रानीदेवी माविमा थपिए चार दरबन्दी, गणित र विज्ञान शिक्षकलाई स्वागत

हिमाल प्रेस ३१ वैशाख २०८३ १७:२७ | Thursday, May 14, 2026
20
SHARES
रानीदेवी माविमा थपिए चार दरबन्दी, गणित र विज्ञान शिक्षकलाई स्वागत

काठमाडौँ- काठमाडौँ महानगरपालिका–३ स्थित रानीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले विद्यालयले सीमित स्रोतसाधनका बीच पनि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेको बताएका छन्।

प्रधानाध्यापक गौतमका अनुसार यस वर्ष पहिलो पटक विद्यालयका विद्यार्थीहरू एसईई परीक्षामा सहभागी भएका थिए। पहिलो प्रयासमै विद्यालयले ७० प्रतिशत नतिजा ल्याउन सफल भएको उनले बताए। बाँकी ३० प्रतिशत विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुने जनाउँदै तीमध्ये अधिकांश विद्यार्थी एक वा दुई विषयमा मात्रै ननग्रेडेड भएकाले सबैलाई उत्तीर्ण गराउने विश्वास व्यक्त गरे।

उनले विद्यालयमा माध्यमिक तहमा नेपाली विषयबाहेक अन्य विषयगत दरबन्दी नहुँदा पनि प्राप्त नतिजा तल्लो तहका शिक्षकहरूको अथक मेहनतको प्रतिफल भएको बताए। ‘शिक्षक साथीहरूको मिहिनेतप्रति गर्व लागेको छ,’ उनले भने।

गौतमले २०८१ सालमा कक्षा ९ को अनुमति प्रक्रियामा अन्योल हुँदा कक्षा ८ उत्तीर्ण गरेका अब्बल विद्यार्थी अन्य विद्यालयमा गएको उल्लेख गर्दै बाँकी रहेका कमजोर विद्यार्थीलाई लक्षित गरेर अध्यापन गराइएको बताए। विद्यालयले कक्षा ९ बाट सबै विद्यार्थीलाई कक्षा १० मा बढुवा गरेको र सात जना नयाँ विद्यार्थीलाई समेत भर्ना गरिएको जानकारी उनले दिए।

तीमध्ये तीन जना विद्यार्थीलाई पढाइ कमजोर भएकै कारण काठमाडौँका अन्य विद्यालयले भर्ना लिन अस्वीकार गरेको अवस्थामा रानीदेवी माध्यमिक विद्यालयले अवसर दिएको उनले बताए। ‘कम्तिमा विद्यार्थीले पढ्न पाउनुपर्छ भन्ने सोचले भर्ना गराएका थियौं, आज ती तीनै जना सफल भएका छन्,’ उनले भने।

उनका अनुसार यसले शिक्षक, विद्यार्थी र अभिभावकले संयुक्त रूपमा मेहनत गरे कमजोर सिकाइ स्तर भएका विद्यार्थीलाई पनि सफल बनाउन सकिने प्रमाणित गरेको छ।

प्रधानाध्यापक गौतमले कतिपय विद्यालयले एसईईमा सतप्रतिशत नतिजा ल्याउने उद्देश्यले कक्षा ९ मै विद्यार्थी रोक्ने प्रवृत्ति रहेको उल्लेख गर्दै त्यसले विद्यार्थीमाथि अन्याय हुने बताए।

रानीदेवी माध्यमिक विद्यालयले भने कमजोर विद्यार्थीलाई पनि रोक्नुभन्दा अवसर दिएको र त्यसकै सकारात्मक परिणाम आएको उनको भनाइ छ।

उनले यस वर्ष पनि अन्य विद्यालयमा कक्षा ९ मा रोकिएका केही विद्यार्थीलाई कक्षा १० मा भर्ना गरिएको जानकारी दिँदै आगामी वर्ष उनीहरूलाई पनि सफल गराउने विश्वास व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिको सहयोग, वडा कार्यालयको सकारात्मक सोच तथा काठमाडौँ महानगरपालिका शिक्षा विभागको सहयोगप्रति विद्यालय आभारी रहेको उल्लेख गर्दै उनले सफल सबै विद्यार्थीलाई बधाई दिएका छन्।

महानगरपालिका शिक्षा विभागको सरुवा निर्णयअनुसार विद्यालयमा माध्यमिक तहका चार वटा दरबन्दी थप भएको जानकारी दिँदै उनले गणित विषयतर्फ डिल्लीराज भुसाल र विज्ञान विषयतर्फ टेकबहादुर विश्वकर्मालाई विद्यालयमा स्वागत गरिएको बताए।

प्रकाशित: ३१ वैशाख २०८३ १७:२७ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast