमा आउन दिँदैनौँ’ भन्ने सन्देश दियो।

ट्रिएफलाई लश्कर-ए-तइवाको छाया संगठनका रूपमा हेरिन्छ। यसलाई पाकिस्तानबाट समर्थन मिल्ने आरोप लाग्दै आएको छ। हमलापछि उसले दुईपटक जिम्मेवारी लियो, तर केही दिनमै ‘साइबर ह्याक’ भएको भन्दै अस्वीकार गर्‍यो। यो विरोधाभासले आतंककारी समूहहरूको दोहोरो चरित्र उजागर गर्छ- एकातिर हिंसा, अर्कोतिर जिम्मेवारीबाट पन्छिने कायरता।

दशकौँदेखि कश्मीरमा यस्ता हमलाहरू दोहोरिँदै आएका छन्, १९८९ को विद्रोहदेखि २०१९ को पुलवामासम्म। हरेकपटक कथा उस्तै हुन्छ- स्थिरता आउन खोज्दा हमला हुन्छ, पर्यटकहरू डराउँछन्, अर्थतन्त्र प्रभावित हुन्छ। यो हमलाले पर्यटन उद्योगलाई ठूलो धक्का दियो।

हजारौँ पर्यटकहरूले कश्मीर छोडे, होटलहरू खाली भए, स्थानीय व्यवसायीहरूको रोजीरोटीमा असर पर्‍यो। भावुक रूपमा भन्नुपर्दा, ‘इन्डियाको स्विट्जरल्यान्ड’ भनिने कश्मीरको छवि रक्ताम्मे बन्यो।

भारत-पाकिस्तान सम्बन्ध र अवरुद्ध क्षेत्रीय सहकार्य

भारत र पाकिस्तानबीचको सम्बन्ध पहिल्यै संवेदनशील अवस्थामा थियो। पहलगामजस्ता घटनाले त्यसलाई अझ कठोर बनाउँछन्। वार्ता प्रक्रिया कमजोर हुन्छ, विश्वास निर्माणका प्रयास विफल हुन्छन् र सम्बन्ध फेरि ‘शून्य बिन्दु’ तिर फर्किन्छ।

२०२५ को पहलगाम हमलापछि दुई देशबीच तनाव चुलियो। यसले छोटो द्वन्द्वको रूपसमेत लियो र दुवै देशको अर्थतन्त्रलाई ठूलो क्षति पुर्‍यायो। यसको असर सीमामा सीमित रहेन। निर्दोष नागरिकहरूको जीवन, परिवारको स्थिरता र समग्र क्षेत्रको विकासमा पनि देखियो।

यसको प्रत्यक्ष प्रभाव दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा देखिन्छ। २०१४मा काठमाडौँमा सार्क शिखर सम्मेलन भएपछि अर्को शिखर सम्मेलन हुन सकेको छैन। २०१६ को इस्लामाबाद सम्मेलन रद्द भएपछि यो मञ्च लगभग निष्क्रिय बनेको छ। यसमा भारत र पाकिस्तानकै सम्बन्धलाई लिएर हेरिएको छ। पाकिस्तानले तयारी पूरा गरेकाे भए पनि काश्मीरमा हमला भएपछि भारत निश्चिन्त हुन नसकेर केही सदस्य राष्ट्र सहितले शिखर सम्मेलन अन्तिम समयमा स्थागित गरेको थियो।

त्यसपछि भारतले पनि सार्कलाई खासै चासो देखाएकाे देखिदैन। भारतले त सार्क नै निस्कृय बनाउने अनौपचारिक रूपमा बताउँदै आएको थियो। क्षेत्रीय सहकार्यको सबैभन्दा ठूलो प्लेटफर्म नै सुस्ताउँदा व्यापार, कनेक्टिभिटी र जलवायु सहकार्यजस्ता साझा एजेन्डा पनि ओझेलमा परेका छन्। दक्षिण एसियाभित्रको व्यापार अत्यन्त न्यून रहनु त्यसैको उदाहरण हो।

यस टकरावको मूल्य साना राष्ट्रहरूले अझ बढी चुकाइरहेका छन्। नेपाल, बंगलादेश र भूटानका लागि भारतको स्थायित्व र क्षेत्रीय सहकार्य अत्यन्त महत्त्वपूर्ण छ। भावनात्मक रूपमा हेर्दा पहलगामको रगतले केवल कश्मीर मात्र होइन सिंगो दक्षिण एसियाको भविष्यलाई पनि छोएको छ।

पाकिस्तानको भूमिका र क्षेत्रीय प्रभाव

विश्वव्यापी रूपमा आतंकवादसँग सम्बन्धित सूचकांकहरूमा पाकिस्तानको अवस्था चिन्ताजनक देखिँदै आएको छ। यसले अन्तर्राष्ट्रिय छवि मात्र होइन घरेलु सामाजिक मनोबलमा पनि असर पार्छ। पहलगाम हमलाको जिम्मेवारी ट्रिएफले लिएको थियो जुन लश्कर-ए-तइवासँग सम्बन्धित ‘फ्रन्ट’ संगठनका रूपमा हेरिन्छ। यसले पाकिस्तानमाथि गैर-राज्य सशस्त्र समूह प्रयोग गर्ने आरोपलाई पुनः बल दिएको छ।

यदि पाकिस्तानले दीर्घकालीन शान्ति र आर्थिक प्रगति खोज्छ भने यस्ता समूहहरूप्रति सहिष्णुता वा समर्थनको नीति त्याग्नु अपरिहार्य छ। किनकि यस्ता समूहहरू अन्ततः आफ्नै समाजका लागि पनि खतरा बन्छन्। पाकिस्तानका आम नागरिकहरूले पनि यसको मूल्य चुकाइरहेका छन्- आर्थिक दबाब, असुरक्षा र अन्तर्राष्ट्रिय अलगावका रूपमा। उनीहरूको पीडा कश्मीरका पीडित परिवारहरूसँग जोडिन्छ।

पाकिस्तानी आमाहरू पनि आफ्ना छोराहरूलाई आतंककारी बाटोमा लाग्न नदिन रोइरहेका छन्। उनीहरूको पीडा कश्मीरका पीडित परिवारसँग जोडिन्छ। क्षेत्रीय रूपमा, भारतको शान्ति र आर्थिक वृद्धि दक्षिण एसियाभरि सकारात्मक प्रभाव पार्छ। तर अस्थिरता सिर्जना गर्ने कुनै पनि रणनीति अन्ततः सम्पूर्ण क्षेत्रकै हितविरुद्ध हुन्छ।

पहलगाम हमलापछि पर्यटन घट्यो, लगानी रोकियो, युवाको भविष्य प्रभावित भयो। २०२५ को द्वन्द्वले दुवै देशलाई अर्बौंको क्षति भयो। यो भूमिकाले क्षेत्रीय प्रभावलाई कति नकारात्मक बनाउँछ भन्ने कुरा साना राष्ट्रहरूले महसुस गरिरहेका छन्।

नेपालजस्ता देशले शान्तिपूर्ण क्षेत्रीय वातावरणको अपेक्षा गर्छन् तर यस्ता हमलाले त्यसलाई समेत असर गर्छ। यदि  पाकिस्तानलाई बाहिर आरोप लागे झै यसरी यस्ता संगठन वा समूहहरूलाई समर्थन गर्दा पाकिस्तान आफैँ सुरक्षित रहन्छ? अन्ततः यी समूहहरूले पाकिस्तानकै समाजलाई खाएका छन्। कतै यो पाकिस्तानको सैन्य बलले आफूलाई सधै केन्द्रमा राख्न निर्वाह गरेको भूमिका त होइन भन्ने प्रश्न पनि उठ्ने गरेको छ। शान्ति खोज्ने हो भने नीति परिवर्तन गर्नु आवश्यक छ।

निष्कर्ष

पहलगाम हमलाको यो पहिलो वार्षिकीले फेरि सम्झाउँछ- हिंसाले कुनै पनि राजनीतिक लक्ष्यको स्थायी समाधान दिँदैन। बरु यसले अविश्वास, प्रतिशोध र अस्थिरताको चक्रलाई मात्र बलियो बनाउँछ। भारत-पाकिस्तान सम्बन्ध सुधारबिना दक्षिण एसियामा स्थायित्व सम्भव छैन र त्यो सुधार आतंकवादको अन्त्यबिना सम्भव छैन।

सार्कजस्ता क्षेत्रीय मञ्चहरूलाई पुनर्जीवित गर्न सकिएन भने क्षेत्रीय सहकार्य केवल नारामा सीमित रहनेछ। स्पष्ट नीति, राजनीतिक इच्छाशक्ति र हिंसाप्रति शून्य सहिष्णुता अब आवश्यक छ अन्यथा वार्षिकीहरू थपिँदै जानेछन् तर शान्ति सधैँ अधूरै रहनेछ। शान्ति मात्रै हाम्रो साझा भविष्य हो।

प्रकाशित: ८ वैशाख २०८३ १०:५५ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast